अहिले विवाहको मौसम हो नेपाली समाजको । जताततै धेरैले सोसलमिडियामा विवाहको फोटोहरूमात्र राखेको देख्छु । केही साथीहरूको फोटोहरू हेर्दै जाँदा टक्क “ मेहेंदी र संगीत कार्यक्रम “ शिर्षक भएको फोटोहरूमा आँखा पुग्यो । केही महिलाहरू एक्कै रंग पहेंलो र एउटै डिजाईनको सारी लगाएका छन् । तेस्तै पुरूषहरू पनि कुर्ता पाईजामा एकै रंग र एउटै खाले डिजाईनमा सजिएकाछन् । अरूहरूपनि पहेंलै कपडा लगाएका छन् ।
अझ मंचमा थरीथरीको डान्स सोको भिडियो पनि देखें । हैन के हो , विवाह नै त हो की कुनै फिल्मको सुटिगं पो भए जस्तो लाग्ने वा भनुम हिन्दी सिनेमातिर देखिने दृश्य छ । कहिलेदेखि यसरी परिवर्तन भयो त नेपालीहरूको विवाहको चलन ? कहिले भित्रियो यस्ता नँया चलन ?
याद भएसम्म उहिले हामी केटाकेटी हुँदा चाहीं काठमाडौंमा बेहुलीलाई हात खुट्टामा रातो रंग दलेर सिंगारिन्थ्यो । पेशाले नङ काट्ने काम गर्ने महिला आउँथिन र बेहुलीको हात खुट्टाको नङ काटेर सफा गरेर रातो रंग दलेर जान्थिन । अरू घरका महिला पनि रहर गरेर रातो रंग दल्न लगाउँथे । आजकल त्यो चलन नै छैन् ।
अलिक पछि चाहीं टोल छिमेकका दिदी बहिनी मिलेर, जान्नेले बेहुलीलाई बिभिन्न बुट्टा बनाई मेहेन्दीं लगाई दिन थाले । कोही मेहेन्दीं लगाईदिने , कोही साईपाटो तयार पार्ने , कोही नरीवल सिंगार्ने, कोही दुबोको माला उन्ने, कोही मालालाई जरी तयार पार्ने, भ्याई नसक्नु नै हुन्थ्यो । अनि एकछिन फुर्सद निकालेर सबै केटीहरू क्यासेटमा गीत बजाएर नाच्ने चलन थियो ।
खासमा नेपाली हिंन्दुहरूको विवाहमा कुरा छिन्ने , स्वयम्बर गर्ने अनि बेहुला जन्ती गएर जग्गेमा विवाह गर्ने र बेहुली लिएर घर फर्कने पुरानो चलन र परम्परा हो ।
आजकल चाहीं मेहेन्दी लगाउने , संगीत र नाचगान गर्ने छुट्टै कार्यक्रम र पार्टी नगर्ने हो भने त विवाह नै पो होर भन्ने हुन थाल्यो । कुनैबेला यसो रमाईलो गर्ने भनेर शुरूआत गरिएको थियो होला , अब त अनिवार्य गर्नै पर्ने चलन बन्यो जस्तो छ ।
हुन त अर्थशास्त्रीहरू “ हुनेले दिल फुकाएर खर्च नगरिदिने हो भने, हुँदा खानेको घरमा चुलोसम्म बल्दैन नेपालमा “ पनि भन्छन् । कुरा त एकप्रकारले ठिक पनि हो । नेपालमा जताततै होटेल , पार्टी प्यालेस , व्युटिपार्लर , लुगा सिलाउने बुटिक आदी खुलेको छ । नँया नौलो चलन भित्रिएमा सबैको व्यापार व्यवसाय चल्छ र धेरैले रोजगारी पाउँछन् । सबैलाई फाईदा नै हुन्छ । तर प्रश्न को, कसरी चाहीं “ हुनेखाने “ भए भन्नेछ । कतै देखावटी चलन गर्न, हुनेखाने छु देखाउन र मनमानी खर्च गर्न गलत तरीकाले धन कमाउनतिर त लागेका छैनन् नेपाली ?
