राजाबादीहरुले अबको राजा पवीन्द्र बिक्रम शाह लाई मान्दा न्यायहुने छ

बेद प्रसाद घिमिरे २०८० पुष १९ गते ११:०९ मा प्रकाशित

राजाको जेठो छोरा राजा हुन्छ र जेठोको जेठो हुँदै राज परम्परा अगाडि बढ्छ । ल अब यसलाई पनि मानौं र बहादुर शाहका वंशजलाई छोडिदिऊँ । पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहको निधनपश्चात् उनका जेठा छोरा रणबहादुर शाह नेपालका राजा भए । यी राजाका विवाहिता महारानीका तर्फबाट जेठा छोरा थिए रणोद्दत शाह । स्वाभाविक रूपमा रणोद्दत शाह नै युवराज थिए । एक दिन राजा रणबहादुर शाह पशुपति आर्यघाटमा पुगेछन् । त्यहाँ उनले घाटमा एकसरो श्वेत वस्त्र बेरेर नुहाउँदै गरेकी एक शोडष वर्षीया सुन्दरी बालालाई देखे । ती बाला कान्तवती नाम गरेकी मैथिली बाल विधवा ब्राह्मणी रहिछन् । राजा ती सुन्दरीप्रति आशक्त भए । उनले ती बालालाई दरबार भित्र्याउन खोजे । कान्तवती कडै रहिछन् । राजहठ र जबर्जस्तीको प्रतिकार गर्नसक्ने अवस्थामा उनी थिइनन् । तर पनि उनले सर्त राखिछन्– ‘मबाट जन्मिने पुत्र राजा हुन्छन् भने मात्र म जान तयार छु ।’ युवतीप्रति आशक्त राजाले सर्त स्विकारेर कान्तवतीलाई दरबार भित्र्याए । यिनै ल्याइते रानीबाट जन्मिए गीर्वाणयुद्ध वीरविक्रम शाह । राजा रणबहादुर शाहले युवराज रणोद्दत शाह र उनका सन्तानलाई पदच्युत गरेर गीर्वाणलाई युवराज बनाए । यसरी स्वाभाविक क्रमभंग भएको हुँदा गीर्वाणको समयदेखि राजाहरूको नामको पछाडि ‘विक्रम’ जोडिएको हो । अब श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकी विवाहिता क्षत्रिनी रानीका जेठा सन्तान दरसन्तानलाई राजा बनाउने रीत परम्पराको अवलम्बन गर्ने हो भने त रणोद्दत शाहका जेठा अनि उनका जेठा गर्दै वंशज खोज्नु जायज हुन्न र ? रणोद्दत शाहको त अत्यन्तै कलिलो उमेरमा निधन भएको देखिन्छ । तर, उनका जेठा सन्तान दरसन्तान केलाउँदा जगतप्रकाशजंग शाह हुँदै नवीनप्रकाशजंग शाहमा पुगिन्छ । उल्लेख्य के छ भने जगतप्रकाशजंग शाह नेपाली कांग्रेसका क्रान्तिकारी थिए र उनलाई राजा महेन्द्रले अत्यन्तै आततायी ढंगले मारेका थिए । जगतप्रकाशका छोरा नवीनप्रकाशजंग शाह हामीबीच छन् । उनी त्रिभुवन विश्वविद्यालयका उपकुलपति पनि रहेका थिए । पृथ्वीनारायण शाहकी क्षत्रिनी विवाहितातर्फका वंशज जेठा खोज्ने हो भने नवीनप्रकाशजंग शाह राजा हुनुपर्छ । राजभक्तहरूलाई स्वीकार्य नहुनुपर्ने कारण छ त ?

त्यसरी पुराना कुरा गरेर साध्य हुन्न भन्ने तर्क गरिएला । त्यो पनि ठिकै मानौं । तुलनात्मक रूपमा नयाँ कुरा गरौं । राजावादीहरूका नजरमा परम प्रतापी राजा महेन्द्रका दुई होइन तीन पत्नी थिए । इन्द्रराज्यलक्ष्मी र रत्नराज्यलक्ष्मीका ’boutमा त सबैलाई थाह छ । इन्द्रराज्यलक्ष्मीसँग विवाह हुनुभन्दा निकै अघि नै उनको दरबारकी कुनै कामदार महिलासँग सम्बन्ध कायम भएको थियो । महेन्द्रभन्दा उमेरले जेठी ती महिला थिइन्, गीता गुरुङ । महेन्द्र आफू कलिलो जवान हुँदाको अवस्थामा नै गीता गुरुङले महेन्द्रका छोरालाई जन्म दिएकी थिइन् । ती छोराको नाम हो रवीन्द्र शाह । दरबारले गीतालाई ‘रानी’का रूपमा स्विकारेको थियो । रत्नराज्यलक्ष्मी नारायणहिटी भित्रिएपछि मात्र गीता र उनका छोरा दरबारबाट निकालिएका थिए । महेन्द्रको निधनपश्चात् रवीन्द्र शाह ‘राजकुमार’का हैसियतमा काजकिरियामा सामेल भएका थिए । महेन्द्रका जेठा छोरा रवीन्द्र शाह राजगद्दीका हकदार थिएनन् र ? अहिले रवीन्द्र शाह त छैनन् तर उनका छोरा पवीन्द्रविक्रम शाह छन् । उनलाई राजा बनाउँदा न्याय हुन्न र ? राजाबादी शक्ति हरुलाइ म सम्झाउन चाहान्छु दुई दुई पटक राजा भैसकेका बिबादास्पद घटनामा संम्लगन प्रात्रहरुलाइ राजा बनाउने नारा लगाउनु भन्दा जनजाती आमाका सन्तान अन्यायमा परेका रबिन्द्र शाह का छोरा पवीन्द्र बिक्रम शाह लाई राजा बनाउदा न्यायउचित होला कि ?

-लेखक बेद प्रसाद घिमिरे 

प्रतिक्रिया