काठमाडौं, माघ ९ गते ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन सेवा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति पुष्पकमल दहाल ‘प्रचण्ड’ समक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पेस गर्नुभयो ।
प्रतिवेदन पेस गर्दा सेवा आयोगका तर्फबाट अध्यक्ष डा. बरालसहित सदस्य प्रा. डा. अञ्जना सिंह, प्रतिष्ठानका सचिव तथा सेवा आयोगका सदस्यसचिव डा. रविन्द्रप्रसाद ढकाल र प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत दिपेन्द्रराम भण्डारी उपस्थिति रहेको थियो । प्रज्ञा प्रतिष्ठान सेवा आयोग गठन भएपछि कुलपति समक्ष पेस भएको यो दोस्रो वार्षिक प्रतिवेदन हो । गत वर्ष आर्थिक वर्षमा पनि २०७८/०७९ को वार्षिक प्रतिवेदन कुलपति समक्ष पेस भएको थियो । प्रज्ञा प्रतिष्ठान सेवा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा सेवा आयोगले वर्ष दिनमा गरेका काम, पदपूर्तिको विवरण र अवस्था, प्रज्ञा प्रतिष्ठानलाई उपलब्ध गराइएको राय/परामर्श, सेवा आयोगको बैठक र गरिएका निर्णयहरू, सेवा आयोगले निर्माण गरेका कार्यविधिहरू, कार्यशाला, प्रतिरक्षा गरिएका मुद्दाहरूको विवरणसहित प्रज्ञा प्रतिष्ठान सेवा आयोगले हासिल गरेका उपलब्धिहरू, भोगेका चुनौतीहरू र चुनौती सामना गर्न अपनाउनुपर्ने सुझाव भावी दिशाका रूपमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा भएको पदपूर्ति लगायतको विस्तृत विवरणहरू एघारओटाअनुसूचीहरूमा दिइएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा १८ (५) सेवा आयोगको अध्यक्षले सेवा आयोगको वार्षिक प्रतिवेदन कुलपतिसमक्ष पेस गर्नेछ र कुलपतिले सो प्रतिवेदन विचारार्थ सभामा प्रस्तुत गर्नेछ ।
सभाले सो प्रतिवेदनमाथि विचार गरी सेवा आयोगलाई आवश्यक निर्देशन दिन सक्नेछ भन्ने उल्लेख छ । सोही कानुनी प्रावधानअनुसार प्रज्ञा प्रतिष्ठान सेवा आयोगले आफूँले वर्ष भरी गरेका कामको प्रतिवेदन कुलपति समक्ष पेस गर्ने गर्छ । प्रज्ञा प्रतिष्ठानका कुलपतिसमक्ष पेस भएको यो वार्षिक प्रतिवेदन आगामी प्रज्ञा सभामा प्रस्तुत भई सेवा आयोगका काममा थप प्रभावकारिता आउने विश्वास गरिएको छ ।
प्रतिक्रिया