चलचित्र लाखे ‘भिडियोपसल’ एपमा रिलिज  

इनेप्लिज २०८० चैत ४ गते १३:१५ मा प्रकाशित

नायक सौगात मल्ल, नायिका वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र लाखे भिडियोपसल एपमा रिलिज गरिएको छ । सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र ‘लाखे’ अहिले नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

सस्पेन्स थ्रीलर विधामा आधारित चलचित्रमा सौगात मल्ल,अनुप विक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारीको अभिनय रहेको छ ।

सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २ .९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई ४क गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

२०१७ देखि सञ्चालनमा रहेको भिडियो पसलमा यसअघि नै ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’ ‘मन्त्र’ लगायतका चलचित्रहरू रिलिज भइसकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

प्रतिक्रिया