ओखलढुङ्गा जिल्लामा युवा जनशक्ति गाउँघर छोडेर वैदेशिक रोजगार तथा सहर पलायन हुदा गाउँघर उराठ लाग्दो र परनिर्भर बन्दै

बेद प्रसाद घिमिरे २०८० चैत ६ गते ११:४९ मा प्रकाशित

ओखलढुंगामा परम्परागत कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवाहरू सहज र सुविधायुक्त जीवनयापनको लालसाले परदेशिने क्रम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ । जसका कारण ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने परम्परागत कृषिक्षेत्र खुम्चिनुका साथै खाद्य प्रणालीमा असर गरेको छ ।

कृषिलाई मुलुकको अर्थतन्त्रको अनौपचारिक क्षेत्र मानिन्छ । जुन दिगो र भरपर्दो स्रोत हो । तर पछिल्लो समय ग्रामीण अर्थतन्त्रका खम्बा र आधार मानिने श्रम अर्थात् युवा जनशक्ति सहज जीवनको खोजीमा परदेशिने क्रम बढसँगै ओखलढुंगाको पहाडी ग्रामीण बस्ती उराठ बन्दै गएको छ । जसकाकारण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको आकार र उत्पादकत्व खुम्चिँदै गएको कृषि बिग्यहरु बताउछन

निर्वाहमुखी कृषिअन्तर्गत दशक अघिसम्म जिल्लाका पहाडी ग्रामीण भेगहरूमा मौसम तथा हावापानी अनुसार हिउँदे र वर्षेगरी सहजै तीनबाली हुने गरेका थिए । जसमा परम्परागत धान, मकै, गहुँ, कोदो आलु र तोरीजस्ता बालीनाली लगाइने गरिन्थ्यो । पशुपालन र दुधबाट बनाइने परिकार गाउँको मौलिकता जस्तै थियो । निर्वाहमुखी यस्ता खेतीबाट प्राप्त कृषि उपज उपभोग पछि उम्रिएका अन्नपात लगायत दुधबाट बनाइने परिकार र पशुचौपयाको बिक्री र सञ्चिति नै ग्रामीण अर्थतन्त्रको भरपर्दो आधार भएको स्थानीय बताउछन

यता श्रमशक्ति पलायनले विप्रेषण अर्थात् रेमिट्यान्समा वृद्धि देखिए पनि सामाजिक सद्भाव र सहकार्यसहितको गाउँघरका ऐँचोपैँचो र भारोपर्मजस्ता मौलिक परम्परा पनि मासिएको छ । जसले ग्रामीण पहाडी भेगका निर्वाहमुखी र आत्मनिर्भर कृषि प्रणाली समेत प्रभावित भएको छ । जसका कारण उत्पादनमा परोक्ष असरसहित जिल्लाको दिगो र भरपर्दो अर्थतन्त्रमा दूरगामी प्रभाव पारेको छ । तर अहिले गाउँघरमा श्रमिक तथा युवा जनशक्तिको अभावका कारण ग्रामीण पहाडी भेगका पाखो पखेरो र खेतबारी बाँझिनेक्रम बढ्दै गएको छ । साथै पशुपालन तथा गोठ र भकारोको प्रचलन समेत हट्दै गएको छ । जसका कारण स्थानीयस्तरमा परनिर्भरता ह्वात्तै बढाएको छ भने पशु आहार र मलको रूपमा प्रयोग हुने घाँसपात र भाञ्छामा प्रयोग हुने दाउराहरू समेत बारीमा त्यत्तिकै खेर गइरहेको देखिन्छ।

यसैबिच युवा पलायनले अहिले खेतबारी बाँझोका साथै गाउँमा खाने र खर्चगर्ने मुख अर्थात् महिला, बालबालिका र वृद्धवृद्धाको मात्रै उपस्थिति देखिएको छ । जसले सामाजिक सुरक्षामा समेत चुनौती थपेको छ भने परनिर्भरतालाई बढाउनका साथै आयात प्रतिस्थापन गर्ने सरकारी लक्ष्यलाई पर धकेले छ । विगतमा निर्वाहमुखी खेतीपाती नै ग्रामीण अर्थतन्त्रको आधार जस्तै थिए । उपभोगपछि उब्रिएको अन्नपात र पशुचौपायाको बिक्री र सञ्चितिले नै स्थानीयका गर्जो र अन्य घरखर्च टार्ने माध्यम थिए । तर अहिले युवा पलायनले जिल्लामा विप्रेषण बढेपनि यसले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भरताबाट परनिर्भरतातर्फ धकेलेको छ । कोही वृद्ध बहाना बिरामी परेमा अथवा कसैको मृत्यु भएमा बिरामीलाई हस्पिटलसम्म लाने होस् अथवा कसैको मृत्यु भएमा सबको दाहसंस्कार गर्ने युवाहरूसम्म गाउँ बस्तीमा नहुँदा झन् जटिल समस्या जिल्लाभरका बस्तीमा देखा परेको छ।

ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँ पालिका
वडा न २ हाल काठमाडौ नेपाल
बेद प्रसाद घिमिरे

प्रतिक्रिया