भित्ते पात्रो

इनेप्लिज २०८१ वैशाख १ गते ०:०२ मा प्रकाशित

सुनिता बस्नेत

सॅघारमा नयॅा बर्षको पदचाप सुन्दा
ढोका खोल्न आतुर
उत्ताउलिएकि म
उसॅग आफ्नोपन साट्न
औेला गनि रहन्थें
उसॅग नै रम्ने र झुम्ने रहरमा
डुबि रहन्थें
उसैको आलिंगनमा
आफ्नो गन्ध खोजि रहन्थें
सोर्ह श्रृगारले अनुहारका मुजाहरु छोपेर पनि
चैत्र र बैसाखको दोबाटोमा
ढुकेर बसि रहन्थें

उसैको आगमनको आभाषले
ढोका खोल्न हतारिएकि म
सॅजालमा नै
शुभकामना महोत्सव मनाएकि म
अनायासै शिथिल हुन्छु
ॲाखा रशिला हुन्छन्
जब सॅझिन्छु-
क्षितिज पारि उनी बेचैन छिन्
दर्हो पटुका भोको पेटमा कसेर कोल्टे फेर्छिन्
सपनाका परिकारहरु
मनको थालमा पस्किएर अघाउंछिन्
थाहा छ मलाई,
उनको पेटको ज्वाला मार्ने अन्नको भाउ
सगरमाथाको चुली भन्दा माथि छ
आकासे छानोका तारा भन्दा बढि
मनका पीर, व्यथा, निराशा छ

उनी कहिले लछारिन्छिन
कहिले पछारिन्छिन्
अबलाको नाममा
कुटिएकि-लुटिएकि-हेपिएकि
भाव विहिन ॲाखाका ॲाशुहरु
रहर विहिन सपनाका मलामी हुन्छन्
निरिह प्राणी सरि आफ्नो जीवन
घिसारि रहेकि छिन्!

धेरै पटक आए
यी नयां बर्ष नयॅा अनुहार फेरि-फेरि
अनगिन्ती बने
उनैको नाम बेचेर काया बदल्ने योजनाहरु घरि-घरि
तर पनि उनि उस्तै छिन्
विवश, निरिह र लाचार!

सायद पॅाचतारेमा
उनैको लागि योजना बनाउंदा
डकारेका गन्धहरुले उनको बस्ती नगन्हाएको भए
प्रशब खपेर जन्माएका सन्तानहरुले
पसिना नबेचेको भए
उनको पेवा-विर्तामा
सन्तानहरुको लुछाचुडी नभएको भए
उनि पनि म जस्तै
लालायित हुन्थिन् होला यो दिन हेर्न
ति हातहरु सल्वलाइ रहन्थे होला
एउटा भित्तेपात्रो फेर्न!!

प्रतिक्रिया