अमेरिकामा रहेका दोलखालीहरु संगठित

इनेप्लिज २०८० चैत २६ गते १०:४९ मा प्रकाशित

नेपालको दोलखा जिल्ला स्थाई घर भई अमेरिकामा(न्यूयोर्क) बस्दै आएका दोलखालीहरु संगठित भएका छन् । आपसी हित र विविध किसिमका सामाजिक कार्य गर्ने उद्देश्यले दोलखा समाज अमेरिका गठन भएको छ । आज न्यूयोर्कमा भएको भेलाले भोजराज थोकरको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको घोषणा गरेको छ ।

समाजको उपाध्यक्षमा राजकुमार चौलागाई, सचिवमा भूपेन्द्र थापा, कोषाध्यक्षमा प्रकाश थापा र सदस्यहरुमा शान्त थोकर, तारादेवी चौलागाई, मनोज थोकर, शिव जिरेल, लादोर्जे लामा, सूवर्ण लामा र मोहनकृष्ण श्रेष्ठ रहनुभएको छ ।

जिल्लाबासीहरुबिच आपसी चिनजान र भाइचारा अभिवृद्धिका लागी नेपाली चाडपर्वहरुको अवसरमा भेला हुने र परेका बेला र अन्य समयमा पनि जिल्लामा सरसहयोगका कार्यक्रम गर्ने उद्देश्यले हाललाई न्यूयोर्क क्षेत्रका साथीभाई जम्मा भइ औपचारिकता दिइएको र पछि सबै राज्यमा बस्ने दोलखालीलाइ समेटिने अध्यक्ष भोजराज थोकरले बताउनुभयो । समाज गैरराजनीतिक र गैरनाफामुलक सामाजिक संस्थाको रुपमा रहने र ५०१ (सी) अन्तर्गत रहने पनि थोकरले जानकारी दिनुभयो ।

उलेख्य मात्रामा लामो समयदेखी अमेरिका बस्दै आएका भएतापनि दोलखालीहरु औपचारिक रुपमा संगठित हुन सकिरहेका थिएनन् । खासगरी खादामालाका लागी धेरै संगठनहरु खुल्ने भीडमा यो थप एक संस्था हुने नभइ आफ्नो जरासम्म जोडिनका लागी समाजको उपादेयता रहेको सचिव भूपेन्द्र थापाको भनाई छ ।

प्रतिक्रिया