नेपाली कांग्रेसलाई अहिलेनै शत्रु भन्न उचित हुँदैन माधवकुमार नेपाल

इनेप्लिज २०८० चैत ३ गते ११:१६ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरी साझा कार्यक्रम तयार गरिएको बताएका छन् ।

शनिबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले सत्ता गठबन्धनको कार्यदलले शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको बताए ।

भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने, विभिन्न स्रोत–साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने विषयमा साझा न्यूनतम कार्यक्रममा उल्लेख रहेको उनले जानकारी दिए ।

अध्यक्ष नेपालले अहिले पदका निम्ति नभई मुलुकको समृद्धिका लागि सत्तासमीकरण परिवर्तन भएको जिकिर गरे ।
संविधान र मुलुकका विभिन्न उपलब्धिलाई समाप्त पार्ने काम भइरहेको भन्दै उनले एकताबद्ध भएर यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए ।

उनले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाका निम्ति भूमिका खेल्न सक्ने नेपाली कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने विषय कुनै हालतमा उचित नहुने बताए ।

आउँदो जेठ ३ देखि ७ गतेसम्म पार्टीको १०औँ महाधिवेशन गर्ने तयारी रहेको भन्दै उनले त्यसका सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणका निम्ति देशव्यापी अभियानमा जुटेको उल्लेख गरे । हिमालयन टेली भ्वाइस

प्रतिक्रिया