लामो समयसम्म पदमा रहेका नेपालका प्रधानमन्त्री भिमशेन थापा किन सेरियर मरे

बेद प्रसाद घिमिरे २०८० पुष २१ गते १२:५४ मा प्रकाशित

बेद प्रसाद घिमिरे-भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका प्रधानमन्त्री थिए। उनी वि.सं. १८६३ देखि १८९२ सम्म नेपालको प्रधानमन्त्रीका रुपमा काम गरेका थिए। त्यतिबेला उनी राजा रणबहादुर शाहका शाही सचिव तथा सल्लाहकार थिए, जसलाई हजुरिया भनिन्थ्यो। त्यसपछि नै भीमसेन थापा राजनीतिमा हर्ताकर्ता भए।

वि.सं. १८५७ मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए। यसै सम्बन्धका कारण रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी पदमा नियुक्त गरेका थिए। त्यतिबेला काजी पदलाई मन्त्रीसरह मानिन्थ्यो। वि.सं. १८६३ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भएपश्चात् भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार बनेका थिए। तात्कालीन अवस्थामा मुख्तियार प्रधानमन्त्रीसरहको पद थियो।

भीमसेन थापाको प्रधानमन्त्री कालमा नेपाल साम्राज्यको निकै विस्तार भएको थियो। त्यसबेला नेपालको सीमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म पुगेको थियो। तर, सन् १८१४–१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज–नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इण्डिया कम्पनीलाई बुझाउनु पर्‍यो। यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिस साम्राज्यको अर्धऔपनिवेशिक राज्य बन्न पुग्यो।

वि.सं. १८७३ मा युवावस्थामै राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु भयो। उनका उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको, रणबहादुर शाहकी कान्छी श्रीमती रानी ललित त्रिपुरा सुन्दरी र केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहिरहे। उनले नेपालको भूमि रक्षार्थ आफ्नो बलबुताले भ्याएसम्मको मेहेनत गरेका थिए।

वि.सं. १८७३ मा उनको ठूलो समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्य तथा राजा राजेन्द्र विक्रम शाह युवावस्थामा पुगेपछि भीमसेन थापाको शक्ति स्थिर भएको थियो। मुख्यत पाण्डेहरू भीमसेन थापालाई दामोदर पाण्डेको वि.सं. १८६१ मा भएको हत्याको योजनाकार भएको आरोप लगाएका थिए। त्यही आरोप र दरबारियाहरुको किचलोका कारण वि.सं. १८९६ मा भीमसेन थापा जेल हालिए र उनले त्यहीँ आत्महत्या गरे। तर, उनको मृत्युपश्चात् पनि आन्तरिक कलह शान्त भएन र त्यसको फलस्वरूप देशमा जहाँनियाँ राणा शासनकालको उदय भयो।भीमसेन थापाको जन्म वि.सं. १८३२ भदौ महिनामा गोरखाको बोर्लाङको पीपलथोक गाउँमा बगाले थापा क्षेत्री परिवारमा भएको थियो। अमरसिंह थापा सानुकाजी र सत्यरूपा मायाका जेठा छोरा थिए। उनका हजुरबुवा नेपाल एकीकरणकालका काजी वीरभद्र थापा थिए। उनी बगाले थापा क्षत्री कुलका थिए। उनका भाइहरू सहोदरमा नैनसिंह थापा, अमृतसिंह थापा, बख्तावर सिंह थापा, रणवीर सिंह थापा तथा सौतेनीमा रणजावर सिंह थापा र रणबम सिंह थापा थिए।

ब्रतबन्धको क्रममा सर्वप्रथम भीमसेन थापाको भेट युवराज रणबहादुर शाहसँग भएको थियो। त्यसबेला उनको उमेर १० वर्षको थियो। एकै उमेरमा शाह र थापाको मित्रताको आधार त्यसै बेला तयार भएको हो। उनको बाल्यकाल गोर्खामा निकै सुखमय रुपमा बितेको थियो। उनको पढाइको व्यवस्था त्यस बेलाको परिस्थितिअनुरुप मिलाइएको थियो।

