नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

इनेप्लिज २०८० फागुन १४ गते २२:३९ मा प्रकाशित

विरगञ्ज । नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन् ।

दुर्गा भगवती गाउँपालिकाको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कार्डियोलोजी, कार्डियो–भास्कुलर, न्यूरो सर्जरी सम्बन्धी सेवाहरु दिइएको थियो । शिविरको गाउँपालिकाका प्रमुख शम्भु कुमार सिंहले उद्घाटन गरेका थिए । कलेजले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकोमा गाउँपालिका प्रमुख सिंहले प्रसंशा गरे ।

शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मुटु भल्व रोग, घुँडाको दुखाई जस्ता समस्याहरु पाइएको छ । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सक सहित नेशनल मेडिकल कलेजको स्वास्थ्य शिविर आएको थाहा पाएपछि उक्त पालिकाका गाउँगाउँबाट बिरामीहरु पुगेका थिए ।

नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. इशर्त जहान अन्सारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले समुदायमा केन्द्रीत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १५ सय जनाको इसिजी र ११ सयको इको गरिएको थियो ।

यस्तै, कलेजले फागुन १२ गते बारा जिल्लाको कोल्हवीमा प्रसुति तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ५ सयबढी महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा ५० वर्षदेखि ६५ वर्ष उमेर समुहका महिलाहरु बढी आएका थिए । उनीहरुलाई नेशनल मेडिकल कलेजको प्रसुति तथा स्त्री रोग विभागका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिविरबाट उक्त क्षेत्रका प्रसुति तथा स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरु बढी लाभान्वित भएका थिए । कलेजको स्वास्थ्य सेवालाई समुदाय स्तरसम्मै पुर्याउन समयसमयमा निःशुल्क स्वास्थ्य शिविर गर्ने गरिएको छ ।

२०५६ साल भदौ ३२ गतेदेखि औद्योगिक नगरी विरगञ्जमा सञ्चालनमा आएको नेशनल मेडिकल कलेजको अध्यक्षमा वरिष्ठ सर्जन प्रा.डा. जैनुद्दिन अन्सारी छन् । कलेजले मधेस प्रदेशका जनता र सिमावर्ती भारतीय क्षेत्रका लाखौं नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया