व्यवसायी रामहरी श्रेष्ठको हत्या अभियोगमा नेकपा माओवादीका तत्कालीन कमाण्डर कालिबहादुर खाम पक्राउ

बेद प्रसाद घिमिरे २०८० चैत २० गते ११:१९ मा प्रकाशित

नेकपा (माओवादी) का तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

रामेछापका रामहरि श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनी १५ वर्षदेखि फरार थिए । रामेछाप घर भई काठमाठौंको कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

२०६५ साल वैशाख १५ गते कोटेश्वरबाट व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको क्याम्पमा पुर्‍याइएको थियो। अत्याधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा भेटिएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो ।

सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । उक्त घटनापछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् । गोविन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो । उक्त मुद्दाको १७ जेठ २०६८ मा फैसला भएको थियो

प्रतिक्रिया