‘महाजात्रा’ जोडी : विपिन र वर्षासँगै दिव्य र गौमाया

इनेप्लिज २०८० माघ २५ गते ११:०८ मा प्रकाशित

प्रणय दिवसको सप्ताह सुरू भईसकेको छ । फेब्रुअरी १४ मा मनाइने दिवसको सुरुआत सात दिन अगाडि नै हुने गर्छ । माया गर्नेहरूले यसलाई विभिन्न रुपमा सप्ताह अगाडि नै मनाउने गरेका छन् । सोही सन्दर्भ पारेर फिल्म ‘महाजात्रा’ का निर्देशक प्रदीप भट्टराईले दुई जोडीको पोस्टर सार्वजनिक गरेका छन् ।

फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । फिल्म सोसल ड्रामा भएता पनि फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले ‘जात्रा’ शृंखलामा रुचाउदै आइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रुपमा थपिएका छन् ।

‘हामीले देखाउने प्रेम अरू भन्दा फरक हुने गरेको छ । किनकि हाम्रो फिल्मको विषयवस्तु पैसासँग जोडिएको छ । यद्यपि जात्रै जात्रामा फडिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनु भएको थियो’, निर्देशक प्रदीप भट्टराईले भने,’हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देश प्रतिको पनि छ । यसपटक जात्रा भन्दा माथि उठेर महाजात्रा गरेका छौँ ।’

निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् यसमा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । नेपालमा यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ ।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

प्रतिक्रिया