‘पर्खि बसेँ तिमीलाई’ शिर्ष गीत सार्वजनिक

इनेप्लिज २०८० पुष १८ गते ४:०६ मा प्रकाशित

पुस २७ गते प्रदर्शन हुने फिल्म ‘पर्खि बसेँ तिमीलाई’ मा समावेश शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र डाक्टर कृष्णहरी बरालको शब्द रहेको छ । हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा यसै फिल्ममार्फत डेब्यु गर्दै गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड छन् । यसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

यो दुईको प्रेम र समर्पणलाई गीतमा चित्रण गरिएको छ । यसको सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाईरहेका छन् । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा हासो, रोदन, एक्सन, विछोड सम्पूर्ण कुराको मिश्रण छ ।
निर्देशक श्रेष्ठले ‘पर्खी बसेँ’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यु गराएका थिए । यसपटक उनेल ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गराएका छन् ।
गीतमा देखिएका किरण र रक्षाले शिर्ष गीतको छायांकन रमाइलो भएको सुनाए । ‘पहाडी भेगमा दृश्य हेर्दा निकै मनोरम लाग्थ्यो तर हामीले निकै मेहनत गरेर ती दृश्यलाई पर्दासम्म ल्याएका छौं । किनकि त्यहाँ जति मनोरम दृश्य थियो, कैद गर्न त्यति नै गाह्रो’, किरणले भने ।

अभिनेत्री रक्षाले फिल्ममा लिएर आफू उत्साहित रहेको बताइन । ‘गीतमा देखिएको दृश्यले पनि यसमा गरिएको मेहनतलाई प्रस्ट्याउछ । प्रेम कथानक फिल्ममार्फत दर्शक सामु आउंदै छु । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएकी छु’, रक्षाले भनिन् । निर्माता राजाराम बुढाथोकीले विना सम्झौता फिल्म तयार गरिएको जानकारी दिए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

प्रतिक्रिया