युक्रेनको खार्किभमा रुसी ड्रोन आक्रमणमा परी ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ ।
रुसी मानव रहित यान (ड्रोन)ले खार्किभको अग्रपंक्तिको शहरमा रहेको एउटा इन्धन चौकी (ग्यास स्टेशन)मा गत शनिबार राति आक्रमण गर्दा कम्तीमा ७ व्यक्तिको मृत्यु भएको र १५ वटा घरमा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
खार्किभका गभर्नर ओलेह सिनेहुबोभले संचार माध्यम टेलिग्राममा उक्त आक्रमणमा तीन बालबालिका जसमा एक ४ वर्षीय बालक र एक ६ महिनाको बच्चा सहित मारिएको बताए । उनले त्यस मध्ये एकै परिवारका ३ सदस्यहरू परेको जनाएका छन् ।
करिब ४० ,००० वर्ग फिट क्षेत्रफलमा जलेको इन्धनको कारण ५० भन्दा बढी क्षेत्रका बासिन्दाहरूलाई विस्थापित गरिएको खार्किभका नगर प्रमुख इहोर तेरेखोभले बताए । उनले अग्नि नियन्त्रकहरू र आपतकालिन कर्मचारीहरूले शनिबार मध्यरातमा मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको जनाए ।
आक्रमणमा अन्य तीन जना घाइते भएको उनले बताए । नजिकैको विद्यालयमा आपतकालीन परिचालन केन्द्र (अपरेशन सेन्टर )स्थापना गरिएको थियो। तेरेखोभले पीडितहरूका लागि निर्माण सामग्री, कपडा र व्यक्तिगत सरसफाइका सामानहरू उपलब्ध गराउन अपील गरे।
तीन बालबालिका सहित पाँच जनाको शव एक निजी घरमा फेला परेको थियो। अन्य दुई जनाको मृत्यु अर्को घरमा भएको थियो। मृतकको शव नराम्ररी जलेकाले पहिचान गर्न डिएनए परीक्षण भइरहेको उनले बताए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएकाका परिवारप्रति समवेदना पठाउँदै उनीहरूलाई सहयोग गर्ने वाचा गरेका छन्।
प्रतिक्रिया