स्मृतिमा हाम्री आमा

रमेश ढकाल २०८० मंसिर २२ गते ११:०० मा प्रकाशित

यो मंसिर २३ गते, ८५ वर्षको उमेरमा हाम्री आमाले भौतिक संसारबाट बिदा लिनु भएको एक वर्ष पुरा हुन्छ । सोच्दै छु, आमाको एक झापड पनि नखाइकन हुर्कने को को हुनुहुन्छ होला ? यहाँहरु जो जति हुनुहुन्छ, त्यस भित्र म पनि एक जना पर्छु । हाम्री आमाका हामी जम्मा ८ सन्तानमा, मलाई लाग्दैन आमाले कसैलाई कुनै दिन एक थप्पड लगाउनु भयो होला !

कहिलेकाही समयमा पढ्न नबस्था तँलाई दाजुहरूले पिट्लान भनेर सावधान सम्म गराउनु भयो, तर आमाले अलिक ठुलो स्वरले हप्काएको सम्म पनि मलाई कुनै याद छैन । हाम्री आमा अत्यन्तै सोझी र सरल । १२–१३ वर्षको अबोध अवस्थामा नै विवाह बन्धनमा बाँधिनु भएकी हाम्री आमा त्यतिकै पनि धेरै सोझी, त्यसमा पनि हाम्रो त्यतिखेरको पुरुष प्रधान समाज÷परिवारले आमालाई अझ धेरै सोझी बनायो, सायद !

भोजपुर, पहाडको ठाउँ । अबोध अवस्थामा टुहुरी बन्नु । अबोध अवस्था मै एउटा टुहुरो संग नै विवाह बन्धनमा बाँधिनु । न माइती तर्फ कुनै प्रकारको सहयोगका लागि बाबुआमा जीवित, न त विवाह गरेर आएको घरमा कुनै मार्गदर्शनका लागि सासु ससुरा जीवित । विवाह गरेर आएको कुल घराना ठुलो, तर ठ्याक्कै नजिकबाट हार्दिकतापूर्वक मार्गदर्शनका लागि कोही नहुनु । साथमा, उचित मार्गदर्शन बिना नै हुर्कदै गरेका अपरिपक्व पति ।

विसं. २०१९ सालमा पहाडबाट मधेस बसाइ सर्नु प¥यो । मधेस झरे पछिका सुरुका ९–१० वर्ष घर खुब राम्रोसँग चल्यो । तर भएको जायजेथाको समुपयोग हुन नसकेकाले चुनौतीहरू थपिँदै गए । लगातार बसाई सर्नु पर्ने भयो । जेथा घट्दै गयो । यस्तैमा ४४ सालमा बुवा बित्नु भयो । बुवा बित्दा आमाको उमेर ४९ वर्षको मात्र रहेछ । तर अहिले सम्झन्छु ४९ वर्षकै उमेरमा हाम्री आमा निक्कै धेरै पाकी देखिनु हुन्थ्यो ।

त्यो समयका प्राय सबै आमाहरूको जीवन चुनौती र संघर्षले नै भरिएको हुने गर्थ्यो, त्यसमा पनि हाम्री आमाले त झन् धेरै विकट परिस्थितिहरूको सामना गर्नु प¥यो । तर जस्तोसुकै विकट परिस्थितिमा पनि आमाले कहिल्यै हार मान्नु भएन । हरेस खानु भएन ।

मैले हाम्री आमा–मा जुन हद सम्मको धैर्यता र सहनशीलता देखे, कुनै आम मान्छेमा त्यस्तो बिरलै भेट्टिएला । संसारभरिका मान्छेहरुलाई जीवन जिउने कला सिकाउँदै हिँडेका हिजोआजका सद्गुरुहरुलाई पनि मैले कतिपय कार्यक्रमका प्रश्न उत्तर सत्रहरूमा असहज मानेको, आवेगमा आएको, प्रश्न कर्ता माथि रोष प्रकट गर्ने गरेको देखेको छु ।

तर हाम्री आमाले जस्तोसुकै अप्ठ्यारो, अभाव वा असहज परिस्थितिमा पनि कहिल्यै कुनै प्रकारको रोष प्रकट गरेको वा कसैलाई कुनै प्रकारको आरोप लगाएको वा कटाक्ष गरेको मैले कहिल्यै देखिन, सुनिन । जीवनमा आइपरेका सुख दुःखलाई आमा आफ्नै कुनै न कुनै कर्मको फल वा प्रारब्ध ठान्ने गर्नु हुन्थ्यो । न त आमा सुखका दिनमा हौसिनु भयो, न त दुःखका दिनमा हरेस नै खानु भयो ।

