भर्जिनियामा लोक गायक मिलन लामाको लोक सङ्गीत साँझ कार्यक्रम सम्पन्न,लोक दोहोरी समेत चल्यो

इनेप्लिज २०८० चैत २६ गते ०:०० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्स स्थित तन्दुरी चमेनागृहमा आयोजित लोक गायक तथा सर्जक मिलन लामाको लोक सङ्गीत साँझ कार्यक्रम मनोरन्जनात्मक रुपमा सम्पन्न भएको छ ।

नेपालीले संचालन गरेको तन्दुरी फेयरफ्याक्स नामक चमेनागृहमा गत अप्रिल ६,२०२४ का दिन आयोजित कार्यक्रममा डिसी क्षेत्रका लोक गीत तथा लोक दोहोरी सुन्न रुचाउने दर्शक ,प्रशंसक तथा नेपाली समुदायको उपस्थिति रहेको थियो ।

उक्त लोक सङ्गीत साँझमा मिलन लामाले कम्तिमा आधा दर्जन आफ्ना कालजयी गीतहरुको साथै नयाँ गीत समेत प्रस्तुत गरे। उनले गीत प्रस्तुत गर्ने क्रममा गीतको बारेमा समेत छोटो चर्चा गर्दै गीतहरु पस्केका थिए । उनले अन्य नेपालका ख्यातीप्राप्त कलाकारहरुले गाएका चर्चित गीतहरुलाई मिश्रित (मिक्स)गरिएको गीतहरु पस्कदा दर्शकहरु झुमेका र उनलाई साथ दिएका थिए ।

त्यस्तै गरि न्यूयोर्कबाट आएकी लोक गायिका सुमित्रा लामा तथा पेनसेलभेनिया ह्यारिसबर्गबाट आएकी लोक गायिका गोमा गुरुङले समेत गीतहरु प्रस्तुत गरेका थिए । सुमित्रा लामाले ज्यादा गीतहरु गाएकी थिइन् भने उनलाई पनि दर्शकले साथ दिदै उनका गीतमा नाचेका थिए ।

कार्यक्रमको समन्वय सम्राट अधिकारीले गरेका थिए भने आयोजक तन्दुरी फेयरफ्याक्स चमेनागृह रहेको थियो । उक्त कार्यक्रममा सहभागी हुन् केवल केवल २० डलर मात्र राखिएको थियो भने कार्यक्रम सुरु हुनु अघि स्थानीय कलाकारहरुले नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।

गायक मिलन लामाका चर्चित गीतहरु झल्को लाली ओठको ,घरमा पराल ,माछी खोलीमा लगायत रहेका छन् । मिलन लामाले आफ्नो प्रस्तुति गरे पछि उनले सुमित्रा लामा ,गोमा गुरुङ र अन्य कलाकारहरुसँग दोहोरी प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन ईश्वर तामाङ्गले गरेका थिए ।

आयोजक तन्दुरी फेयरफ्याक्स चमेनागृहका संचालक श्याम लामाले कलाकार तथा दर्शक सबैलाई ईनेप्लिज मार्फत धन्यबाद दिए ।

प्रतिक्रिया