वाराणसीको बसाइका क्रममा उनले बेलायती साम्राज्यको नजिकबाट अध्ययन गरे। बेलायती ‘फुटाउ र शासन गर’को नीति अनुसार अङ्ग्रेजले भारतीय राज्यहरू हडपेको तथ्य बुझे। अङ्ग्रेजहरू सर्वप्रथम व्यापार गर्ने बहानामा राज्यमा शरण माग्ने र राज्यको सम्पूर्ण ज्ञान प्राप्त गरेपछि आक्रमण गर्दा भारत अङ्ग्रेजको दास भन्न पुगेको तथ्य उनले थाहा पाए। तर, राजा रणबहादुर विलासितामा डुबेका थिए र एक बनारसी साहुको थुप्रो ऋण लिई नितर्दा देशकै बदनाम भएको थिए। भीमसेनले चाहिँ अङ्ग्रेजबारे जानकारी चाहार्दै हिँडेका थिए। उक्त समयमा मुलकाजी दामोदर पाण्डे अङ्ग्रेजबारे सम्भवतः अनविज्ञ भई वाणिज्य सन्धि गर्दै थिए। भीमसेनले जानकारी प्राप्त गरेपछि वाणिज्य सन्धि खारेज गर्न नेपाल अविलम्ब पुग्नुपर्ने स्थिति देखे।राजा रणबहादुर शाहसँग नेपाल फर्केपछि भीमसेन थापा पहिले नेपालका मन्त्री र पछि प्रधानमन्त्री भए। त्यसपछि उनले ३१ वर्षसम्म ६ राजाहरूको अधिनमा प्रधानमन्त्रीको रूपमा काम गरे। उनका सहयोगी (डेपुटी) काजी रणध्वज थापा थिए। उनले सन् १८१६ मा इस्ट इण्डिया कम्पनीविरूद्ध युद्धको घोषणा गरे। विभिन्न कारणहरूले गर्दा त्यस युद्धमा नेपालको हार भयो। युद्धपछि पनि उनले १३ वर्षसम्म शासन गरे। त्यस बेलामा उनले थुप्रै सैनिक, कानूनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे। सैनिकलाई युरोपेली शैलीमा आधुनिकीकरण गरियो। थुप्रै सामाजिक कुरितिहरू हटाइयो। सार्वजनिक प्रशासनमा सुधारहरू गरे।धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए। विश्वका विभिन्न भागमा प्रभुत्व बढाउँदै गएको बेलायती साम्राज्यवादका विरूद्ध लड्न एसियाली जनएकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए। पूर्वजहरूले शुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर भीमसेनले नेपालको सीमालाई चारैतिर बढाए। वि.सं. १८६२ मा काजी र त्यसपछि मूलकाजी र जनरल भएका भीमसेन थापाले साम्राज्यवाद विरुद्ध अनवरत सङ्घर्ष गरेर नेपालको सीमाना सतलजसम्म पुर्‍याएका थिए, यिनकै पालामा पाल्पालाई नेपालमा गाभिएको थियो। सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूवात, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए।भीमसेन थापाले सामाजिक सुधारका क्षेत्रमा थुप्रै काम गरेका थिए। उनको कार्यकालमा कमारा कमारी राख्न नपाउने व्यवस्था, नेवारहरूको चाडमा खर्चको सीमा तोक्ने काम, नापतौलमा सुधार र व्याजदरमा निर्धारण गर्ने काम, हुलाकको व्यवस्था, विवाह प्रथामा सुधार, जस्तैः सानिमा बेहोर्ने प्रथा, जग्गालाई हले, पाटे, कोदालेको आधारमा अभिलेख राख्ने व्यवस्था लगायतका सुधारका काम भएका थिए।

प्रशासनिक सुधारका क्षेत्रमा पनि उनले घुस लिन नपाउने व्यवस्था, राहदानी वितरणको व्यवस्था, सेना, जर्नेल, कर्नेल, क्याप्टन आदि पदको सिर्जना, सेना, प्रहरीलाई आधुनिक प्रशिक्षण दिने व्यवस्था र छाउनी एवं ब्यारेकको व्यवस्था जस्ता कामहरु गरेका थिए। उनका कामले नेपालको प्रशासनिक क्षेत्रमा संस्थागत सुधारको जग बसालेको थियो।

