गाँजा खेतीले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ!

बेद प्रसाद घिमिरे २०८० माघ १२ गते २२:२१ मा प्रकाशित

बेद प्रसाद घिमिरे-एक समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशले पनि गाँजासम्बन्धी नियम खुकुलो बनाउँदै गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देश गाँजा प्रयोगमा उदार हुँदै गएका छन् ।

अमेरिकाका २३ राज्यले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारतका केही राज्यले औद्योगिक प्रायोजननिम्ति गाँजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीन पनि यसमा उदार देखिँदै आएको छ । हेम्प (यसको प्रजाति) उत्पादनमा चीन फ्रान्सपछिको दोस्रो स्थानमा छ ।

७० को दशकअघि नेपालमा पनि गाँजा उत्पादन र खेतीमा कुनै प्रतिबन्ध लागेको थिएन । सन् १९७६ मा सरकारले अमेरिकी दबाबमा गाँजा उत्पादन र प्रयोगमा रोक लगायो । त्यस दशकमा नेपालमा हिप्पी युगको सुरुआत भयो । अमेरिकालगायत अन्य मुलुकबाट नेपालमा गाँजा खानेको घुइँचो लाग्थ्यो । यही कारणले अमेरिकाले आफ्ना नागरिकप्रति चिन्ता दर्शाउँदै नेपालमा गाँजा प्रतिबन्ध गर्न दबाब दियो । अहिले करिब ४० वर्षपछि अमेरिकाले गाँजा उत्पादनर प्रयोग आफ्ना राज्यहरूमा खुला गर्‍यो । अन्यथा त्यहाँका मानिस गाँजा प्रयोग गर्न छाड्दैनथे र राज्यले आफ्ना नागरिकलाई अपराधीका रूपमा व्यवहार गरिरहन्थ्यो । जसले गर्दा अपराधको जालो बढ्दै जान्थ्यो ।

नेपालमा अझै पनि गाँजालाई लागुऔषधका रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधका रूपमा हेर्छ र दण्डित गर्छ । गाँजाको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने पनि धेरै छन् । यसको समर्थनमा केही बोले वा लेखे पनि त्यसलाई नकारात्मकरूपमा हेर्ने धेरै छन् तर गाँजाको प्रयोग रोकिएको छैन । नेपालमा युवामाझ गाँजाको प्रयोग बढ्दै गएको छ । प्रहरी र प्रशासनले जति कडाइ गरे पनि यसको प्रयोग रोकिएको छैन । यसमा गरेको कडाइले अन्य खतरनाक दुर्व्यसनी मौलाउँदै गएको छ।

हामीकहाँ चुरोट र रक्सी खानु सामान्य मानिन्छ तर गाँजा खानु अपराध । अनुसन्धान र अध्ययनअनुसार रक्सी र चुरोटको तुलनामा गाँजा कम हानिकारक छ । जबदेखि मानिसलाई गाँजाबारे थाहा भयो तबदेखि नै यसको प्रयोग र ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् । सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पर्टले गरेका अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाँजाको असर तुलनात्मकरूपमा कम हुन्छ । हामी सोच्छौँ, गाजा सेवनकर्तामा यसको शारीरिक परनिर्भरता बढी हुन्छ । तर अध्ययनले देखाएअनुसार चुरोट र बिँडी खानेहरूमा तिनको शारीरिक परनिर्भरता ३० प्रतिशत हुन्छ तर गाँजामा त्यस्तो लत लाग्दैन ।

एक लेखअनुसार औषधि विज्ञानले गाँजालाई अहिले उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । ‘यसलाई विभिन्न प्रायोजनका लागि प्रयोग गर्न सकिन्छ ‘ग्लाउकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी देखिन्छ । नौजिया र अत्यन्त दुखाइको राहतका लागि पनि यो प्रयोग गर्न सकिन्छ ।