आफ्ना घरमा २–३ माउ दुहुना भैँसी, घरायसी काममा सहयोग गर्ने सहयोगीहरु हुँदाको अवस्था र मही मागेर खानु परेको अवस्थामा पनि हाम्री आमाको अभिव्यक्ति र मानसिक अवस्थामा कहिल्यै कुनै प्रकारको उतारचढाव देखिएन ।

अवस्था जतिसुकै अप्ठ्यारो होस्, आमाले न इष्टमित्र, न त छरछिमेकी कहिल्यै कसैलाई कुनै पनि प्रकारको दोष लगाउनु भएन । परिवार भित्र होस् या बाहिर, आमाले कहिल्यै कसैसँग कुनै पनि प्रकारको गुनासो गर्नु भएन । जसले जे दिन्छ, आमा त्यसैमा खुसी । छोरा होस् या बुहारी, आमाले कसैसँग कुनै पनि प्रकारको माग कहिल्यै राख्नु भएन । अहिले, यो सबै सम्झँदा लाग्छ, हाम्री आमा–मा हिजोआजका सद्गुरुहरुमा भन्दा पनि धेरै सहनशीलता र धैर्यता थियो ।

आमा पढ्न लेख्न जान्नु हुन्थेन, निरक्षर हुनुहुन्थ्यो । तर दाजुहरूले सुनाउने प्रगतिशील कथाहरूबाट धेरै प्रेरित हुनुहुन्थ्यो । आफ्नो कान्छो छोरा यानि मैले लेप्चा जातकी बुहारी भित्र्याउँदा होस् या हाम्रा गाउँका लम्जेल मल्दाइलाई घर भित्र रहेको भकारीबाट धान निकालेर सुकाउन कुटाउन लगाउँदा होस् हाम्री आमालाई कहिल्यै कुनै अप्ठ्यारो महसुस भएन । हाम्रो घरमा आएका बेला मेरो दलित सहपाठीले कहिल्यै आफु दलित भएको महसुस गर्नु परेन । साच्चिकै धार्मिक मान्छे कस्तो हुन्छ भन्ने कुरा मैले आमालाई हेरेर नै जाने ।

एउटा पुरानो प्रसङ्ग सम्झँदा हाम्री आमा भित्र एउटा सहज मनोवैज्ञानिक चेत र करूणा कति धेरै रहेछ भनेर अहिले म दङ्ग पर्छु । कुरा ४२ साल तिरको हुनुपर्छ, त्यतिखेर हाम्रो छिमेकमा त्रिताल बडिबाहरु पहाडबाट भर्खर– भर्खर नै बसाइ झर्नु भएको थियो । सायद मंसिर महिना नै थियो, त्रिताल बडिबा घुम्दै घुम्दै हाम्रो घरमा निस्कनु भयो । त्यतिखेर घरमा म एक्लै थिए । आमा खेत मै हुनुहुन्थ्यो । बडिबाले चिनजान गर्ने मेसोमा मसंग सामान्य सोधपुछ गर्नु भयो र अन्त्यमा हाम्रो बारी हेर्दै कति राम्रो सप्रिएर साग आएको रहेछ भन्दै आफ्नो बाटो लाग्नु भयो ।

त्यसको केहीबेरमा आमा खेतबाट घर फर्कनु भयो । मैले आमालाई, आमा उ त्यो नयाँ घरका बा आउनु भएको थियो, अनि हाम्रो बारी हेरेर कति राम्रो साग रहेछ भन्दै जानु भयो भनेर सुनाएँ । आमाले वहाँहरू भर्खर आउनु भएको, सागसब्जी फलाउन अलिक समय लाग्छ । म यो साग टिपिदिन्छु, बडिबाको घरमा पु¥याई दे भनेर, आमाले एक मुठो साग टिपिदिनु भयो । मैले त्यो साग बडिबाको घरमा पु¥याइ दिए । त्यहाँबाट सुरु भएको त्रिताल बडिबा र काकासँगको मेरो घनिष्ठता आज पनि उत्तिकै प्रगाढ छ ।

म पढे बढेको ठाउँ गोल्धाप पुग्दा, त्रिताल बडिबा र काकासँग एकछिन भए पनि संगै बसेर गफिने गरेको छु । गफिने मेसोमा आमाले पठाइदिनु भएको त्यो एक मुठो सागको प्रसङ्ग लगायत म सानो फुच्चे हुँदाका अन्य थुप्रै रोचक विषयहरु सम्झने तथा सम्झाउने गर्नु हुन्छ । गएको वर्षको सुरुवात तिरै हुनुपर्छ, त्रिताल बडिबा बित्नु भयो तर काका भने अहिले पनि स्वस्थ नै हुनुहुन्छ । त्रिताल काकाको दीर्घायुको कामना गर्छु ।