वि.सं. १८९४ असार ५ गते भीमसेन थापाबाट फौजी तैनाथी खोसियो, अर्को महिना उनलाई पदबाट हटाइएको थियो। थापालाई पदच्युत गरिएपछि पाँडे समूहका नाइके रणजङ्ग पाण्डेले मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न लागे। भारदारहरूबीचको गुटबन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौं यातना दिई थुनामा राखियो। उनका विरोधीहरू पाण्डे तथा बस्न्यातहरूका कारण उनले पदत्याग गरे।

वि.सं. १८७१–७२ मा अङ्ग्रेजसँगको युद्धमा पराजित र १८७३ मा भएको सुगौली सन्धिपछि नेपालको भू–भाग गुमेको अपजस पनि उनकै थाप्लोमा हालियो। अङ्ग्रेजसँग लड्नु ठीक थियो अथवा थिएन त ? भीमसेन थापा जीवित छँदै विवाद थियो, जुन अहिलेसम्म पनि छ। तर अवस्था युद्ध रोकेर रोक्न नसकिने स्थितिमा पुगिसकेको तर्क पनि कमजोर छैन। यो युद्धपछि भीमसेन देशलाई कसरी फेरि बलियो बनाउने भन्नेतिर लागे।

वि.सं. १८९६ श्रावण १६ गते। कसैले सोचेका थिएनन् कि मुख्तियारका रूपमा ३१ वर्ष देश चलाएका थापाको मृत्यु यति दुःखद हुनेछ। तर, ग्रिक नाटकहरूभन्दा पनि बडो वियोगान्त बन्यो भीमसेन थापाको अन्त्य। महारानी साम्राज्यलक्ष्मीका नाबालक छोरा देवेन्द्रविक्रमलाई विष खुवाएर मारेको आरोपमा थापा नजरबन्दमा परेका थिए। नजरबन्दमै उनले सुनेछन्, आफ्नी कान्छी श्रीमतीको हुर्मत लिइँदै छ। स्वाभाविक रूपमा उनी स्तब्ध भए। थापाको घोर बदनामी हुँदै थियो, उनी त्यसलाई जिउँदै हेर्न र सुन्न चाहँदैनथे। उनलाई भीषण आघात पुगेको थियो।

वि.सं. १८९६ साउनमा थापाले आफ्नो जीवनलाई लिएर एक अप्रत्यासित आत्महत्याको निर्णय गरे। निगरानीमै राखिएको कोठामा उनले शिशाको झ्याल फोरेर तेहि शिशाको टुक्राले सेरिएर मृत्यु आत्मसात् गर्ने कदम चाले। केही इतिहासकारले भीमसेन थापाले काँचले सेरिएर आत्महत्याको प्रयास गरेको पनि भनेका छन्। उनले विह्वल भई रन्थनिएर झ्यालको ऐना फोडी त्यसैको टुक्राले आफ्नै गलामाथि प्रहार गरेको कतिपय इतिहासकारको दावी छ।

आत्महत्या प्रयासको समाचार राजा राजेन्द्र र महारानी साम्राज्यलक्ष्मीसम्म पुग्यो। उनीहरू अझ क्रुद्ध भए। तत्काल उपचार भएको भए उनी सजिलै बाँच्ने थिए भनिन्छ। राजा रानीकै आदेशमा रगतले लतपतिएको उनको अर्धचेत शरीर विष्णुमती नदीको बगरमा फ्याँकियो। यही स्थितिमा उनी नौ दिनसम्म बाँचे। वर्षादको समय थियो, त्यसै स्थितिमा प्राण त्यागका लागि छटपटाइरहे। अन्ततः साउन १६ मा मृत्युवरण गरे।

(बिभिन इतिहास अध्ययन र खोज बाट)

प्रतिक्रिया