भोक, प्रेम र सम्मान

सञ्जय साह मित्र २०८० माघ ११ गते १:०९ मा प्रकाशित


अलग अलग चित्र हुन् तर एकै ठाउँमा राखेर हेर्दा जीवनको चित्र देखिन्छ एउटा ।

साधुहरु जसलाई जीवनभन्दा पनि भक्ति प्यारो हुन्छ, तिनीहरुको दृष्टिमा र एक भोगी जसको दृष्टिमा र एक अति विपन्न मानिसको दृष्टिमा जीवनको परिभाषा पृथक हुन सक्छ । जीवनको बुझाइ, भोगाइ र दर्शन नै फरक हुन जान्छ । सबै दृष्टिकोणले सामान्य नागरिकको लागि जीवनको परिचय यी तीनभन्दा अलग हुन पुग्दछ । आखिर जीवन हो, बाँच्ने परिवेश अनुसार यसको परिभाषा पृथक हुनु, सोचेको भन्दा भोगेको जीवन पृथक हुनु र जीवनको दर्शन तथा दर्शनको जीवनमा भिन्नता हुुनु अस्वाभाविक होइन ।

उसो भए सफल जीवन कुन होइन त ? सामान्य दर्शनमा हरेक जीवनको आफ्नो इतिहास हुन्छ । हरेक इतिहासले अरु इतिहास भन्दा पृथक गोरेटो निर्माण गरेको हुन्छ । इतिहास त हुबहु फोटो कपी हुनै सक्दैन । उसो भए कुनै पनि जीवन असफल हुँदैन भनिन्छ । यसैले कुन चाहिँ सफल जीवन होइन भन्ने सोच्नु पनि व्यर्थ हुन्छ । असफल हुुनु र सफल नहुनु पृथक भए जस्तै जीवनलाई बाँच्ने कला, जीवनलाई संघर्ष र जीवनलाई प्रेम मान्नेहरु पनि छन् । हुन त जीवनसित हरेक अवस्थामा प्रेम हुन्छ । जसले जीवनसित प्रेम गर्दैन उसले जीवन बुझेको हुँदैन भनिन्छ । जीवनलाई प्रेम गर्न सिक्नुपर्छ र जीवनलाई प्रेम गर्न सक्नुपर्छ ।

हुन सक्छ, भोकले जीवन चल्न दिँदैन तर भोकमाथि विजय प्राप्त गर्न कठिन परिश्रम आवश्यक छ । भनिन्छ, सिद्धार्थ गौतमले ज्ञान प्राप्त गर्नुअघि कैयौँ दिनसम्म एउटा सिमीको दाना खाएर कठिन तपस्या गर्दथे । भोकमाथि विजय प्राप्त गरेका थिए तर सामान्य जीवनमा भोकमाथि यसरी विजय प्राप्त गर्नुभन्दा भोकलाई मार्न उचित समयमा भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ । भोजन नै भोकको एकमात्र औषधि हो । समयमा स्वस्थ्य भोजन शरीरलाई चाहिन्छ । कैयौँ दिनसम्म भोकै बसेर वा राम्ररी खान नपाएर मानिसले संघर्ष नगरेका होइनन् । तर, भोकलाई पनि बुझ्नु पर्छ । भोकलाई बुझ्नु भनेको भोकलाई खेर जान नदिनु हो । साधुहरु जो भोकभोकै तपस्या गर्दछन्, तिनीहरुले भोकमाथि विजय प्राप्त गरी जीवनलाई एक उद्देश्यतिर डोर्याइसकेका हुन्छन् । लक्ष्यतिर लम्किरहेका स्थिर जीवनमा भोकको खासै स्थान हुँदैन, भोजनको खासै महत्व हुँदैन तर फेरि पनि, सामान्य जीवनमा विशिष्ट बन्ने ध्याउन्नमा रहेका जीवनलाई भोकमाथि भोजनको विजय चाहिन्छ ।

