विदेश पढ्न गएका छोरीहरू नेपाल फर्काउने अभियान आफ्नै घरबाट शुरू गरौं !

शशी के.सी २०८० चैत १ गते २१:४९ मा प्रकाशित

यो बिषयमा लेख्नको लागि भनेर छोरी विदेश पढ्न पठाएका चिनजानका साथीभाई, ईष्टमित्रहरूसँग उनीहरूको धारणा बुझेको , कोही भन्छन् छोरीको पढाई सकिन लाग्यो, यसो राम्रो जात मिल्ने पढेलेखेको केटा खोजिदिनु पर्र्यो । विवाह गरेर तेतै बस्छिन् । कोही भन्छन् छोरी त कलेजको पढाई सक्काएर कामले ग्रीन कार्ड बनाईदिने जागिर खोज्न लागेकी छिन । कोही चाहीं के गर्नु बिषय नै अलिक बेग्लै पढिन छोरीले , नेपाल गएर त उनले पढेको बिषय संम्बन्धी जागिर नै पाईन्न रहेछ । जसरी हुन्छ विदेश नै मिलाएर बस्ने कोशिश गर्दैछिन ।

अझ एकथरी दिनरात राम्रो काम गरिरहेका काठमाडौंका मेयर बालेन शाहको कामको अनेक टिप्पणी सोसलमिडियामा लेखिरहेका हुन्छन् । कसैले उनीहरूलाई तँपाईंका संतानहरू विदेश छन् क्यार , बोलाउनु न नेपाल बनाउन भनेर लेखेमा , क्या मज्जाले के गर्ने अहिलेका पुस्ता अवसर चाहान्छन् । अवसर जता पाउँछन्, तेतै जान्छन् । हामीले भनेको त कँहा पो मान्छन र भनेर लेखेको हुन्छन् ।

त्यस्तै यो लेख लेख्ने सिलसिलामा अमेरिका पढन् आएका केही नानीहरूसँग पनि उनीहरूको बिचार बुझौंन त भनेर “ नेपाल फर्कन्नौ ? सोधेको ! अझ आजकल त नेपालको कानुन पनि निक्कै बदलिएको रहेछ । छोरीले बाउआमाले अंश नदिए अंश मुद्धा गरेर संम्पत्ति लिन पनि पाउँने रहेछन् । अनि श्रीमानसँग पनि अंशमा लँडाई त गर्न पाईने रहेछ नी भनेको ! भो आन्टी, हामीलाई चाहिएन संम्पत्ति ! बाउआमाले पढाउन विदेशमा पठाएका छन् । पढ्ने र आफै कमाउने हो, अनि रमाउने हो ! बरू यसो काम खोजिदिनुन समरको कलेजको छुट्टीमा ३ महिना टन्न कमाउँछु रे !

भो आन्टी, हामीलाई चाहिएन संम्पत्ति ! बाउआमाले पढाउन विदेशमा पठाएका छन् । पढ्ने र आफै कमाउने हो, अनि रमाउने हो !

एकजनाले चाहीं मेरी एकल आमाले उनी जवान हुँदा हालेको अंशको मुद्दा म अहिले जवान हुँदासम्म त सकिएको छैन् । म पनि तेस्तो लडाईं गर्दै नेपालमा बाँच्न चाहान्न पो रे ! मेरी आमाले दुख गरेर युद्धग्रस्त ईजराईलमा बुढाबुढी स्याहार गरेर मलाई पढाएर यत्रो बनाएको हो । आमालाई जसरी हुन्छ सुख दिनुछ भनिन् ।

एकजना चाहीं पक्का नेपाल फर्कने भेटें । पढाई सकाएर फर्केर बुबाको कम्पनी समाल्ने हो भनिन् । उनी खासमा नेपाल फर्केको नै उत्तम हो । तेत्रो व्यवस्था नेपालमा छ । किन बस्नु अमेरिका दुख गरेर बेकारमा ।

हो यस्ता विदेश पढ्न आएका छोरीहरूलाई नेपाल फर्काउन नेपाल सरकारले के गरेर, कसरी सक्ला ? सबैको ध्यान तेता तिर जानु जरूरी छ !

