१० हजारभन्दा बढी दर्शकहरू एकै ठाउँमा

इनेप्लिज २०८० पुष २७ गते २२:३० मा प्रकाशित

“कन्दरा” ब्यान्डले प्रस्तुत गर्‍यो यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम

पोखरा, २७ पुस २०८० – नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश “पहिला घरदेश, अनि परदेश”को नारा
लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो
साङ्गीतिक कार्यक्रम समापन गरेको छ । “पहिला घरदेश, अनि परदेश”को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण
कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनि एल्फा स्क्वायर (ए.एस.क्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित आजको कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय एकता दिवसको दिनलाई लक्षित गरेर राष्ट्रिय मैत्री सन्देशको संवाहकका रूपमा “पहिला घरदेश, अनि परदेश”को
सन्देशलाई धेरैभन्दा धेरै स्रोता र दर्शकहरूसामु पुर्‍याएर आन्तरिक पर्यटनको प्रवर्धन गर्ने कन्दरा ब्यान्डको पहिलो
कार्यक्रम नै निकै बृहत् र प्रभावकारी रहेको छ । यसपछि नेपालका सातैवटा प्रदेशमा कार्यक्रम गर्ने घोषणा गरिसकेको
एल्फा स्क्वायर (ए.एस.क्यु) ले यो कार्यक्रमको सफलताबाट अबका कार्यक्रमहरूमा कन्दरा ब्यान्डको राष्ट्रिय साङ्गीतिक टुरर राष्ट्रिय अभियानलाई पूरा गर्ने हौसला प्राप्त भएको जनाएको छ ।

पोखरा पर्यटन परिषद्‌को आयोजनामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, तथा
अन्य सरकारी निकायहरूले प्रवर्धन गरेको यो कार्यक्रमले आन्तरिक पर्यटनको राष्ट्रिय नारा कन्दरा ब्यान्डबाट नै प्रवर्तन
गरेको छ । यसका साथै कन्दराका गायक विवेक श्रेष्ठकै अनुसार, “पोखरामा जन्मिएको कन्दरा ब्यान्ड आजको यो
कार्यक्रमबाट पुनर्जन्म लिएको छ । यही भावना, यही सोच, र यही आकाङ्क्षा लिएर हामी हरेक प्रदेशमा जानेछौं, हरेक
पोखरेलीलाई नेपाल घुमाउनेछौं, र जहाँ जानेछौं त्यहाँ पनि नेपाललाई मनैदेखि माया गर्ने वातावरण बनाउनेछौं ।

प्रतिक्रिया