जीवनमा भोकको निकै ठुलो महत्व छ । यदि भोक छैन भने जीवन परिचायक बन्न सक्दैन । भोक कस्तो छ र केको भोक छ भन्ने मुख्य कुरो हो । भोजनको भोकको सन्तुष्टि त भोजनलाई नयनले दृष्टिपात गरेदेखि नै सन्तुष्टिको लहरमा तरङ्ग खेल्न थाल्दछ र जिब्रोमा पर्नासाथ आनन्दानुभूति गर्दछ । यदि खाएर पनि नमेटिने भोक हो भने त्यो लक्ष्य हो । लक्ष्यको भोकले भोजनको भोकमाथि विजय प्राप्त गरेको भोक नै वास्तविक भोक हो । परिचायक भोक हो । यस प्रकारको भोक कुनै सामान्य आवश्यकताभन्दा माथि हुन्छ । दैहिक वा जैविक आवश्यकता परिस्थितिअनुसार महत्वपूर्ण हुन्छ तर भोकले त्यसको स्तर निर्धारण गर्दछ । भोकको स्तर निर्धारणले लक्ष्यको निकटतालाई स्पष्ट बाटो देखाउँछ । भोकले नै बाटो तय गर्ने । यसैले भनिएको पनि पाइन्छ – आवश्यकता नै आविष्कारको जननी हो । जहाँ कुनै आवश्यकता हुँदैन, त्यहाँ कुनै आविष्कार हुँदैन, आविष्कारको कुनै महत्व हुँदैन ।

भोक हुनु र भोकमाथि विजय प्राप्त गर्नुमा भोकलाई प्रेम गर्नु पनि निहित हुन्छ । भोक जगाउने हुुनुपर्छ । यदि आफूले आफैंलाई भोक जगाउने हो भने भोकले निश्चित सन्तुष्टि प्राप्त गर्ने हुन्छ । यदि देखासिकी भोक जागेको हो, परिस्थितिले भोको बनाएको, आरोपित भोक हो भने भोकले आफ्नो आयाम विस्तार गर्न सक्दैन । भोक बरालिन सक्छ । बरालिएको भोकले केवल असफल प्रश्नहरु ते¥याउन सक्छ तर कालो बादलमा चाँदीको घेरा देख्न सक्दैन । यद्यपि देखासिकी, पारिस्थितिक र आरोपित भोकमा पनि अभ्यास, लगन, समर्पण, तन्मयता छन् भने नैसर्गिक भोकको स्थान ग्रहण गर्न सक्छ । नैसर्गिक भोकले नै परिस्थितिमाथि विजय प्राप्त गर्ने । यसैले विद्वानहरु भन्दछन् – भोकलाई प्रेम गर्नुपर्छ र भोकलाई सम्मान गर्नुपर्छ । हरेक महान सफलता यही भोकको खाल्टोमा जग बनाएको हुन्छ । भोकको खाल्टो जति गहिरो छ त्यत्ति नै बलियो सफलताको जग निर्माण सम्भव छ । जग जति बलियो हुन्छ, सफलताको भवन उत्तिकै बलियो र विशाल बन्न सक्छ ।