अर्को केही बर्षदेखि नेपाली समाजमा देखिएको नँया चलन , विदेशसम्म पँहुच भएकाहरूले आफ्नो श्रीमती, बुहारी, छोरी , नातिनी आदीलाई बच्चा जन्माउन अमेरिका लग्ने । आमाबुबा जोसुकै हुन “ अमेरिकामा जन्मिने बच्चा जन्मको आधारमा अमेरिकन नागरिक “ हुन्छ ।

नेपालीहरूको बास्तविकता चाहीं यस्तो छ । भनेपछि मैले लेखेको लेख “विदेश पढ्न गएका नेपाली छोरीहरू सक्छौ भने नेपाल नफर्कंदा नै ठिक !” कुन कोणबाट नकारात्मक भयो त ? आखिर आफ्ना विदेश पढन् गएका छोरीहरू त सकेसम्म नेपाल नफर्कोस भन्ने नै रहेछ त धेरै जसो नेपाल बस्ने नेपालीहरूलाई ।मैले लेखमा हाम्रो पुस्तामा आफ्नै मेहेनतले विदेश फुल स्कलरसिपमा पढ्न आएर कलेज पढाउने प्रोफेसर बनेको साथीको उदाहरण दिएको छु । कैयौं नेपाली छोरीहरू अमेरिका उच्च पदको जागीर गर्छन् घर गाडी जोडेकाछन् । खै त नेपालको चलन जस्तो कसैसँग संम्पत्ति, अंश आदी नलिएरै पनि छोरीहरू सबल हुन सक्ने रहेछन् त विदेशमा । महिलाले के आफ्नै मेहेनतमा स्वतंन्त्रसँग उन्नति नै गर्न नपाउनु पर्ने नै हो त ?

मैले त त्यो लेखमा नेपाली समाजमा देखिएको बास्तविक सत्य कुरा बेलि बिस्तार गरेर लेखेको छु । कतिपय कानुन “महिला अन्यायमा नपरून” भनेर बदलिएका पनि होलान् । तर कानुनमात्र भएर के गर्नु , कानुनका बिभिन्न छिद्रा हुने रहेछन् । तेसमा पसेर बर्षौं दुख दिने, मुद्दाको फैसला नगरेर बर्षौं लम्ब्याई दिने आदी नहुने हैन् । उल्टै पीडित महिलालाई झन् पिडा !

वैवाहिक संम्बन्ध सुमधुर हुँदा सबै ठिक हुन्छ । तर संम्बन्ध तोड्नु पर्दा सहज छैन् । कति महिलाहरूको त चरित्र हत्यासम्म गरिने प्रयास भएको छ ।बर्षौंसम्म आफ्नो हक र अधिकारको लागि अदालत र कानुनसँग लडेर बस्नु पर्ने हुन्छ । अझ संतान चाहे छोरा होस वा छोरीको जन्म दर्ता र नागरिकता दिलाउन मुद्दा लड्नु पर्ने भयो भने त निक्कै मानसिक , शारीरिक र आर्थिक भार सहनु पर्छ ।

विदेश पढ्न गएकी एउटी साथीले आफुसँगै स्कुल पढेकी साथी, उनको बाउले नागरिकता नबनाई दिंदा नेपालमा “अनागरिक” भएर तड्पिरहेको देख्दा के महशुस गर्लिन ? कतै मेरो संतानको भविष्य पनि यस्तै बन्न पुगेमा के होला ? पक्कै तेस्तो बिचार नआउला र ?

अझ संतान चाहे छोरा होस वा छोरीको जन्म दर्ता र नागरिकता दिलाउन मुद्दा लड्नु पर्ने भयो भने त निक्कै मानसिक , शारीरिक र आर्थिक भार सहनु पर्छ ।

प्रत्येक बर्ष जस्तै यो बर्ष पनि मार्च ८ मा अंन्तराष्ट्रिय महिला दिवस संसारभर धुमधामले मनाईयो । यो बर्षको नारा “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी ” रहेछ । यो नारासँग ठ्याक्कै मिल्दोजुल्दो अवस्था चाहीं विदेश पढन पठाईएका नेपालीका छोरीहरूमा लागु हुन्छ । आजकल नेपाली आमाबुबाले छोरीहरूमा निक्कै ठुलो लगानी गरिरहेका छन् । नँया पुस्ताका नेपालीका छोरीहरूले पनि छोरा सरह विदेशसम्म पुगेर पढ्ने सुविधा पाउनु भनेको चाहीं साँच्चै नै सभ्य र समुन्नत समाजको थालनी नै हो ।

त्यस्तै छोरीहरूको विवाहको मामलामा चाहीं नेपाली समाज असाध्यै लचिलो र उद्दारवादी भएको छ ! अंन्तजातिय र अंन्तरदेशिय विवाह पनि आजकल धुमधामले पाँच तारे होटेलमा ३-४ दिन लगाएर बिभिन्न हल्दी मेहेंदी पार्टी, संगीत पार्टी , स्वयंम्वर पार्टी , विवाहको रिसेप्सन पार्टी, संम्धिनी भेट पार्टी आदी नाचगान गरेर गरिदिन थालेका छन् ।

कुनैबेला छोरीले अंन्तरजातिय वा अंन्तरदेशिय केटासँग भागेर वा आफ्नो खुशी विवाह गर्दा, ईज्जत गयो, जात फाली आदी भनेर बर्षौं माईतीमा टेक्न नदिने बाउआमा , छोरी ज्वाईं संम्पन्न भएपछि ओहो आजकल त नातिनीको विवाहमा छम्म छम्म नाचेकोसम्म देख्छु ।

अर्को नेपाली समाजमा आएको परिवर्तन भनेको चाहीं छोरीहरूको विवाह गर्न हतार गर्दैनन् । छोरीहरूले पढाई सकाएर जागीर खाई आत्म निर्भर भएपछि मात्र विवाह गर्छु भन्दा हुन्छ भनेर मद्दत गरिदिन्छन् । तेस्तै यो बिषय नै पढ्नु पर्छ तिमीले भन्ने चलन पनि हरायो । व्युटि प्याजेन्टमा सजिलै भाग लिन दिनेदेखि, गायिका , कलाकार , खेलाडी आदी जे बन्न चाहान्छन् छोरीहरू तेही बन्न हौशला नै दिन्छन् । अझ कति त विवाह नगरी पुरूष साथीसँग बस्छु आदी भनेर बस्दा पनि कुनै रोकटोक नगरेको देख्छु ।

तर कति प्रतिशत तेस्ता स्वतंन्त्रसँग बाँच्न पाएका भाग्यमानी नेपाली छोरीहरू छन् भनेर चाहीं नेपाली समाजमा पसेर ठुलै रिसर्च नै गर्नु पर्ने हुन्छ।

एकातिर नेपाली छोरीहरूले सुख पाएकाछन् भनेर मख्ख भई रहँदा, २०७८ सालको जनगणनामा पनि बिचार गर्नु जरूरी छ । तथ्यांक अनुसार करीब ५ प्रतिशत छोरी कम जन्मिएका रहेछन् नेपालमा । अर्थात ११२ छोरा जन्मदा १०० मात्र छोरी जन्मिएछन् । ओहो किन नेपालमा आजकल कम छोरी जन्मिन थाले त ?

कतै नाबालिका बिरूद्ध भई रहेका बिभिन्न किसिमका हिंसाका घटनाहरूले गर्दा डराएर छोरी भ्रुण हत्या त भई रहेको छैन् वा एक संतान छोरा भएपछि अर्को संतान नजन्माउने वा पहिलो संतान छोरी भए दोस्रो छोरा पाउने आशमा मात्र संतान जन्माउने चलन त बढी रहेको छैन् ?

यस्तै रितमा कम छोरीहरू नेपालमा जन्मन थाले भने त भविष्यमा जन्मने केटाहरूले विवाह गर्ने केटीहरू नै नपाउने अवस्था नआउला भन्न सकिन्न ।

यो लेख लेख्ने सिलसिलामा विदेश पढ्न गएका दिदी पुस्ता देखि छोरी पुस्ताका महिलाहरूको बारेमा अलिक धेरै अध्ययन गरें । दिदी पुस्ताका महिलाहरू धेरै जसो चाहीं स्कलरसिपमा पढ्न आए रहेछन्। पढाई सकेर लगभग सबै नेपाल फर्किएका रहेछन् । तर गज्जब कुरा चाहीं नेपाली महिला जसका विदेशी श्रीमान् र विदेशी संतान थिए । कति बस्नु नेपाल श्रीमान र संतान विदेशी लिएर भनेर विदेशनै फर्किसकेका रहेछन् ।

हाम्रो पुस्ताका महिलाहरूमा स्कलरसिपमा पढ्न आएकाहरू नेपाल फर्कनै पर्ने बाध्यताले केही फर्केका रहेछन् । तर संतानहरू आफु पढ्दा पढ्दै अमेरिकामा जन्मेका, स्कुल नेपालमा लगेर तेतै पढाएर , कानुनीरूपमा बालिग १८ बर्ष भएपछि अहिले चाहीं अमेरिकाको नाम चलेको कलेजहरूमा अमेरिकन नागरिकले पाउने सुविधा लिएर पढ्दै रहेछन् ।

अरू त विदेश नै बसेकाछन् । तर विदेश बस्ने यो पुस्ताका महिलाले जति नेपाललाई माया गर्ने अरू कुनै पुस्ता छैन् । शायद आफुले लैंगिक विभेद निक्कै भोग्नु परेर होला । धेरैले नेपालका गाउँबस्तीका गरीब छात्राहरूलाई स्कुल, कलेज पढाईदिई रहेका छन् । कतिले गैर नाफा मुलक संस्था खोलेका छन् । अमेरिकामा विभिन्न सांगितिक कार्यक्रम गरेर सहयोग उठाएर नेपालमा सहयोग गर्दैछन् ।

