अमेरिका नेपाल शिक्षा सदनले सम्पन्न गर्यो सृजनामय वार्षिकोत्सव 

इनेप्लिज २०८० माघ २९ गते १०:४३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत मनासस शहरमा स्थापित सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस ) को मातहतमा सञ्चालित शैक्षिक संस्था अमेरिका नेपाल शिक्षा सदनको आठौं वार्षिकोत्सव कार्यक्रम फेब्रुवरी ११ आइतवार सृजनात्मक रूपमा सम्पन्न भएको छ l

मनाससको युनिटी रिड स्कुलमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक , समाजसेवी , संस्थाका पदाधिकारीहरुलगायत विभिन्न संघसंस्थामा आबध्द प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बीओटी सभापति केदारप्रसाद तिम्सिनाले अध्यक्षता र नेपाली दूतावासका आर्थिक सल्लाहकार युगराज पाण्डेले प्रमुख आतिथ्यता गरेको कार्यक्रमको प्रारम्भमा नेपाल र अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।

पूर्वाङ्गका रूपमा सरस्वतीपूजा गरिएको सो कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष जानु ओझाले स्वागत मन्तव्य राखेकी थिइन् भने शिक्षा सदनको तर्फबाट संयोजक भुपाल पौडेलले विद्यालयका गतिविधिबारे चर्चा गरेका थिए ।

विद्यालयका छात्रछात्रा रोजी गौतम, सहज आचार्य, आर्सिया सुवेदी, आज्ञा पोख्रेल, प्रिसा, सान्भी, ऋदम, र्यामी, इर्सिता, रिस्मा, सोफिया, सारिका, अनुस्का, आहाना, आस्भी, इभाना, साशा, एन्जेला, प्रशंसा, सुनोभा, दिभिजा, सृजीलगायतले आकर्षक सामूहिक नृत्य, आभा न्यौपाने, सम्बोधन पोख्रेलले गीत, गौरव गौतम र गौरव खड्काले वक्तृता, प्रसून पौडेलले कविता गरी दर्जनौं सृजना प्रस्तुत गरी अतिथि तथा अभिभावकहरूलाई निकै खुसी र सन्तुष्ट तुल्याएका थिए ।

यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि युगराज पाण्डेले विद्यालयले निकै उत्कृष्ट काम गरेको प्रमाण देख्न पाउँदा आफू नेपालमै भएको महसुस गरेको धारणा राख्दै संस्थालाई आर्थिक रूपमा बलियो राख्नुपर्ने सुझाबसमेत दिएका थिए । भर्जिनिया निर्वाचन क्षेत्र नं. १० का उम्मेदवार अतिथि एड्रिन पोख्रेलले अमेरिका नेपाल शिक्षा सदनले सृजनशील विद्यार्थी उत्पादन गरेको भन्दै आफूले हरेक महिना सय डलर सहयोग स्वरूपको रकम प्रदान गर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यार्थीको हौसला बढाउन अभिभावकहरू पनि गानबजानमा सहभागी भएका थिए भने सम्पूर्ण अभिभावकको तर्फबाट सुशिला पोख्रेल तथा शिक्षकको तर्फबाट रमेश खनालले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा पुरस्कृत विद्यार्थीहरूका लागि पुरस्कार व्यवस्था गर्न केदार तिम्सिना, पदमराज रेग्मी, राजीव मैनाली, रोम ज्ञवाली, शिव लामिछाने र तनुजा पोख्रेललगायतका दाताहरूले रकम प्रदान गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रथम ,द्वित्तीय तथा तृतीय गरी प्रमाणपत्र तथा नगद प्रदान गरिनुका साथै आफ्नो प्रस्तुति गर्ने विद्यार्थीहरू र विद्यालयका शिक्षक, प्राविधिक सहयोगी तथा कार्यक्रमका सौजन्यकर्ताहरूलाई प्रमुख अतिथि पाण्डे तथा सभापति केदार तिम्सिना लगायतबाट प्रमाणपत्र, नगद र ट्रफी वितरण गरिएको थियो ।

कार्यक्रमको अन्तमा एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले विद्यालयलाई केही पुस्तक हस्तान्तरण गर्नुका साथै कवितवाचन गरेका थिए ।

विद्यालयका शिक्षक विष्णु न्यौपाने, शिक्षिका भगवती भारती तथा छात्रछात्रा सोफिया आचार्य र आभास अर्यालले संयुक्त रूपमा संचालन गरेको उक्त आठौं वार्षिकोत्सव कार्यक्रममा प्रविधिमा तिलक खरेल, शिव तिम्सिना तथा अर्जुन गौतमले सहयोग गरेका थिए भने समापन सभाध्यक्ष केदार तिम्सिनाले गरेका थिए ।

नेपाली बालबालिकाहरुमा भाषा, कला, संस्कृति तथा नेपालीपनप्रति सम्मान जगाउँदै भाषा, कला, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण लक्ष्य लिएर स्थापना भएको उक्त नेपाली पाठशालाले औपचारिक रूपमा फेब्रुअरी १२, २०१६ देखि संचालनमा आएदेखि शैक्षिक, सांस्कृतिक र सृजनात्मक कार्यहरू गर्दै आएको छ ।

यस शैक्षिक संस्थाले शिक्षण पेसामा लामो अनुभव बटुलेका शिक्षक तथा अमेरिकाको भर्जिनियाबाट अनुमति प्राप्त शिक्षकहरूबाट हरेक आइतबारका दिन नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा, संस्कृति, नैतिक शिक्षा तथा नेपालका विविध विषयहरूसमेटेर अमेरिकाका विभिन्न राज्यहरूका सयौं विद्यार्थीका लागि नियमित कक्षा सन्चालन गर्दै आइरहेको छ l

जगन्नाथ पौडल, मेडिया को-अर्डिनेटर

प्रतिक्रिया