इन्दिरा छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न!

इनेप्लिज २०८० माघ ४ गते ०:५५ मा प्रकाशित

काठमाडौँ,


टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० पुस २८ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-८९” सम्पन्न भएकाे छ। “छन्दमा टुक्का अभ्यासशाला” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १५ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत इन्दिरा छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई इन्दिरा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: इन्दिरा छन्द :::::
~ गण : न र र लघु गुरु
~ गण सङ्केत : १११ २१२ २१२ १२
~ ६ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका इन्दिरा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
कहर झाँगियो हेर देशमा
सकल मौन छन् भ्रष्ट केसमा।
२.
शिशिर मात्तियो ताडना दियो
हिउँ खसाउँदै होस नै लियो ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
मन त बाँधियाे जादु डाेरले
अलग पार्छ त्याे कामचाेरले ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
रहर खानको हुन्छ भोकमा
भजन गान को सुन्छ लोकमा ?
२.
समय काल यो बित्छ के गरी
नयन काम नै छोड्छ हे हरि ।
३.
सरल मन्द भो वृद्ध पाखुरा
असल ज्ञान को सुन्दछन् भुरा ?
✍️ गुणनिधि घिमिरे
अमेरिका
[४]
१.
नयन कोपिला, आँसुमा परी
विषय भोकले, रातमा मरी ।
२.
कुलत जालको, जालमा पसी
रमण कालको, हालमा फसी।
३.
फगत एउटा, जिन्दगी छ यो
समय रातको, पातकी भयो।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी
[५]
असल ज्ञानको रोसनी छरौँ
सफल कामको थालनी गरौँ ।
✍️ बिके मुखिया
दार्जिलिङ भारत।
[६]
१.
सफल जिन्दगी रम्छ मोजमा
सहज रोज नै जम्छ भोजमा।
२.
सहर  गाउँमा  डर्छ  मानव
असल ठान्दछौँ ठर्छ दानव ।
३.
अधम दुष्टले देश मार्दछन्
गरिब मारने स्वार्थ हार्दछन् !
✍️ विवश पारदर्शी
झापा
[७]
१.
मनुज आखिरी बापती भयो
समय कर्मको खेलमा गयो ।
२.
किन अथाह त्यो वेदना दियो
सरल भावमा कालले लियो ।
३.
कमल फूलझैँ फुल्नु लौ भनी
सफल हुन्छ जो कामले धनी ।
✍️ आर्त अकुलीन
कैलाली
[८]
१.
मनुज खुल्छ ती सिर्जना भरी
छ सिप भेलझैँ साधना गरी ।
२.
विविध काव्यका अंश साथमा
भर न ज्योति पीयूष माथमा ।
३.
नलिनु द्वेष ईर्ष्या  हुने खती
मुलुक सक्छ यस्ता बढे अति ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[९]
असल भारको ख्यालमा रवि
घुलन मेलको  बाहुमा छवि ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१०]
सहर उक्लिएँ, एक पाइला
रहर बैँसले, बन्न कोकिला।
✍️ म्यामराज राई
भोजपुर ।
[११]
अति छ पौषको शीतको धरा
गरिब त्यो दशामा छ है बरा ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१२]
गगन माथि त्यो तैरिदै गयो
उडन ज्ञानको पारखी भयो ।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[१३]
उठन जिन्दगी पीरमा भयो
समय कालको हातमा गयो ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[१४]
सकल लोकमा चेतना छरौँ
सफल कर्म होस् कामना गरौं ।
✍️ दुर्गा भट्टराई
मोरङ
[१५]
असल ज्ञानले टाउको भरौँ
प्रगतिको ठुलो सागरै तरौँ ।
✍️ श्री कृष्ण धामी
बझाङ

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया