सरकारबाट हट्नुपर्यो भनेर निउ खोजेर संसद अवरोध गर्ने च्याठिने आक्रोश पोख्ने छाती पिटेर रुने ठाउँ सदन होइन नेकपा एमाले अध्यक्ष ओली

बेद प्रसाद घिमिरे २०८० चैत ८ गते २१:५४ मा प्रकाशित

५१औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवसका अवसरमा बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै त्यसाे भन्नुभएकाे हाे । उहाँले भन्नुभयाे – ‘प्रजातन्त्रमा सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर संसद् अवरोध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति, राजनीतिलाई एउटा माध्यम बनाएर केही संयमका साथ राजनीतिक कार्य गर्नुपर्छ, समाजको उन्नति, प्रगति, समानता, शान्ति-सुव्यवस्था लागि, स्वच्छताका लागि पारदर्शिताका लागि, सबैको सुरक्षा र सबैको सम्मानमा ध्यान दिनुपर्छ, त्यसकारण समृद्ध नेपाल सुखी नेपालीकाे प्यारामिटरमा हामीले सुरक्षा र सम्मान जाेडेका छाैं ।’

लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रूपमा उपयोग गर्न पाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । राजनीतिले आफैंमा केही नगर्ने भन्दै उहाँले राजनीति भनेकाे मार्गनिर्देशन गर्ने माध्यम मात्र रहेकाे बताउनुभयाे । लाेकतान्त्रिक गणतन्त्र कार्यनीतिक लक्ष्य तथा साधन भएकाे भन्दै अध्यक्ष ओलीले मानव जातीका लागि समृद्ध र सुख, सामाजिक न्याय र समानता, सुरक्षा र सम्मान गन्तव्य भएकाे बताउनुभयाे ।

पछाडि परेकाे कुनैपनि समुदायलाई अगाडि बढाउनुपर्ने भन्दै उहाँले कुनैपनि हिसाबले काेही पछि पर्न नहुने बताउनुभयाे । कुनैपनि हिसाबले काेहीमाथि अन्यायपूर्ण र अपमानजनक व्यवहार गर्न नहुने भन्दै अध्यक्ष ओलीले सबैले सम्मानपूर्वक जिउन पाउनुपर्ने बताउनुभयाे । असमानता र असम्मानकाे स्थिति अन्त्य हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

एमालेले समृद्ध नेपाल सुखी नेपालीलाई राष्ट्रिय गन्तव्य बनाएकाे भन्दै अध्यक्ष ओलीले एउटाले अर्काेलाई अपमान गर्ने, घृणा गर्ने जस्ता कुराले नेपाली जनता सुखी हुन नसक्ने बताउनुभयाे । त्यसले एउटा हिस्साकाे मनमा चाेट परिरहेकाे भन्दै उहाँले कसैले चाेट नपर्ने, अधिकारसम्पन्न, अवसर सम्पन्न, आधुनिक सुविधा सबैले उपभाेग गर्न पाउने र आधारभूत आवश्यकताकाे परिपूर्तिकाे स्थिति र आर्थिक उन्नति सहितकाे समाज बनाउन चाहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले समृद्धि परिपूर्ण हुनुपर्ने बताउनुभयाे

प्रतिक्रिया