जीवनमा तीन कुरा निकै महत्वपूर्ण छन् : भोक, प्रेम र सम्मान । भोकले बाँच्न सिकाउँछ । भोकले जीवनको मार्ग पहिल्याउँछ । भोकमा विशाल जीवनको मसिनो पीपलको बीउ लुकेको हुन्छ भने प्रेम गर्न भोकलाई चिन्नुपर्छ । भोकलाई चिन्नु भनेको आफूलाई चिन्नु हो र त्यसलाई प्रेम गर्नु भनेको आफूलाई नै प्रेम गर्नु हो । आफूलाई प्रेम गर्नेले अरुलाई प्रेम गर्न सक्छ । जगतलाई प्रेम गर्न सक्छ । तर, भौतिक जीवनमा आफूलाई पनि प्रेम गर्ने एक विपरीत लिङ्गी चाहिन्छ भन्नु पनि हो । यस प्रेममा पनि निस्वास्र्थता र त्यागको परम भावनाका साथै सीमाहीन विश्वास चाहिन्छ अटुट । निरन्तर समर्पण र पारस्पारिक सहयोगको अनन्त शृङ्खलाहीन शृङ्खलाको सर्वव्यापी मिलन नै प्रेम हुनुपर्छ । यसमा दुई ज्यान भए पनि एकले अर्कोलाई गर्ने प्रेममा आफूले आफूलाई नै गरेको भन्ने अनुभूति हुन्छ, भोगाइ हुन्छ, प्राप्ति हुन्छ । उत्साह, उमङ्ग, सफलता वा पीडा समान हुन्छ । पृथकताबोधको सर्वथा अभाव हुन्छ । हो, यस प्रकारको प्रेमले दुई जीवनलाई एक बनाएको हुन्छ र दुवै धन्य भएको हुन्छ । यदि एकमा मात्र यस्तो छ र अर्कोमा यस्तो छैन भने त्यहाँ प्रेमको अभाव छ, आकर्षण छ, स्वार्थ छ । यसले कसैलाई धोका दिइरहेको छ वा यथार्थमा बाँचेको बाक्लो भ्रम छ, कुहिरो छ । जसरी एउटा काग पुसको कुहिरोमा कुनै गाउँतिर उडिरहन्छ र बाटो बिराएको पत्तो हुँदैन किनभने अगाडिको बाटो स्पष्ट हुँदैन र मानवले बनाएको बाटोमा हिँड्ने बानी हुँदैन, त्यसरी नै दिग्भ्रमित भइरहेको हुन्छ । यसले कुनै लक्ष्य प्राप्त गर्न मुस्किल हुन्छ । वास्तवमा प्रेम यस्तो हुनुहुँदैन जहाँ दोहोरो अन्तर्हृदयदेखि समर्पण छैन, त्याग छैन, सम्मान छैन ।

सम्मान सबैको चाहना हुन्छ । पुराना कथा तथा चलचित्रहरुमा देखाइने डाँकुहरुको समूहको समूहको सर्दारलाई पनि उच्च सम्मान हुन्छ । मतलब खराब काम गर्नेले पनि खराबहरुको बिचमा आफूलाई उच्च सम्मान खोज्दछ । र, कहिलेकाही त खराबहरुले राम्रा वा असलहरुको बिचमा पनि आफूलाई सम्मानित ठान्दछ । खराबहरुले अझ खराबलाई सम्मानित दृष्टिकोणले हेर्छ भन्ने पनि सत्य हुन सक्छ । जसरी राम्रोको नजरमा अझ राम्रो मान्छे सम्मानदायक हुन्छ त्यसरी नै खराबहरुको बिचमा झन् खराब मानिस सम्मानदायक हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । यहाँनेर सम्मान सबैलाई चाहिन्छ भन्ने हो । सम्मानपूर्ण जीवनको दुई धारमध्ये सर्वत्र सम्मान र समूहमा सम्मान फरक हुन सक्छ । फेरि सम्मानले काल र स्थानअनुसार पृथकता हासिल गर्न सक्दछ । असल काम गर्नेहरु सर्वथा सम्मान प्राप्त गर्दछन् र सानो घेरामा सम्मानित हुन चाहनेको सम्मान अत्यन्त सीमित समय र स्थानमा मात्र हुन्छ । यो पनि विश्लेषणयोग्य हुन्छ कि सम्मान गर्ने व्यक्तिको हृदय वा मस्तिष्क कहाँबाट सम्मानको भाव उम्रेको छ । यसले किन सम्मान ? यस प्रश्नको उत्तर पनि खोजेको हुन्छ । सम्मानमा प्रेम पनि हुन्छ । मस्तिष्कले गरिएको सम्मानमा कतै न कतै डर वा कुनै स्वार्थ हुन्छ, कुनै लगाव हुन्छ भने हृदयले गरिने सम्मान निस्वार्थ हुन्छ ।

