दुबई । गएको ५ डिसेम्बर मंगलबारका दिन दुबईस्थित काठमाण्डौं प्यालेस रेष्टुरेण्टमामा बिश्व साईकल यात्री शुभप्रसाद शर्मालाई नेपाली समाज युएई तथा कास्की आदर्श समाज युएईले संयुक्त रुपमा एउटा कार्यक्रमको आयोजना गरेर केहि सहयोग रकमका साथ सम्मान–पत्र दिएर सम्मानित गरेको छ । बिश्व साईकल यात्राको क्रममा साउदी हुदै युएईमा आएको मौकामा सो भेटघाट तथा सम्मान गरेको हो ।
हाम्रो देश नेपाल, नेपाली राष्ट्रिय झण्डा र सगरमाथालाई बिश्वमा उजागर गर्दै बिश्व साईकल यात्रामा हिनेका शुभप्रसाद शर्मा साउदी अरब हुंदै अहिले दुबईमा आई पुगेका छन् । दुबईबाट उहांको अर्को यात्रा भने कतारको रहने बताएका छन् । हामी नेपाली गोर्खालीको रुपमा मात्र हैन धेरै कुरामा अगाडि छौ भन्ने उदाहरणलाई बिश्वमा सन्देश दिएको पाईन्छ । कतै खोला नाला, कतै जंगल हिउं र पहाड होला, या घाम र पानीको वास्ता नगरी केहि आफुलाई चाहिने आवश्यक सामानहरु बोकेर साईकललाई नै आफ्नो सहयात्रीको रुपमा लिएर बिदेशको भूमिमा हाम्रो गौरव बढाएको प्रत्यक्ष देख्न सकिन्छ ।
चावहिल, गौरीघाट–७, काठमाण्डौका निवासी ५६ बर्षिय शर्मा गत बर्ष १४ अप्रिल २०२२ देखि बिश्वमा जलवायु परिवर्तनको नारा बोकेर १ सय ५० देशसम्म यात्रा गर्ने लक्ष्य लिएर हिडेका छन् । अहिलेसम्म भने १६ वटा देशको भ्रमण गरिसकेको छ । यो अभियान भनेको ५ बर्षको हो । तर, समय अझै धेरै पनि लाग्न सक्छ । किन कि हरेक ठाउंमा विभिन्न कुराको बातावण मिलाउन पर्ने हुन्छ– हल्का मुस्कान ल्याउदै भन्नु भयो शर्माले । भ्रमण पूरा गर्नका लागि बिश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगको अति आवश्यकता पनि देखिन्छ ।
उक्त कार्यक्रममा आ–आफ्नो मन्तव्य राख्नेहरुमा क्रमशः नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, बिश्व साईकल यात्री शुभप्रसाद शर्मा, नेपाली समाज युएईका वरिष्ठ उपाध्यक्ष कमल गिरी, नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण ढकाल, नेपाली बिजिनेश काउनशिलका कोषाध्यक्ष एकेन्द्र थापा र कास्की आदर्श समाज युएईका शिव श्रेष्ठ रहेका थिए ।
नेपाली समाज युएईका महासचिव केदार कुंवरको संचालनमा भएको सहयोग तथा सम्मान कार्यक्रमको प्रमुख अतिथिमा बिश्व साईकल यात्री शुभप्रसाद शर्मा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी र पत्रकारहरु रहेका थिए ।
-–लालबहादुर ढेंगा, दुबई, युएई
प्रतिक्रिया