गैरआवासीय नेपाली संघको प्रेस विज्ञप्ती

इनेप्लिज २०८० पुष १८ गते १५:५० मा प्रकाशित

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका भाषा परीक्षार्थी र प्रहरीबीच ललितपुरको बालकुमारीमा शुक्रबार (२९ डिसेम्बर २०२३) भएको झडपमा दुई युवकको निधन भएकोप्रति गैरआवासीय नेपाली संघ गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको छ ।

नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौंको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएका हुन् । यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार वास्तवमै संवेदनशील हुन जरुरी छ भन्ने कुरा ग्रहण गर्न संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको छ ।

यस्ता अप्रिय घटना फेरि दोहोरिन नदिन र युवाको भावना तथा अपेक्षाप्रति संवेदनशील बन्न पनि संघ हार्दिक अपिल गर्दछ ।

फणिन्द्र पन्त

प्रवक्ता

गैरआवासीय नेपाली संघ
३१ डिसेम्बर २०२३

प्रतिक्रिया