टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउदै 

इनेप्लिज २०८१ वैशाख ६ गते ११:२५ मा प्रकाशित

काठमाडौं ,बैशाख ६

चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले चलचित्र बनाउने भएका छन् ।बालगायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै चलचित्र निर्माण गर्न लागिएको हो । बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएका छन् ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा निर्मातामा विनय अधिकारी रहेका छन्। अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् ।

फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ । नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन् । चलचित्रलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।

चलचित्रमा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु चलचित्रमा समावेश हुनेछ ।

प्रतिक्रिया