सम्मानको भोक पनि हुन्छ धेरैमा । मलाई अरुले सम्मान गरोस् भन्ने चाहनाले कतिपय मानिस विभिन्न काममा होमिएको हुन्छ देखासिकी गरी । अमुक काममा यसरी सम्मान पाइने रहेछ । यो भोक होइन तिर्सना हो । भोकको सम्मानले सम्बन्धित पेसा वा कर्मप्रति प्रेम उमार्छ । सम्मानको तिर्सनाले प्रेम होइन देखावटीपन उमार्छ । देखावटीपन भनेको बोक्रेपन हो । बोक्रा र गुदी फरक कुरा हुन् । बोक्रा चिल्लो होओस् कि खस्रो, नरम होओस् कि कडा, यसले फरक पर्दैन यदि गुदी काम लाग्ने हो भने । बोक्राको खासै महत्व हुँदैन । कसैले बोक्राको लागि कुनै फल किन्दैनन्, फलको गुदी राम्रो छ भने फल महत्वपूर्ण वा मूल्यवान मानिन्छ । जहाँ भोकमा त्याग हुन्छ, समर्पण हुन्छ अनि सम्मान हुन्छ त्यहीँ तिर्सनामा स्वार्थ हुन्छ । सबैले बुझेका छन्, प्रेमको सुगन्ध कर्ममा फुल्दछ र तिर्सनाको स्वार्थी तिर्खाले तत्काल शीतलता खोज्दछ । सरल बाटो खोज्दछ । इतिहास साक्षी छ, जसले बाटो बनाउँछ उही अमर बन्दछ । बाटोमा हिँड्ने बटुवाहरुको लक्ष्य त लक्ष्यमा पुग्नु हुन्छ । बाटो बनाउने लक्ष्य र बाटोमा हिँड्ने लक्ष्य पृथक हुन्छ । कर्मलाई प्रेम र कर्मलाई सम्मान गर्नेहरु पथका निर्माता बन्दछन् र त्यस्ता पथगामीहरु आइरहन्छन्, गइरहन्छन् । पथ सुगम छ भने पथले पनि हरेक यात्रुलाई सम्मान गरेको हुन्छ । अनुयाहीहरुले पाउने सम्मान यही हो । सम्मानको भोकले मानिसलाई सही बाटोमा डो¥याउन सक्दैन भन्ने होइन । सत्कर्मको धर्मपथमा निरन्तर लाग्ने प्रेरणा दिइरहन सक्छ, अभ्यन्तरमा सफलता र सम्मानको ज्योति बालिरहन सक्छ र यसले कर्मको पथलाई प्रकाशवान पार्दै ऊर्जा दिइरहन पनि सक्छ तर फेरि पनि यो समर्पण, प्रेम र सम्मानको पथ बन्न पुग्दछ ।

दैहिक वा पारस्परिक प्रेममा पनि सम्मानको महत्व अधिक हुन्छ । अर्थात्, प्रेमी–प्रेमिका, पति–पत्नी, गुरु–शिष्य प्रेममा दैहिक, व्यावहारिक, आत्मिक तथा संसारिक प्रेमलाई पृथक अर्थमा अथ्र्याउन सजिलो छ तर सबैमा सम्मानको भाव चाहिन्छ, चाहिन्छ । मातापिताप्रति पनि यदि बोक्रे प्रेम छ भने त्यसले मातापिताको हृदयलाई सन्तुष्ट पार्न सक्दैन । गुरुप्रतिको प्रेमको पनि अवस्था यही हुन्छ । हो, दुई जीउ एक ज्यान हुने जुन प्रेम हुन्छ अर्थात् पति–पत्नी वा प्रेमी–प्रेमिकाबिचको प्रेममा पनि सम्मानको भाव हुनै पर्दछ । एकले अर्कोलाई सम्मान दिनै पर्दछ । सम्मान दिनेले नै सम्मान पाउने हो । सम्मान मात्र खोज्नेले सम्मान पाइरहन मुस्किल पनि हुन्छ । सम्मान पनि लगानी हो । यदि घरमै बढी लगानी छ भने घरमै व्याज पनि पाइन्छ । यदि घरबाहिर बढी लगानी छ भने घरबाहिरबाट बढी ब्याज प्राप्त हुन्छ । सम्मानको बजारमा यो पनि देखिन्छ, जहिले पनि सबैभन्दा बढी भाउ सम्मानकै हुन्छ । सम्मानले नै सम्मानको मूल्य बुझेको हुनाले सम्मानको बजारमा सबैभन्दा मूल्यवान सम्मान हुन्छ । प्रेमको बजारमा प्रेमको शेयरको मूल्य सर्वाधिक भइरहन्छ, प्रेमलाई यदि व्यापार नमान्ने हो भने । र, यदि प्रेमलाई व्यापार मान्ने हो भने बजारमा पाइने किनबेचको साधनभन्दा निकै माथि प्रेमलाई राखेर तिनको मूल्य तोकिएको पाउनुपर्छ, अन्यथा नबुझिने रहेछ भाउमा प्रेम ।