कान्छो सन्तान भएकाले होला निक्कै पछि सम्म पनि मलाई आमा संगै निदाउन पाउने सौभाग्य प्राप्त भयो । ४४ सालमा बुवा बित्नु भएका बेला पनि मेरो उपनयन संस्कार नभएकाले मलाई आमाकै साथमा राखिएको थियो । मलाई अध्यारो देखी आज पनि निक्कै डर लाग्छ । म निक्कै हुर्किसके पछि पनि राती सुसु लाग्दा, आमालाई उठाउने गर्थे ।

जीवनको उत्तरार्ध तिर आमाले आर्थिक अभावका कारण कुनै प्रकारको असहजता भने झेल्नु परेन । तर बुढेउली संगै नियमित बिभिन्न औषधीहरूको प्रयोगले आमालाई जीवनको अन्त्यतिर भने अलिक धेरै नै गलाएको थियो । अन्तिम समयमा झन्डै तीन महिना जति आमा ओछ्यान नै पर्नु भयो । ती तीन महिना सबै दाजु भाउजुहरु तथा श्रीमती, नाति नातीना, दिदी तथा भान्जा भान्जी लगायत सबैले आ–आफ्नो अनुकूलता अनुसार आमाको मन लगाएर सेवा गर्नु भयो । कान्छो छोरा भएर होला, आमाको अलिक धेरै प्रिय भएर पनि, आमाको सेवा गर्ने मामिलामा म भने सबैभन्दा पछि रहे ।

सन् १९९६ देखी नै परदेशिन बाध्य बनेको मेरो जीवन आज पनि परदेशमै बितिराखेको छ । तर पनि ईश्वरको अनुपम कृपा नै मान्छु, यतिका वर्ष देखि परदेशमा रहेर पनि आमाको अन्तिम अवस्थामा थोरै दिन भए पनि आमाको समीप रहने अवसर प्राप्त भयो, यसैमा सन्तोष गरेको छु ।

आमा सबैका लागि पहिलो पाठशाला हुन् भन्ने गरिन्छ । तर मेरो हकमा भने आमा अन्तिम पाठशाला पनि बन्नु भयो । आमाले छोड्नु भएको त्यो अन्तिम श्वासले मलाई यसरी स्पर्श ग¥यो, एक प्रकारले मृत्युसँग साक्षात्कार गराइदियो । मृत्यु त अत्यन्तै स्वभाविक प्रकृया रहेछ भन्ने कुराको बोध गराइदियो । आमाको त्यो अन्तिम श्वाससँगै निस्किएको थरथराहटले त्यतिखेर आमालाई अड्याएर राखेको मेरो बाँया हात हुँदै आएर हृदयलाई यसरी अनौठो किसिमले स्पर्श ग¥यो, जुन स्पर्शको महसुस त्यो क्षणलाई सम्झदा आज पनि हुने गर्छ ।

हिजोआज, हाम्री आमा जस्तै जीवनमा करुणावान, धैर्यवान र सन्तुष्ट रहन सकु भनेर परमात्मा संग सधैं प्रार्थना गर्ने गरेको छु । मलाई सम्झना छ, म सानै छँदा एउटा काइँयो केला र सिन्के धुप बोकेर, हाम्रो घर मास्तिरको सापडिग्री खोलामा मलाई पनि संगै लगेर, आमाले पूजा गर्दै इश्वरसँग मेरा लागि के मागिदिनु भएको थियो त्यो त मलाई थाहा भएन । तर म आज ढुक्क संग भन्न सक्छु, ईश्वरको कृपा तथा आमाको आशीर्वादले मैले अहिलेसम्म जे गर्न सके वा जे गरिरहेको छु, म यसमा अत्यन्तै खुसी र सन्तुष्ट छु ।

आमाले आफ्ना सबै सन्तानका लागि गर्नुभएका प्रार्थनाहरू व्यर्थ गएका छैनन्, सबै कुनै न कुनै रुपमा फलीभुत भएका छन् । ईश्वरलाई धन्यवाद छ । मैले यहाँ धन्यवाद भनेको इश्वर र हाम्री आमा एउटै हुन्, जो भौतिक रुपमा हामी बिच नभएर पनि हाम्रो हरेक धड्कन र प्रार्थनामा सधैं साथ रहने गर्नु हुन्छ ।

रमेश ढकाल
भद्रपुर–७, झापा

प्रतिक्रिया