ओखलढुंगामा प्रजातन्त्र प्राप्तिका लागि रगतको खोलो बगेको थियो

बेद प्रसाद घिमिरे २०८० माघ ११ गते १:२२ मा प्रकाशित

जननायक बीपी कोइरालाको नेतृत्वमा विसं २०२८÷३१ मा नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाविरुद्धमा सशस्त्र क्रान्ति गरेको थियो । यो क्रान्तिको कमान्डरका रूपमा गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । यसै क्रान्तिका लागि हतियार खरिद तथा खर्चपानी जुटाउनका लागि नै विमान अपहरणसमेत गरिएको थियो । सशस्त्र क्रान्तिविना खोसिएको प्रजातन्त्रको पुनप्रप्ति नहुने निष्कर्ष सहित थालिएको दोस्रो चरणको सशस्त्र आन्दोलनका क्रममा भएको टिम्बुरबोटे काण्डको असफलताले नेपाली काँग्रेसको विद्रोहलाई ठूलो धक्का पुगेको थियो । कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भूतपूर्व सैनिकलगायत पार्टीका समर्पित जोशिला युवालाई सम्मिलित गराएर भारतको फारविसगन्ज, बरथवा, वीरपुर र वनारसमा सामान्य सैन्य तालिम दिएर लडाकुदस्ता तयार पारिएको थियो । यो लडाकु डफ्फाले पूर्वी पहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दै अघि बढ्ने योजना बनाएको थियो । करिब ४० जनाको यो डफ्फा मङ्सिरको पहिलो साता वनारसबाट मधुवनी हुँदै नेपाल भित्रिएको थियो । कमला नदीको किनारैकिनार अघि बढेको कप्तान यज्ञबहादुर थापाको कमान्डरीको यो सैन्यदस्तामा होनहार जुम्ल्याहा क्रान्तिकारी युवा राम–लक्ष्मण उपाध्याय, महेश कोइराला, महेश कोर्मोचा, चन्द्रमान तामाङ, माइला राई, पद्मप्रकाश पुरी, मानबहादुर मगर, एल्बी गुरुङलगायतका लडाकुहरू थिए । सिन्धुली, उदयपुर हुँदै ओखलढुङ्गा पुगेको दस्ताको रासनपानीको व्यवस्थाका लागि अर्को छुट्टै टोली खटिएको थियो । तर, रासनपानीको व्यवस्था गर्न खटिएको टोलीले राम्रोसँग जिम्मेवारी वहन नगरिदिँदा सैन्यटोलीले हैरानी बेहोर्नुपरेको थियो । प्रशासनको निगरानी, धरपकड, अभाव, जाडो, ओढारको बास, अनेक प्रतिकूल बाधाबीच पनि यो दस्ताले ओखलढुङ्गा कब्जा गर्ने योजना बनाएको थियो । प्रशासनले यसको सुइँको पहिले नै पाइसकेको जानकारी प्राप्त भएपछि सुरक्षित स्थानको खोजी गर्दै टोली सोलुखुम्बु जिल्लाको तिङ्ला गाउँको सिरानमा रहेको घनाजङ्गलबीचको ओढारलाई सेल्टर बनाएर बसेको थियो ।

