नेपाललाई ‘सतिले सरापेको मुलुक भन्नुको कारण यस्तो रहेछ

बेद प्रसाद घिमिरे २०८० माघ ११ गते २:०९ मा प्रकाशित

नेपाललाई ‘सतिले सरापेको मुलुक’ भन्ने चलन प्रताप मल्लकै समयदेखि चलिआएको हो। राम्रो काम गर्नेको भलाई नहुने भन्ने सन्देश सो लोकोक्तिले दिन्छ। प्रताप मल्लकालीन प्रभावशाली भारदार काजी भीम मल्लले तिब्बतसँग युद्ध गरी उनीहरूलाई पराजित गरी कान्तिपुरको ठूलो हित हुने गरी सन्धि समेत गरेका थिए। तर, उनका कतिपय प्रतिस्पर्धी भारदारहरूलाई भीम मल्लको दरबारमा बढ्दै गएको रवाफ र शक्ति मन परेको थिएन र राजासमक्ष उनीहरूले उनका विरुद्ध नचाहिँदा कुरा लगाए। त्यसपछि उनलाई तिब्बतबाट तुरुन्तै फिर्ता बोलाइयो र राजा प्रताप मल्लको आदेशमा काटियो। सती जाने बेलामा उनकी पत्नीले ‘देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै राम्रो नहोस्’ भनी कठोर सराप दिएकी थिइन् (आचार्य, उहीः७७)। यसैलाई ‘सतीको सराप’ भनिन्छ।

राजाको आज्ञा लिएर काजी भीम मल्ल तिब्बतका विभिन्न भागमा कान्तिपुरको अधिकार स्थापना गराउन त्यसतर्फ गएका थिए। तत्कालीन माझ किरातको ओखलढुंगा हुँदै उनी तिब्बततर्फ गएका थिए। उनले ठूलो ढुंगामा ओखल खोपी धान कुटेर आफ्ना दललाई सामल तुल्याएका थिए (ज्ञानमणि नेपाल, ‘नेपाल निरूपण’–२०५५ः२९०)। त्यसपछि त्यस ठाउँको नाम नै ओखलढुंगा रहनपुग्यो।

काजी भीम मल्लले तिब्बतको त्यस बेलाको राजनीतिक अस्तव्यस्तताको मौका छोपी सुझबुझ र पराक्रमका साथ कुती, केरुङ तथा खासा लगायतका केही भू–भागमा कान्तिपुरको आधिपत्य स्थापित गराएका थिए। त्यसपछि तिब्बत र कान्तिपुरबीच शान्ति सम्झौता भएको थियो। त्यस सम्झौताअनुसार तिब्बत सरकारले नेपाली नागरिकलाई तिब्बतमा आफ्ना व्यापार कोठी स्थापना गर्न र व्यापार सञ्चालन गर्न दिनुपर्ने भयो। साथै तिब्बत सरकारले आफ्नो राज्यको बाटो भएर मात्र भारतसँग व्यापारसम्बन्ध स्थापित गर्नुपर्ने व्यवस्था भयो।

नेपालको साख बढ्ने गरी भीम मल्लले गराएको त्यस्तो सम्झौताका कारण कान्तिपुर दरबारमा उनेको धाक रवाफ बढेको तियो तर मल्लको बढ्दो प्रभाव दरबारका नरदेव तथा मयासिंह नामका भारदारलाई मन परेन। उनीहरूले महादेव ओझा नामका एक जना कुख्यात व्यक्तिलाई प्रयोग गरी प्रताप मल्ललाई काजी भीम मल्लविरुद्ध कुरा लगाए। उनीहरूले तिब्बतमा जितिएका भूभागहरू कान्तिपुरबाट अलग्याएर काजी भीम मल्ल आफैँ स्वतन्त्र प्रशासक हुने धूनमा लागिरहेका छन् भन्ने झुटो कुराले राजाको कान भरे। त्यसपछि राजा प्रताप मल्लले सत्यतथ्य नबुझी उनलाई कान्तिपुर बोलाउन लगाएर राजदरबारको मूलढोकामै विसं १७०७ मा काट्न लगाए (आचार्य, उहीः७६)

पछि काजी भीम मल्ल निर्दोष देखिँदा प्रताप मल्लले निक्कै ठूलो पछुतो मानेका थिए। वास्तवमा काजी भीम मल्लले देशको भलाइका लागि ठूलो काम गरेका थिए। तर राम्रो काम गर्दागर्दै मल्लले पुरस्कारको साटो ज्यान गुमाउन परेको थियो। तिब्बतसँगको सन्धिबाट कान्तिपुरले त्यहाँ विशेष सुविधा पाएको थियो। कालान्तरमा ललितपुर र भक्तपुरले समेत सोही सुविधा प्राप्त गरी भोट व्यापारमा सरिक हुने अवसर पाए। यस सन्धिबाट उपत्यकाका मल्ल राजाहरूले प्रशस्त फाइदा लिए। तिब्बतसँगको सन्धिका कारण यहाँको अर्थतन्त्र दह्रिलो बन्नपुग्यो।

नेपाली व्यापारीहरू ल्हासा र भोटका अन्य क्षेत्रमा कुशल व्यापारीका रूपमा स्थापित भई त्यहीँ बस्न थाले। यसले त्यस देशको आन्तरिक तथा बाह्य व्यापारमा नेपालको एकाधिपत्य कायम हुनसक्यो। तर दरबारिया षडयन्त्रमा परी तिब्बतबाट कान्तिपुर फर्किएकै दिन होनहार देशभक्त काजी भीम मल्ल काटिन पुगे। उनकै श्रीमतीले सती जाँदा सराप दिएका कारण नेपाल सतीको सराप लागेको मुलुक कहलिन गयो।
(इतिहास अध्यान बाट )

प्रतिक्रिया