‘महाजात्राले भ्रष्ट नेतालाई गतिलो मुक्का प्रहार छ, दशमा ९.९ नम्बर दिन्छु’ : पूर्व प्रधानमन्त्री झलनाथ खनाल

इनेप्लिज २०८० चैत २६ गते १०:३४ मा प्रकाशित

काठमाडौँ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले आइतबार बेलुकी आयोजित विशेष शोमा फिल्म ‘महाजात्रा’ हेरेपछि भ्रष्टचारी नेतालाई गतिलो मुक्का प्रहार गरिएको भन्दै प्रसंशा गरेका छन् । चुनावी कार्यक्रममा इलाममा व्यस्त नेता खनाल काठमाडौँ आइपुग्ने वितिकै फिल्म हेर्न सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाजमा पुगेका थिए ।

‘नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको पाएँ । नेपाली समाजमा जुन प्रकारको भ्रष्टचार, तस्करी देखिएको छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, त्यसको कारण देशमा युवा रितिएका छन् । यसले त्यस्ता गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ’, नेता खनालले भने,‘यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन्, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’

उनले फिल्म हेरिरहदा भरपुर मनोरञ्जनसँगै संदेश समेत ग्रहण गर्न पाएको बताए । ‘फिल्ममा अभिनय गर्ने सबै कलाकारले कुशल कलाकारिता प्रदर्शन गर्नुभएको छ, पर्दामा देखिने पात्र जीवन्त छन् । म यो फिल्मलाई दश नम्बरमा ९.९ दिन्छु, यसले हाँसो मजाकमै गम्भीर विषयलाई उठान गरेको छ’, नेता खनालले भने ।

उनले फिल्म हेरिसकेपछि निर्माण पक्षसँगै कलाकारलाई भेटेर बधाई दिदै आगामी दिनमा समेत यस्तै फिल्म ल्याउन आग्रह गरे । नेता खनालसँगै निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, अभिनेत्री गौरी मल्ल, अञ्जना बराईली, अभिनेता निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायतले फिल्म हेरेका थिए ।

कमेडियन सन्दीप क्षेत्रीले ‘जात्रा’ शृङ्खला यहाँसम्म आइपुग्दा परिपक्क हुँदै अगाडि बढेको भन्दै प्रसंशा गरे । ‘यो फिल्ममा के छैन ? यहि कारण प्राय घरका परिवारलाई सिनेमा हलमा भेटिरहेका छौँ’, उनले भने ।

निर्देशक तुलसी घिमिरेले हसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने भन्दै लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको प्रसंशा गरे । ‘यो फिल्म भन्दा पनि आँखीझ्याल झैँ लाग्यो । यहाँबाट देश, समाज र हाम्रो परिस्थितिलाई चिहाउन सकिन्छ । यस्ता फिल्मले दर्शकलाई पनि शिक्षित बनाउँछ, राम्रा उदाहरण पेस गरेको छ’, निर्देशक घिमिरेले भने । अभिनेत्री गौरी मल्लले पहिलो हाफमा हाँसो रोक्न निअकी कठिन भएको र दोस्रो हाफ आफ्ना लागि सरप्राइज रहेको बताइन ।

अभिनेत्री अञ्जना बराईलीले षट्कोण आर्ट्सको फिल्ममा हुने अपेक्षा पुरा भएको बताइन । ‘यो समूहले गर्ने कामलाई ढुक्क भएर विश्वास गर्ने निराश भएका छैनन्, यसपटक झनै सशक्त भएर फिल्म बनेको छ । मैले यो फिल्मलाई रेटिङनै गर्न सक्दिन । स–परिवार आएर हेर्नुस्’, अभिनेत्री बराईलीले भनिन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा आपत्तकालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको फिल्मलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् । फिल्ममा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शक र राजनीतिज्ञले संदेश ग्रहण गरेको विषयलाई टिमको सफलताको रुपमा चित्रण गरे ।

‘हामीले उठाएको आवाज र व्यक्त गरेको भावना सबैले बुझ्नु भएको छ । तेस्रो सातामा गरिरहेको व्यापार र हल भ्रमण पाइरहेको प्रतिकियालाई शब्दमा व्यक्त गर्न सकिदैन’, अभिनेता बानियाँले भने । उनले सोमबार घोडेजात्रामा दिनभर विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार नेपालमा एघार करोड बढीको व्यापार गरिसकेको छ ।

प्रतिक्रिया