उद्देश्यप्रतिको अनन्त भोक, भोक प्राप्तिमा अनन्त प्रेम र प्रेममा अनन्त समर्पणले धेरै असम्भवलाई सम्भव बनाउन सक्ने रहेछ । उसको अगाडि असम्भव भन्ने शब्दले साँघुरो अर्थ दिने रहेछ । आज इतिहास र वर्तमानमा सुनिने वा पढिने धेरै नामहरुमा यी तत्व पाउन सकिन्छ । घरमा टुकी बाल्ने क्षमता नभएको मानिस सडकको पोलमुनि बिजुलीमा पढेर संसारलाई उज्यालो देखाउने मानिस बनेका छन्, सहरमा कोही सहारा नहुँदाको अवस्थामा बेइमानीको आरोप लाग्दा शरणदातालाई परित्याग गरेर अन्जान गल्लीमा भट्किने इमानदार युवक देशकै दृष्टान्त बनेका छन्, अति सम्मानित पदमा पनि कुनै गरगहना नलगाउने अति सामान्य व्यक्तिसरह बनेका उदाहरणीय महिलाहरु छन् । समयलाई चिनेर ऊसित परिचित बन्दै आफैँसित समयलाई डो¥याउनेहरुको गाथाले दिने ऊर्जाको अन्तर्यमा साँच्चिकै भोक, प्रेम र सम्मानको जुन सम्मिलन पाइन्छ, तिनीहरुको अध्ययनले यो अनुभव हुन्छ कि जीवनलाई सफल बनाउनको लागि यी तीन अत्यन्त विशिष्ट प्राप्तिहरु हुन् । जुन जीवनमा भोक छैन, जुन जीवनमा प्रेम छैन र जुन जीवनमा सम्मान छैन, ती जीवनहरुमा धेरै कुरा नभएको फिक्का वा खल्लो हुन्छ । त्यस जीवनमा उपलब्धि या त सरल हुन्छ वा उपलब्धि ने हुँदैन । उपलब्धिको लागि त भोक, प्रेम र सम्मान चाहिन्छन् नै ।

कहाँ भोक छ, कहाँ प्रेम छ र कहाँ सम्मान छ ? भोक, प्रेम र सम्मानलाई एकीकृत गर्न सकिन्छ कि सकिँदैन ? एउटा भोक, अर्को प्रेम र तेस्रो सम्मानलाई पूर्णतया पृथक राखेर हेर्न सकिन्छ ? जीवनमा सन्तुलनको संयोग मिलाउने हो वा संयोगले मिल्ने हो ? व्यवस्थित मिलनको लागि कठिन संघर्ष वा कठोर तपस्या चाहिन्छ । कुनै साधुको तपस्या भन्न खोजिएको होइन, कर्ममा एकनिष्ठापन र कठिन समर्पणलाई नै तपस्या भनिएको हो । कठिन तपस्याले त्यो सम्पत्ति आर्जन गर्न सकिन्छ जसलाई देखेर धेरैको मनमा लोभ जाग्न सक्छ । मनमा आकर्षण उत्पन्न सक्छ । आकर्षणभित्र प्रेम उम्रिन सक्छ र यी सबैले कालको परिधि तथा भूगोलको सीमालाई नाघेर व्यापकता पाउन सक्छ । यस यथार्थलाई निकै कमले बुझेका हुन्छन् । निकै कमले बुझ्नुको यो अर्थ पनि हो कि अझ धेरै कमले आफूमा कर्मको भोक, कर्पप्रति प्रेम र कर्मप्रति सम्मान उमारेका हुन्छन् । अनि आफूलाई नै प्रेम र सम्मान गर्न जानेका हुन्छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया