गैरआवासीय नेपाली संघको प्रेस विज्ञप्ती

इनेप्लिज २०८० फागुन १५ गते २३:३८ मा प्रकाशित

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय रहेको काठमाण्डौं स्थित मुख्यालय भवन विदेशमा रहेका नेपालीहरुको सकृयता र सहयोगमा निमार्ण सम्पन्न भएको सर्वविदितै छ ।

ललिता निवास बालुवाटार, काठमाडौँको जग्गा सम्बन्धमा विशेष अदालतमा परेको मुद्दामा २०८० फाल्गुन ०३ मा भएको फैसला बमोजिम सार्वजनिक जग्गा ठहर भएपछि विभिन्न प्रकारका टिकाटिप्पणीहरु आइरहेको प्रति संघको ध्यानार्कषण भएको छ ।

यसै सन्दर्भमा काठमाडौँ महानगरले घर जग्गा खाली गर्न मिति २०८० फाल्गुन ९ गते जारी भएको सार्वजनिक सूचना विरुद्द मुद्दाको अन्तिम टुंगो नलागेसम्म सो सूचना लागू नगर्न काठमाडौँ महानगरलाई उच्च अदालत पाटनबाट सोमवार अन्तरिम आदेश जारी भएको छ । सो आदेशको गैरआवासीय नेपाली संघ स्वागत गर्दछ ।

जग्गा खरिद गर्दा गैरआवासीय नेपाली संघ ठगिएको र सो जग्गा बिक्री गर्ने योजनाकारहरुलाई समेत विशेष अदालतले दोषी ठहर गरेको अवस्थामा दुबै अदालतको फैसला र प्रचलित कानूनको सम्मान गर्दै संघले आगामि दिनमा थप कानुनी उपचार खोज्ने जानकारी समेत गराइन्छ ।

गैरआवासीय नेपाली संघ संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दलहरू तथा विभिन्न सामाजिक संघसंस्था लगायतसंग सहकार्य गर्ने संस्था भएकाले संघको बौद्दिक तथा भौतिक सम्पत्ति सबैको महत्वका हुन् भन्ने मान्यता छ । संघको अन्तर्राष्ट्रिय परिषद्को नेतृत्वले नेपाल सरकार, काठमाडौँ महानगरपालिका सहित सम्बन्धित सबैसंग संवाद जारी राख्दै आएको जानकारी गराउंदछौ ।

हाल गैरआवासीय नेपाली संघको सबै गतिविधिहरु नियमित रुपमा केन्द्रीय कार्यालयबाट भैरहेको सम्बन्धित सबैलाई जानकारी गराउँदै कुनैपनि भ्रममा नपर्न आग्रह गरिन्छ । साथै, आफ्ना आवधिक पञ्जिकृत सदस्यहरु, सम्बन्धित राष्ट्रिय समन्वय परिषद्को भावना र आवश्यकतालाई समेत मध्यनजर गर्दै राष्ट्रको गरिमा र गैरआवासीय नेपालीहरूको सुविधा र संगठित भावनाको सुदृढीकरणमा अघि बढ्न दृढ छ ।

प्रतिक्रिया