यो दस्तालार्ई सुरक्षित रूपमा बसेर योजना बनाउन र रासनपानीको सामान्य व्यवस्था गर्न केही तिङ्लावासीले सघाएका पनि थिए । प्रशासनले ओखलढुङ्गा र सोलुखुम्बुको प्रशासनिक सुरक्षाका लागि थप सैन्यबल पठाइसकेको थियो । गाउँ–गाउँमा छापा मार्ने र धरपकड गर्ने काम भइरहेको थियो । सबै सुराकी पाएपछि सेनाले टिम्बुरबोटे क्षेत्रलाई कब्जामा लिएर घेराउ गर्यो । कोही पनि भाग्न नसक्ने अवस्था बनाइसकेपछि मङ्सिर मसान्तको राति हेलिकोप्टरबाट ओढारमा ग्रिनेड प्रहार गरियो । मेसिनगनबाट अन्धाधुन्द गोली वर्षाइयो । हतियार उठाउन पाएकाहरूले दोहोरो फायरिङ गरे । कतिले हतियार समाउनै पाएनन् । यसरी ओढारभित्रै प्रजातान्त्रिक योद्धाहरूको ज्यान लिइयो । ओढारभित्रै मारिनेहरूमा– राम–लक्ष्मण उपाध्याय, श्यामकुमार गुरुङ, पद्मप्रकाश पुरी, नेत्रबहादुर कार्की, मानबहादुर मगर, चन्द्रमान तामाङ, माइला राई, प्रजालाल राई लगायतका हुनुहुन्थ्यो । कमान्डर क्याप्टेन थापा, महेश कोइराला, एल्बी गुरुङलगायतका केही योद्धा गोली र विस्फोटमा पर्नबाट जोगिनुभएको थियो । रूखमा छेलिएर फायरिङ गर्दै प्रतिकार गर्नेक्रममा कोइरालालाई पनि गोली लाग्यो । कालको मुखबाट त्यो बेला उम्किन सफल हुनुभएका थापालाई केहीपछि आफ्नै गाउँ खानी भञ्ज्याङ छेउको पुरोहितको परालको माचमा लुकेको अवस्थामा सेनाले पक्राउ गरेको थियो । ज्वरो र खोकीले थलिनुभएका क्याप्टेनलाई सेनाले हेलिकोप्टरमार्फत काठमाडौँ ल्याई जेल हालेको थियो । उहाँ र विराटनगर बमकाण्डमा समातिनुभएका भीमनारायण श्रेष्ठलाई विसं २०३५ मङ्सिर २६ गते कमला नदी किनारमा गोली हानी हत्या गरिएको थियो । त्यहाँबाट उम्किन सफल भएकाहरूलाई गाउँगाउँबाट समातेर यातना दिइयो । कतिलाई सोलुखोला र सल्लेरीको वनमा लगेर मारियो । केहीलाई ओखलढुङ्गाको ठाडेको जङ्गलमा त केहीलाई भने ओखलढुङ्गाको सुनकोसीघाट, टोक्सेलमा ल्याएर मारियो । उक्त डफ्फामा कति जना संलग्न थिए र कति जना मारिए भन्ने सम्मको स्पष्ट आँकडासमेत पनि नेपाली काँग्रेससँग छैन भन्नुपर्दा लाजमर्दो अवस्था हुन सक्छ ।

घटनास्थलबाट उम्किन सफल हुनुभएका एल्बी गुरुङ र जसधन राईका भनाइका आधारमा यी नामहरू सङ्कलित भएका हुन् । यसरी ठाउँठाउँमा मारिएकाहरूमा– अगममणि राई, शिवकुमार राई खर्तम्छा खोटाङ, मानबहादुर लिम्बू, कृष्णबहादुर लिम्बू सुनसरी, शमशेरबहादुर कार्की, अम्बरबहादुर खड्का, रामकुमार सुनुवार, हर्कबहादुर कार्की, भीमबहादुर कटुवाल, अगमसेर राई, होमसेर राई, टीकाराम राई,लगायतका हुनुहुन्थ्यो ।

ओढारमा मारिएकाहरूको शवसमेत उठाउन परिवारलाई दिइएन । तीन वर्षपछि महेश कोइरालाका बुवा पण्डित तेजप्रसाद कोइरालाले ओढारमा गएर भेटिएका केही हाडखोरको सद्गत गरी सात दिनसम्म त्यहीँ बसेर श्रीमद्भागवत पाठ गरेर आउनुभएको थियो । यसै काण्डको सेरोफेरोमा विसं २०३०÷३१ मा ओखलढुङ्गाका धेरै युवाको हत्या भएको थियो । महोत्तरीको मटिहानीमा केशव कोइरालालाई थाना कब्जा गर्ने क्रममा मारिएको थियो । लीला, ठगी, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई जेल सार्ने बहानामा नख्खुमा मारिएको थियो । पेसल दाहाललाई उहाँको आफ्नै गाउँमा मारिएको थियो । ओखलढुङ्गामा जन्मिएका ५७ जनाले प्रजातन्त्रका लागि विभिन्न समयमा प्राणको आहूति दिनुभएको इतिहासले ओखलढुङ्गालाई चिनाएको छ ।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया