“निमोठीयो फेरी अर्कों कोपिला”

इनेप्लिज २०८० फागुन २२ गते ११:१७ मा प्रकाशित

छोरी पाउनु के पाप हो? छोरी भएर जन्मिनु के अभिशाप हो?

यही प्रश्नहरुले मेरो मन मष्तिष्क बिथोलिरहन्छ। साँच्चै नै केही दिन भयो म खुलेर हास्न पनि सकेकी छैन। मन एकतमासले नमिठोसंग चस् चस गर्दै अदृश्य कुनै धारीलो औज़ारले घोचिरहेछ।मान्छेहरुमा बेदना समबेदनाहरु दिन प्रतिदिन किन सून्यमा परिणत हुँदै जाँदैछ। मान्छे यस्तो घृणित कार्यमा किन अग्रसर हुँदै जाँदैछ?

साना-साना छोरीहरु फूल्नै नपाई कोपिला मै किन निमोठींदैछन्? कि ति कोपिला निमोठ्ने पापीहरु आमा यानिकी एउटी नारीको कोखबाट जन्मेका हैनन्? तिनीहरुका घरमा छोरी चेली छैनन्? धिक्कार छ ति पापीहरुलाई। धिक्कार छ त्यो आमाको कोखलाई। आखिर किन जन्मन्छन् ति पापीहरु यस दुनियाँमा?

निर्मला पन्तको बलत्कारी हत्यारा यो नालायक, हुत्तिहारा, घुस्याहा सरकारले पत्ता लगाएर अझै सजायँ गर्न नसकिरहेको अबस्थामा फेरी एउटी अर्की भर्खर खाऊँ खाउँ, लाउँ लाउँ भन्ने उमेर, बिहानी उषाको लाली झैं भर्रभराउँदी आमा-बाबुको आँखाकी नानी १३ बर्षिय सुन्दर कोपिलालाई आफ्नै स्कूलको होस्टलमा स्कुलकै पापिष्टहरुले निर्मम तरीकाले मासुको चोक्टा-चोक्टा लुछी घाटी निमोठेर आत्महत्याको आरोप लगाउँदा त्यो ज्यानमारा पापीलाई जोगाउन कानुन आँखा बन्द गरेर अन्धा बन्छ, स्थानीय प्रशासन निर्मम बन्दै आफ्नो दायित्वबाट मुख मोढ्छ भने सरकार लाटो बनिदिन्छ। आखिर सबै मिलेर किन एउटा बलत्कारी ज्यानमारालाई बचाउ गर्न खोज्छ यो सरकार?

“ मेरी छोरीले आत्महत्या गरेको हुँदै हैन। यी पापीहरुले बलत्कार पछि हत्या गरेर झुण्याईदिएका हुन्। म घट्ना स्थल नपुगुन्जेल केही नगर्नु भन्दा भन्दै म पुग्दा घट्ना स्थललाई सुरक्षित नराखी मान्छेहरुको घुईंचो लागेको थियो। झुण्डिएर आत्महत्या गरिएकी भनेकी मेरी छोरीको घुँडाले भूँईमा टेकिएको थियो। मेरी छोरीको अनुहारमा घाउ थियो, उनको गुप्तांगमा गहिरो चोट थियो। आत्महत्या गर्ने बच्चाको अनुहारमा कसरी चोट हुन्छ? गुप्तांगमा कसरी गहिरो चोट लाग्छ?

पुलिसमा उजुरी दिंदा उजुरी पनि लिन मानेन। उल्टो मेरो भाईलाई झ्यांईंकुटी गर्दै पुलिस थाना लगेर थुन्यो। यो कहाँसम्मको अन्याय हो? मेरी छोरीलाई न्याय चाहियो।”

सुन्दर भविष्यको कल्पना गरेर आफ्ना अबोध बाल बालिकालाई राम्रोसंग पढुन् भविष्यमा आफ्नो खुट्टामा उभिएर राम्रो काम गरुन् भनेर आमा बाबु आफुले कडा मेहनत गरी खाई नखाई राम्रो बोर्डिंग स्कुलमा राखेर छात्राबासमा नै राख्छन् ता की उनीहरुको पढाईमा एकाग्रता बनिरहोस् र जाँचमा राम्रो नतिजा ल्यावस्।

तर म त भन्छु यस्ता सबै छात्रावासहरु बन्द गरिनु पर्छ। आमा-बाबुले पनि चाहे छोरा होस्, चाहे छोरी १२ कक्षा सम्म आफुसंगै राखेर आ-आफ्नो गक्ष अनुसारको स्कुलमा पढ्न पठाउँ ता कि छिमेकी र आफन्तहरुको देखा सिकी गर्दै आफ्ना मुटुका टुक्राहरुलाई अर्काको जिम्मा लगाएर आफु ढुक्कले निस्फीक्री घरमा निदाउने कोशिष नगरौं।

हे! प्रभू सायद यो निर्मम हत्या भएको प्रतक्ष्य दर्शी साक्षी हुँदा हुँदै पनि उचित प्रमाण पेश गर्न असमर्थ भएर होला रात पनि छट्पटाएर चिच्याई चिच्याई रोईरहेझैं लाग्छ।

बिहान झुल्कने घाम पनि ति पापी र पापीहरुलाई आश्रय दिने महापापीहरुको निक्लिष्ट कार्यकलाप देखेर निरास भएझैं आभास हुन्छ।

माता सरस्वतीको मन्दिर हो भने त्यही ठाउँमा नै बलत्कार पछि हत्या गरेर नाटकीय ढँगबाट छात्रालाई झुण्याईन्छ

दोबाटो-चौबाटोमा त बलत्कारको शिकार भए-भए हाम्रा छोरी चेलीहरु अब हुँदा-हुँदा भविष्यको सुन्दर सपना आँखाभरी सजाउँदै गरेकी एउटी निर्दोष बिद्यार्थि स्कुलकै छात्रावास जहाँ बाबु-आमाको नजरमा सबैभन्दा सुरक्षित ठाउँ, माता सरस्वतीको मन्दिर हो भने त्यही ठाउँमा नै बलत्कार पछि हत्या गरेर नाटकीय ढँगबाट छात्रालाई झुण्याईन्छ र आत्महत्याको संज्ञा दिएर हत्याको सबै सबुत प्रमाण मेटाईन्छ भने अब एकपटक सोचौं त कहाँ सुरक्षित हुन सक्छन् हाम्रा छोरी-चेलीहरु????

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्यूयोर्क, यु. एस. ए.

प्रतिक्रिया