क्यान्सर सेल मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगको उपचार गर्न सकिन्छ । तर गाँजाले हृदयगति बढाउने, धुवाँले श्वास÷प्रश्वास प्रणालीमा असर गर्ने तथा अन्य सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्ने पनि देखिएको छ ।

यी उदाहरण दिनुको तात्पर्य हामीले गाँजा निजी प्रयोगका लागि प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । हामीले यसका अनगिन्ती फाइदाको सही उपयोग गर्न सक्नुपर्छ । यहाँ त हाम्रो कानुन कस्तो छ भने कसैले गाजा बोकेको छ भने पनि उसलाई समातेर जेल हाल्छ र त्यहाँबाट छुट्न निकै गाह्रो पर्छ । केही समयअघिको कुरा, मेरा एक जना साथी अरू साथीसँग बसेर गफ गर्दै थिए । अरू गाजा पनि खाँदै थिए तर ती साथीले भने अहिलेसम्म गाँजा खाएका थिएनन् । त्यत्तिकैमा प्रहरी आयो र सबैलाई भ्यानमा हालेर प्रहरी कार्यालय लग्यो र मुद्दा चलाइयो । त्यहाँबाट उनलाई छुट्न लगभग ५–६ दिन कुर्नुपर्‍यो । पछि प्रहरीले उनको आमाबाबुको जिम्मा लगायो । समाजमा पनि त्यो कुरा फैलियो । अहिले उनलाई धेरैले नराम्रै सोच्छन् उनको समाजमा
यहाँ कोही मानिस गाँजा खानेसँगै बसेको देखे ऊ अपराधी ठहरिन्छ । जबकि गाँजा खाएर कसैले सामाजिक अपराध गरेको खबर छैन । रक्सीको मातमा विभिन्न आपराधिक घटना भएका छन् । बलात्कार, हत्याका घटना भएका छन् । त्यस्तै चुरोटले पुर्‍याउने क्षतिका बारेमा पनि हामी अवगत नै छौँ । अध्ययनअनुसार ६० लाख मानिस चुरोट सेवनले हरेक साल मर्ने गर्छन् । यही क्रम रहे सन् २०३० सम्म चुरोटका कारण ८० लाख मानिसको ज्यान जान सक्नेछ । त्यस्तै अर्को अध्ययनअनुसार रक्सीको सेवनबाट संसारमा २५ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । तर गाँजा सेवनबाट ज्यान गएको सुनिएको छैन ।

यहाँ त रक्सी र चुरोटलाई आफ्नो शानका रूपमा लिने गरिन्छ । विवाह, व्रतबन्धमा पनि यसको प्रयोग खुलेआम हुने गरेको छ । स्वास्थ्यमा पुर्‍याउने क्षतिको हिसाब हेर्ने हो भने गाँजा चुरोट र रक्सीको तुलनामा निकै कम हानिकारक छ । यहाँ धेरैको बुझाइ के छ भने गाँजा भनेको लागुऔषध हो । त्यो सोचाइमा परिवर्तन आउन सकेको छैन । धेरैले के सोचेका छन् भने गाँजा खाएपछि मानिस अरू दुर्व्यसनीमा फस्ने सम्भावना धेरै हुन्छ । तर अध्ययनले देखाएअनुसार त्यसो हुँदैन । साँच्चिकै दुर्व्यसनीमै फस्नु छ भने जाँड, चुरोट, रक्सी खाए पनि फसिन्छ ।

गाँजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाँजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधिलगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सिर्जना गर्न सकिन्छ ।

एकजना विदेशीले भनेका थिए, नेपालमा भएको अमूल्य गाँजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ । समयसँगै गाँजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यससम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ । हामीले पनि यसप्रतिको दृष्टिकोण र बुझाइमा परिवर्तन ल्याउनु आवश्यक छ । यसले गर्दा नेपालको आर्थिक उन्नतिमा ठूलो टेवा पुर्‍याउँछ।

प्रतिक्रिया