नायब बडागुरुज्यू ज्ञानेन्द्र शाह लाई सिंहासनमा राखेर श्रीपेच समातेरै बसेका रहेछन

बेद प्रसाद घिमिरे २०८० पुष २० गते १२:२५ मा प्रकाशित

बेद प्रसाद घिमिरे : वि.सं. २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र शाह दोस्रोपटक मुलुकको राजा बनेका थिए । टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्दा उनले बेलाबेला आफ्ना दुवै हातले श्रीपेच समातेर मिलाएजस्तो देखिन्थ्यो । ००७ सालमा उनले पहिलोपटक श्रीपेच पहिरेको देखेका हाम्रा लागिचाहिँ उनको त्यो व्यवहार अनौठो थिएन । बरू, नाबालक अवस्थामा श्रीपेच लगाएको घटनाले उनलाई झस्काएको थियो कि !
तत्कालीन शाहज्यादा ज्ञानेन्द्र सानै उमेरदेखि बोलक्कड र चलाख थिए । टाउको हल्लाउने र आफूलाई गम्भीर भावमा देखाउने गर्थे । उनको त्यस्तो व्यवहार मोहनशमशेरले सिंहदरबारमा भित्र्याएदेखि नै देखिएको हो ।

२१ कात्तिक ००७ मा सपरिवार भारतीय दूतावासको शरणमा गएका राजा त्रिभुवन २४ कात्तिकमा भारतीय सुरक्षा फौजको विशेष निगरानीमा विमानस्थल हुँदै नयाँदिल्ली प्रस्थान गरे । उनी भारत जानुअगावै श्री ३ मोहनशमशेरले मामाघर बागदरबारमा छाडिएका राजा त्रिभुवनका माहिला र कान्छा नाति ज्ञानेन्द्र र धीरेन्द्र शाहलाई सिंहदरबारमा ल्याए । कारण थियो, नाबालक ज्ञानेन्द्रलाई गद्दीमा बसालेर राजकाज चलाउने उनको अठोट ।
दुवै शाहज्यादालाई सिंहदरबारमा ल्याइसकेपछि २२ कात्तिकमा भारदारी सभा डाकियो । त्यो, सेनातर्फका मेजरदेखि माथिका र कर्मचारीतर्फ मीरसुब्बादेखि माथिका केही गन्यमान्यको मात्र उपस्थिति रहेको सभा थियो । त्यही सभाले ‘नेपालको कानुन विधानको अपहेलना गर्दै प्राइममिनिस्टरको राय नलिई विदेशी दूतावासमा शरण लिएकोमा’ राजा त्रिभुवनलाई राज्यच्यूत गरिएको घोषणा गर्‍यो । साथै, परम्परा अनुसार ‘राजगद्दी खाली राख्न नहुने भएकाले नाबालक ज्ञानेन्द्रलाई राजगद्दीमा आसिन गराउनु उयुक्त हुने’ ठहर पनि गर्‍यो ।

मोहनशमशेरले त्यो सभालाई सम्बोधन गर्दै देखावटी या औपचारिकताका लागि ‘सबैको के राय सल्लाह छ ?’ भनेर सोधेका थिए । किनभने, नाबालक ज्ञानेन्द्रलाई राजा बनाउने मनसुवाले नै मामाघरमा छोडिएका दुई शाहज्यादालाई दरबारमा भित्र्याइएको थियो । सिंहदरबारको दोस्रो तलाबाट ठूलठूलो स्वरमा ‘हामीले यस्तो निर्णय गरेका छौँ, सबैको के राय छ’ भनेको सिंहदरबारको पहिलो चोकमा समेत प्रस्टसँगै सुनिएको थियो । धेरैले ‘त्यसै गर्नुपर्छ सरकार !’ भन्दै होमा हो मिलाए । तर, गयाप्रसाद शाहले फरक मत प्रस्तुत गरे । उनले ‘एकपटक भारतीय दूतावासमा कसैलाई पठाएर सरकारको फिर्ती सवारीका लागि बिन्ती गर्नु मनासिब होला कि’ भनेका थिए ।

