राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृह जिल्लामा विकासमा सक्रियता देखाउदै

शेरबहादुर राई :(गोरखा पत्र अनलाइन बाट) २०८० माघ ९ गते ३:२८ मा प्रकाशित

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह जिल्ला ओखलढुङ्गाको विकासमा सक्रियता बढाउनुभएको छ। २०७४ को निर्वाचनमा पराजित हुँदा जिल्लाको विकासले हारेको अभिव्यक्ति दिनुभएका सभापति खतिवडाले आफू निर्वाचित भएपछि जिल्लाको विकास र जनताको समस्या बुझ्ने गर्नुभएको छ।

विभिन्न क्षेत्रका नागरिकसँग बाक्लो भेटघाटमा जुट्नुभएका सभापति खतिवडा गाउँगाउँमा पुगेर समस्या बुझ्दै तत्काल समाधान खोज्न लागि पर्नुभएको छ । राजधानीमा समितिको बैठक र संसद् नचलेको समयमा सभापति खतिवडा जिल्लावासीका माझ आउने, चुनावी वाचा पुरा गर्ने र अधुरा विकासलाई पूर्णता दिने काममा लाग्नुभएको छ । उहाँले औपचारिक कार्यक्रमका लागि आयोजकबाट निमन्त्रणा भएर जिल्ला आउँदा दर्जनौँ अनौपचारिक भेटघाट गरेर नागरिक सरोकारका विषयमा छलफल गर्ने गर्नुभएको छ ।

देशको निकास र जिल्लाको विकास सँगसँगै अघि बढाउन आफूले सक्दो पहल गरिरहेको सभापति खतिवडाले बताउनुभयो । “सङ्घीय संसदमा समितिको सभापतिका हैसियतले देशको निकासका लागि र ओखलढुङ्गाको सांसदका हैसियतले जिल्लाको विकासका लागि रातदिन खटिरहेको छु । जिल्लावासी जनताका बिचमा आउँदा समस्या बुझ्ने र समाधान खोज्ने गरेको छु,” सभापति खतिवडाले भन्नुभयो, “थुप्रै रुग्ण प्रकृतिका अधुरा आयोजनाहरू पुरा गर्नुछ । नयाँ गौरवका योजनाहरू ल्याएर समृद्ध ओखलढुङ्गा निर्माणको लक्ष्य छ । त्यो भन्दा पहिला गाउँ गाउँमा बिजुली, पानी, सिँचाइ जस्ता आधारभूत सेवा सुविधा पुर्‍याउनुपर्ने छ ।”

खतिवडाले गाउँगाउँमा पुग्दा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला र अगुवा सबैलाई एकैठाउँ बोलाएर सामूहिक भेट गर्ने, नागरिकको समस्या सुन्ने र समाधान गर्ने पहल गर्नुभएको छ । साघुँटार–सिलौरीघाट सडक कालोपत्रे, लिखु एकवार, मोलुङ एकवार, दुधकोशी एकवार सडक निर्माण, सिन्धुली फिकल–सुनकोशी पक्कीपुल, पहिरेखोला मोटोरेवल पुल लगायत जिल्लाको गौरवका योजनाहरू अघि बढाउन पहल गरिरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सभापति खतिवडाले बताउनुभयो ।

यसका साथै उज्यालो ओखलढुङ्गा अभियानलाई पुरा गर्न बजेट व्यवस्थापनको काम भइरहेको उहाँको भनाइ छ । जिल्ला आउँदा ठेकेदारका कारण लामो समयदेखि अलपत्र परेका रुग्ण योजनाहरू अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

प्रतिक्रिया