प्यारालाइसिस भएकी आमा र श्रीमतीलाई छाडेर कतारबाट धेरै कमाउन रसियन आर्मी बन्न गएका सोनुको लाससम्म आएन

इनेप्लिज २०८० माघ २ गते ३:३५ मा प्रकाशित

घरमा प्यारालाइसिस भएकी आमाको सेवा गर्न श्रीमतीलाई छाडेर कतार गएका प्यूठानका सोनु सुनार (सोमेस) त्यहाँभन्दा धेरै कमाउन परिवारलाई सूचना नदिइ रसिया गएका थिए । तीन महिनाअघि त्यहाँको सेनामा भर्ती भएका उनी पहिलो महिनाको तलब बुझेको खुशीयाली घरमा पुराउन पाएनन् ।

रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं ४ काठेवरका २८ वर्षीय सोनु (सोमेस) सुनारको युक्रेन-रुस युद्धमा मृत्युु भएको हो । रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट तीन महिनाअघि रुस गएर त्यहाँको सेनामा भर्ती भएका थिए ।

उनीसँगै रसियाको सेनामा भर्ती भएर लडाईंमा घाइते भएका बर्दियाका साथीले अहिले सोनुको परिवार र छिमेकीलाई घटनाको खबरका विषयमा अपडेट गराइरहेका छन् ।

सोनुका बुबा कालु सुनार भारतमा रोजगारीका लागि बस्ने गर्दछन् भने घरमा प्यारालाइसिस भएकी सोनुकी आमा, श्रीमती र ५ वर्षीय छोरा अनि उनका २२ वर्षका भाइ मात्र रहेका छन् । सबै परिवारको मुख्य स्रोतका रुपमा रहेका सोनुको यो अप्रत्याशित खबरले परिवारलाई ठूलो बज्रपात आइलागेको र परिवारको मियो गुमेको उनका छिमेकीहरु बताउँछन् ।

नेपालबाट वैधानिक रुपमा नगएकाले अहिले सोनुको मृत्यु भएपनि गृह मन्त्रालयले आधिकारिक खबरसम्म दिन सकेको छैन । सोनुका छिमेकी खगेश्वर थापाका अनुसार उनीसँगै गएको बर्दियाका साथीसँग आफू निरन्तर सम्पर्कमा रहेका र ती साथी पनि सो लडाईंमा घाइते भएर अस्पतलातमा उपचार गराइरहेका छन् ।

https://www.youtube.com/watch?v=IVrdByW8a0I

प्रतिक्रिया