मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्ता गठबन्धनको बैठक बस्दै

बेद प्रसाद घिमिरे २०८० फागुन २१ गते २:२७ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक अहिले बिहान ८ बजे बस्ने भएको छ। सत्ता गठबन्धनमा असन्तुष्टिहरू सिर्जना हुन थालेको पृष्ठभूमिका बैठक बस्न लागेको हो।

बैठक राष्ट्रिय सभा अध्यक्षका विषयमा केन्द्रित हुने बताइएको छ। गत माघमा निर्वाचन हुँदै गर्दा कांग्रेसले अध्यक्ष पाउने चर्चा भए पनि पछिल्ला दिनमा माओवादी केन्द्रले दाबी गरेपछि दुई दलबीच असमझदारी उत्पन्न हुन थालेको छ।

त्यस्तै, गठबन्धन बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि छलफल हुने एक नेताले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि नै मन्त्रिपरिषद्‌मा हेरफेर गर्न चाहेका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति नदिँदा रोकिएको थियो।

माओवादी केन्द्रले गठबन्धन नै परिवर्तन गर्न थालेको चर्चा हुन थालेपछि देउवा मन्त्रिपरिषद् हेरफेर गर्न र राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रलाई दिन समेत लचक हुन थालेको कांग्रेसका नेताहरूले बताएका छन्।

गठबन्धनभित्र आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी छ। सोही अनुसार आफ्नो पालो नआउञ्जेलसम्म देउवा प्रचण्डलाई चिढ्याउने मनस्थितिमा नरहेकाले लचक भएको हुनसक्ने नेताहरूको भनाइ पाइन्छ।

गठबन्धन बैठकअघि आइतबार देउवाले उल्लेखित विषयमा आफ्ना पार्टीका मन्त्रीहरूसँग छलफल गरेका छन्। आफ्नै निवास बुढानीलकण्ठमा भएको छलफलमा देउवाले मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीको चाहना र माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा गरेको दाबीबारे छलफल गरेको एक मन्त्रीले बताए।

प्रतिक्रिया