तर, उनको कुरा कसले सुन्ने ? राजा त्रिभुवनलाई गद्दीच्यूत गरी ज्ञानेन्द्रलाई राजा बनाउन एकछिन पनि ढिला गर्नु हुँदैन भन्ने मेघराजशमशेरहरूका अगाडि शाहको आवाज फिका साबित भइहाल्यो । त्यसबीचमा मोहनशमशेरले भारतीय दूतावासमा छोरा विजयशमशेरलाई पठाएर राजा त्रिभुवनलाई फिर्ता बोलाउने प्रयास नगरेका पनि होइनन् । तर, राजाले विजयशमशेरलाई भेट्नै चाहेनन्, यस घटनाले पनि मोहनशमशेर रिसले आगो भएका थिए ।
२३ कात्तिकको बिहान राजकाजसम्बन्धी जरुरी काम गर्नुपरेकाले भाइ–भारदार र सम्बन्धित कर्मचारीलाई सिंहदरबारमा उपस्थित हुन विशेष प्रकारको उर्दी जारी गरिएको थियो । हामी त्यस दिन सबेरै सिंहदरबार पुग्यौँ । अघिल्लो दिन नै पाटनका सूचीकार बोलाएर नाबालक ज्ञानेन्द्रका लागि तासको सेरबानी र त्यही सुहाउँदो सुरुवाल सिलाउन लगाइएको थियो । गद्दी आरोहणमा जाने बेला ज्ञानेन्द्र त्यही पोसाकमा थिए।

मोहनशमशेर आफ्नो बैठककक्षबाट तल पहिलो चोकमा झरे र ज्ञानेन्द्रलाई चोर औँला समाउन लगाएर डोर्‍याउँदै सिंहदरबारको चोकमा ल्याए । ज्ञानेन्द्रका लागि पहिले नै बग्गी सजाएर राखिएको थियो । त्यही बग्गीमा पहिले मोहनशमशेर चढे र हात दिएर ज्ञानेन्द्रलाई माथि ताने । सेनाले सलामी दियो । मोहनशमशेरले सलामी ग्रहण गर्ने तरिका पनि त्यहीँ सिकाए । त्यसपछि दुवै जना ‘सेरेमोनियल प्रोसेसन’का साथ त्यही बग्गीमा सँगसँगै बसेर हनुमानढोकातर्फ लागे । हामी पनि सवारीको पछिपछि हनुमानढोकातर्फ लाग्यौँ ।

सिंहदरबारदेखि हनुमानढोकासम्म दुवैतिर लहरै सेनाको पहरा थियो । बाटो चकमन्न र सुनसान थियो । भद्रकालीबाट त्रिपुरेश्वरतर्फ जाने, धरहरातर्फ लाग्ने र नयाँ सडकमा केही मानिस जम्मा भएर बग्गी र पछिपछि लागेका हाम्रा गाडी नियालिरहेका थिए । तर, कसैले पनि नाराबाजी गरेको सुनिएन । हनुमानढोका पुगेपछि शाहज्यादा ज्ञानेन्द्रलाई सिंहासनमा बसाइयो । बालकमा हुने स्वाभाविक चञ्चलता उनमा देखिएन । गम्भीर मुद्रामा थिए उनी ।
विशेष साइतमा राज्याभिषेकको काम अगाडि बढ्यो । पण्डितहरूले मंगलोच्चारण र अन्य विधि सम्पन्न गरेपछि नायब बडागुरुज्यू हेमराज पाण्डेले श्रीपेच लगाइदिए । तर, त्यो श्रीपेचले ज्ञानेन्द्रका आँखा मात्र होइन, नाक–मुख पनि छोपिदियो । उनी केही अत्तालिए । नायब बडागुरुज्यूले त्योश्रीपेच झिक्न खोजे । तर, कसैले लगाइसकेको श्रीपेच झिक्नु अपशकुन हुन्छ, तसर्थ माथि सारेर हातले समातेर बस्न सल्लाह दिएपछि एकछिन नायब बडागुरुज्यू श्रीपेच समातेरै बसे । त्यहीबीचमा हतारहतार तीन गजजति गुलाफी रंगको कपडाको व्यवस्था गरेर ज्ञानेन्द्रको शिरमा बेरियो र त्यसपछि बल्ल श्रीपेच अडियो । वास्तवमा त्यतिबेला बालक ज्ञानेन्द्रले टुलुटुलु हेरेको दृश्य ज्यादै मर्मस्पर्शी थियो ।

ज्ञानेन्द्रले त्यसरी श्रीपेच लगाएको झन्डै चार महिनापछि ७ फागुन ००७ मा मुलुकमा प्रजातन्त्र आयो । राजा त्रिभुवनलाई स्वदेश फर्काइयो र राजगद्दीमा पुन: आसिन गराइयो । तर, ती नाबालक राजाको इतिहास स्वर्ण अक्षरले लेखियो कि कालो अक्षरले, इतिहासका नेपालीले जान्ने कुरा हो । तर, इतिहास त इतिहास नै हो ।’ लक्ष्मणप्रसाद रिमालकाे स्मरण बाट

प्रतिक्रिया