एकपछि अर्को गर्दै लोकतन्त्र खतरामा

बेद प्रसाद घिमिरे

इनेप्लिज २०८० माघ १९ गते २२:३६ मा प्रकाशित

बेद प्रसाद घिमिरे-लोकतन्त्रको सबैभन्दा बलियो आधारस्तम्भ भनेको संविधान र व्यवस्थाप्रति जनताको आस्था र विश्वास हो । अहिले दलहरु र सरकारी संस्थाको गैरजिम्मेवार व्यवहारका कारण संविधान र व्यवस्थाप्रति नै जनतामा अनास्था र अरुची बढ्न थालेको छ । जनतामा बढेको यो असन्तुष्टिमा व्यवस्थाविरोधी, राजावादीहरुले निरन्तर घिऊ हालिरहेका छन् । दलहरुको व्यवहारचाहिँ आगो निभायने भन्दा पनि दन्काउनेतिरै केन्द्रित छ ।

संसद भनेको लोकतन्त्रको अर्को आधारस्तम्भ हो । राष्ट्रियसभामा दलले कस्तो अभ्यास गर्दैछन् ? संसदलाई किन प्रभावहीन बनाइरहेका छन् । प्रदेशसभाहरुले किन सत्ताको खेलमा लागेर जनताको असन्तोषलाई सम्वोधन गर्ने बाटो समाउन सकेका छैनन्, यी सबै व्यवहारले संसदीय व्यवस्थाप्रति जनताको अरुची बढ्दैछ, जसले व्यवस्थालाई एकदिन संकटमा पार्न सक्छ ।

लोकतन्त्रको अर्को आधार स्तम्भ राष्ट्रपति र उपराष्ट्रपति हुन् । अपराधीलाई माफी दिने कार्यले राष्ट्रपतिजस्तो संस्था बदनाम छ । पूर्वउपराष्ट्रका छोरा सहकारी ठगीमा मुछिएको चर्चा छ । सरकारले यसमा सुनेको नसुन्यै गरेको छ । यस्ता कार्यले जनतामा राष्ट्रपति संस्थामाथि अनास्था बढाइरहेको छ । यसलाई चिर्न र जनतालाई आश्वस्त पार्न कसैले आवश्यक ठानेको छैन ।

त्यसैगरी राजनीतिक दलहरु लोकतन्त्रका मुख्य कर्ता र आधार स्तम्भ हुन् । यी दलहरुको व्यवहार ०४६ सालदेखि नै भ्रष्टा हुँदै गएको थियो । अहिलेसम्म यिनीहरुले चेतेका छैनन् । पार्टीभित्रको अलोकतान्त्रिक व्यवहार, भ्रष्ट र अपारदर्शी नीति अनि जनताको समस्यामा भन्दा आफ्नालाई पोस्ने परिवारवादबाट दलहरु बाहिर निस्कन सकेका छैनन् । दलको यो व्यवहारका कारण जनतामा असन्तोष र आक्रोश बढिरहेको छ । र, व्यवस्था भन्दा पहिले कांग्रेस, एमाले र माओवादी जस्ता दलहरु संकटमा पर्ने स्थिति देखिँदैछ ।

यसरी एकपछि अर्को गर्दै लोकतन्त्रका अवयवहरु कमजोर बन्दै गएका छन् । यसैको परिणामस्वरुप बेथिति र दण्डहीनता जतासुकै बढेको छ । देशमा एउटा कुनै त्यस्तो संस्था छैन, जुन राम्रो छ भन्ने सुनियोस् । सेनामा उमेरको विवाद छ, अदालतमा भ्रष्टाचार र गुटबन्दी छ । समाजमा अराजकता बढेको छ । विश्वविद्यालयमा राजनीति छ । सर्वत्र बेथिति नै बेथिति बढेको छ । राज्यको चौथो अंग भनिएको मिडियामा समेत बेथिति र संकट देखिएको छ ।

यो सर्वत्र बेथिति र खास गरी अर्थतन्त्रमा देखिएको अराजकता र मन्दीका कारण देशमा कुनै पनि बेला विद्रोहको लप्को सल्कने सम्भावना बढ्न थालेको छ । यसको दृष्टान्त बालकुमारी र बरहथवाको घटनाले दिइसकेको छ । कुनै पनि बेलामा स्वतः स्फूर्त विद्रोहको आगो सल्कियो भने त्यसलाई कसले प्रयोग गर्छ, उसैले सत्तामा कब्जा जमाउने खतरा रहन्छ । त्यो, राजावादीबाट पनि हुन सक्छ या विदेशी शक्ति पनि आउन सक्छ ।

त्यसैले, अहिले व्यवस्था माथि संकट त आइसकेको छैन, तर आउने बाटोतिर, संकटोन्मुख बाटोतिर देश हिँडिरहेको देखिन्छ । देशलाई यो स्थितिमा पुर्‍याउने मुख्य भूमिका अहिलेका प्रमुख राजनीतिक दलहरुले नै खेलिरहेका छन्।

प्रतिक्रिया