बहिनी पुस्ताहरू त नेपालबाटै विदेश बस्नै भनेर तयारी साथ डाक्टर , नर्स , आई टी ईन्जियर आदी पढेर आएका, तिनीहरू नेपाल फर्कने त कुरै भएन । तर यिनीहरू पनि मेडिकल क्याम्प बोकेर नेपालका गाउँबस्तीसम्म बर्षको एकपटक त पुग्छन नै ।

रहयो छोरी पुस्ता, यिनीहरू त पास्नीमा चौरासी व्यन्जंन सुनको चम्चाले खाएका, गुन्युचोलोमा चाँदीको खड्कुलोमा खुट्टा धुन पाएका समग्रमा अरूभन्दा भाग्यमानी पुस्ता, यी त जता आफ्नो भविष्य राम्रो देखिन्छ तेतै कुदछन्। यी फेरी विदेश पनि आफै कुन देश र कता राम्रो छ खोजेर पढ्न हिंडेका हुन् । ओहो यी पुस्ता यति चलाख रहेछन् । नेपालबाटै सबै बुझेर अमेरिका आएका । कुनै बिषय भन्नुमात्र पर्छ । गुगलमा सर्च गरेर पत्ता लगाई हाल्छन् ।

न यिनीहरूलाई बाउ बाजेको संम्पत्तिको लोभ नै छ । न मतलव नै । न सुनचादीं आदी झरप्प लगाएर हिंडने सोख नै । जे गर्ने आफ्नै मेहेनतले नै गर्ने भन्छन् ।जे पनि छिटो होस् भन्ने चाहान्छन् । अवसर जता, यिनीहरू तेतै ! हतार छ आफै उन्नति गर्न। यिनीहरूलाई नेपाल फर्काउने वा नेपालमा टिकाई राख्ने जिम्मा चाहीं नेपाली सबैको हो ।

नेपालबाटै सबै बुझेर अमेरिका आएका । कुनै बिषय भन्नुमात्र पर्छ । गुगलमा सर्च गरेर पत्ता लगाई हाल्छन् ।

मैले महशुस गरेको यिनीहरूका रोल मोडेल प्रोफेशनल जागिर छोडेर नेपाल बनाउन राजनीतिमा आएका मेयर बालेन शाह जस्ता युवा हुन् । उनले गरेको विकाशको काम निक्कै ध्यान दिएर हेरी रहेका छन् । नेपाली समाजले कसरी साथ दिएको छ / छैन बिचार गर्दैछन् । कतिलाई पढाई सक्काएर बालेनको टिममा पसेर नेपाल बनाउने हुटहुटी पनि छ ।

“ कागको बिचमा बकुला वा भाग खोस्न आएको हो “ भने जस्तो गरेर उनको जति जति खेदो खनेर राम्रो काम गर्न दिईन्न । तेती नै मात्रामा युवा पुस्ता विदेश पलायन हुने संम्भावना बढ्ने छ ।

अझ भर्खर उदाएको नँया राजनीतिक दल “ रास्वपा “ र त्यो दलका जोशिला सांसदहरूले संसदमा र अहिले सरकारमा गएर राम्रो काम गर्न खोज्दै गरेको र फटाफट निर्णय, कारवाही गरिरहेको अवस्थामा कति विदेश पढ्न गएका, नेपाल राम्रो बनाउन चाहाने युवाहरूलाई पढाई सकाएर नेपाल फर्कन चाहीं पक्कै हौशला मिल्नेछ ।

अन्त्यमा , जसरी घरमा आफु एक शब्द नेपाली नबोल्ने, नसिकाउने अनि विदेशमा जन्मे, हुर्केका बच्चाहरूले नेपाली जान्दैनन् भनेर एकथरी विदेशमा बस्ने नेपालीहरू गुनासो गर्छन् नी ठ्याक्कै तेही ताल हो। आफ्ना विदेश गएका छोरीहरू जसरी हुन्छ मिलाएर विदेशमा नै बस्नु भन्ने । अनि अरूका छोरीहरूलाई चाहीं नेपाल फर्केर बनाउनु पर्छ भन्ने ।

विदेश पढ्न गएका छोरीहरू नेपाल फर्काउने अभियान सबै नेपालीले किन आफ्नै घरबाट शुरू नगर्ने त !

शशी के. सी

शशी के.सी

लेखिका

प्रतिक्रिया