सुनिता र उनको IT मा काम गर्ने छोरो

इनेप्लिज २०८० चैत ३० गते ११:२३ मा प्रकाशित

काठमाडौँमा मेरो बैनीको साथी छन्, सुनिता। आज भन्दा ३० बर्ष अघि हामी पाटनको एउटा गल्लीमा सुनिता बैनी र हामी एकै घरमा डेरामा बस्दथ्यों। त्यो गल्लि अहिलेको नगरपालिका भवनको पछाडी पट्टि हिले पोखरी संगै थियो।

कालान्तरमा हामी काठमाडौँको आलोकनगरमा घर किनेर सर्यौं। संजोग नै भनौ, सुनिता पनि हाम्रो घरको छेउ मै बसाई सरेकी रहिछन। एकछिन कुरा कानी भयो। छोरा छोरीको कुरा भयो। एउटा छोरा अहिले कम्प्युटरमा नेपालमै बसेर अमेरिकाकै कम्पनीमा काम गर्दै छ भनिन्। आफु पनि यही क्षेत्रमा काम गर्ने भएकोले मलाई आनन्द लाग्यो। अनि जिज्ञासाबश छोराको तलब सोधें। उनले भनिन, “३-४ लाख हुन्छ दाई महिनाको।” मेरो छाती गर्वले फुलेर आयो। त्यस पछि हाम्रो कुराकारी भएन , तर मेरो बैनीको साथी भएकोले सुनिताको छोराको खबर चाही बेला बेलामा सोधी रहन्थें।

यो त एउटा कम्प्युटर क्षेत्रको एउटा प्रतिनिध पात्र मात्र थियो। यस्ता कम्प्युटर क्षेत्रमा काम गर्ने कामदारहरु अहिले नेपालमा लाखौंको संख्यामा छन् भन्दा हामी कसैलाई पनि विश्वास लाग्ने कुरा भएन , तर खुसीको कुरा यो कुरा अहिले नेपालमा साँचो साबित भएको छ। नेपालमा नै बसी ६-७ लाख महिनाको तलब खानेहरु पनि छन्, तर २-३ लख तलब खाने त प्रशस्तै भैसके। भर्खरै मात्र जनार्दन बरालले अनलाइनखबरमा सोध पूर्ण खबर छापेका छन् र यो खबर पढे पछि म झन्उ त्साहित भएँ।

अब नेपालको कम्प्युटर क्षेत्रको एउटा सानो आँकडा हेरौं है त:

१. बार्षिक कारोबार: २ खर्ब रुपिया (अर्ब होइन है, खर्ब हो)
२. निर्यात: १ खर्ब
३. नेपालमा जम्मा कम्युटर कम्पनी: ५०० भन्दा बढी
४. कम्प्युटर क्षेत्रमा प्रत्यक्ष रोजगार पाउनेको संख्या: १ लाख भन्दा बढी
५. काम दिने देशहरु: अमेरिका (६०%), अस्ट्रेलिया, युरोप (अलि अलि मात्रै)

राज्यको टेवा बिना स्वत: स्फूर्त फैलीरहेको यो क्षेत्रलाई थोरै मात्र भए पनि सरकारको सहयोग भएमा कति राम्रो हुने थियो। हरेक दिन खाडीमा लाखौंको संख्यामा खाडीमा काम गर्ने दाजु भाईहरुबाट आएको रेमिटेन्सले धानिने देशलाई IT क्षेत्रले यो एउटा आशाको त्यान्द्रो पलाएको आभास दिएको छ।

जनार्दनको लेख पढ्दा यो क्षेत्रमा सरकारको आँखा पर्यो भने कुदृस्टी लगाउलान् र भ्रस्टाचारको जाल यता पनि फ्याके भने धेरै कम्पनीहरु बन्द हुने अवस्था आउन सक्छ। यदी यस्तो भयो भने यो भन्दा दुखदायी के नै होला र? खैर, अहिलेलाई राम्रै सोचौं, त्यस्तो केहि नहोस।

-प्रकाश नेपाल

अप्रिल ११, २०२४

प्रतिक्रिया