आजभन्दा पच्चिस तिस बर्ष अगाडीसम्म पनि विवाहमा धेरै खर्च गर्न सक्ने क्षमता शहरतिर पनि अत्यन्त कम नेपालीहरूको मात्रै थियो । धेरै विवाह र भोज आफ्नै घरको छत वा चोकमा पाल टाँगेर हुन्थ्यो । घरमै खाना पकाउने आएर घरपछाडी नै पकाउने गर्थे । अहिले जस्तो पार्टी प्यालेस थिएन । केही ठुला होटेल थिए । तर कसैको हैसियत थिएन तेंहा विवाह पार्टी गर्ने ।
सबैका ईष्टमित्र धेरै हुने , उही पाहुनालाई बारम्बार खुवाउनु पर्ने र पैसा धेरै लाग्छ भन्दै बरू एकैदिनको विवाह, बिहान स्वंयम्बर , दिँउसो भरी जग्गेमा विवाह , जन्ती र आफ्ना पाहुनालाई एकैपटक भोज खुवाएर सक्काउने चलन थियो ।
आजकल त नेपालीको हैसियत चुलिएर मेहेन्दी र संगीत पार्टी , कुरा छिन्ने पार्टी, स्वयम्बर पार्टी, विवाह पार्टी त्यो पनि परिवार नातेदार र साथीभाईहरूलाई छुट्टछुट्टै पार्टी ठुला ठुला होटेलमा दिने चलन बढेछ । कतिले त संम्धिनी ढोगभेट कार्यक्रम पनि पो होटेलमा पार्टीसम्म राखेर गर्न थालेछन् ।
“ संम्धिनी भेट “ भनेको उहिले छोराको विवाहमा आमा जन्ति जाँदैन थिए ! जन्तिमा बेहुलाको आमा नगएकोले उनलाई बेहुलीका परिवार कसैले भेटेको हुन्न थियो र “ सम्धिनी भेट “ भन्ने चलन बसालेर चिनजान गर्ने गरिएको हो ! आजकल त छोराको विवाहमा आमाहरू नै सबैभन्दा अगाडी अगाडी नाँच्दै जाने चलन छ । सबैसॅंग भेटघाट भई नै सकेको हुन्छ । बरू बेकारमा बेहुली पक्षलाई जवरजस्ती अनेक गरगहना , सामानहरू र बेहुलाका परिवारका सबैलाई खाममा दाम राखेर दिन लगाउने गरेर देखावटी चलन नै गर्न बन्द गरे हुन्छ ।
केही बर्षदेखि अर्को नौलो चलन विवाह पार्टीमा “ डान्स सो “ हुन थालेको छ । यो चाहीं प्राय: विदेशतिरको नेपाली समाजको विवाहमा देखिन्छ । बेहुलाबेहुलीको डान्ससम्म त ठिकै पनि हो । ओहो ससुरा बुहारी , सासु ज्वाईँ नाचेर पो उधुमै गर्न थाले । विवाह पार्टीमा भनेको त भेटघाट गर्ने , ईष्टमित्रसॅंग चिनजान गर्ने , मिठो खाने आदी पो हो । कता “ डान्स सो “ त्यो पनि जवरजन्ती डिनर सर्भ गर्नु अगाडी राखेर बस्नै पर्ने बाघ्यतामा पारिदिने हो त । कति टाढाबाट पार्टीमा आएका हुन्छन् । फर्कन हतार भएको हुन्छ । नखाई जानु की डान्स सो हेरेर बस्नु ?
खै आजकलका नँया पुस्ता के भएका हुन् । रमाईलोमात्र भन्छन् । विवाहको महत्व त बुझेका छन नै होला ? कति विवाह त केही बर्षमा नै टुटेको पनि सुन्छु नेपाली समाजमा ।
अझ आजकल संसारभर छरिएका नेपाली समाजलाई नियाल्दा , हामी छिट्टै अरूको लहैलहैमा लागि हाल्छौं जस्तो लाग्छ । हामीलाई रमाईलो गर्न निक्कै मन लाग्छ । हामी छिट्टै अरूको रहनसहनबाट प्रभावित हुने , बहकिने वा भनुम आलु जस्तै जुन तरकारीमा पनि ठिक्क मिलिहाल्ने । हाम्रो आफ्नोपन भन्ने कुनै कुरामा नै छैन् ।
हो समय परिवर्तनसिल छ । समयसॅंगै बदलिनु पनि पर्छ । तर बदलिने भन्दैमा आफ्नो नेपालीपन , रहन सहन, कला संस्कृति, रितीरिवाज , संस्कार चाहीं संसारको जुन कुनामा गएर बसोबास गरेपनि छोड्न चाहीं हुन्न । अझ अरूको चलन चाहीं भित्र्याउने अनि आफ्नो मान्दै आएको चलन हटाउँदै जाने चाहीं गर्न हुन्न ।
अन्त्यमा , खुशी हुन को चाहान्न होला र ? हाँसीखुशी रमाईलो पनि गरौं ।तर आफ्ना खुशी र रमाईलो भन्दाभन्दै अरूलाई धान्नै नसकिने आर्थिक भार नथपिदियौं । आफ्नो घरको पो एउटा विवाह, मनमानी खर्च गर्दा भो । तर विवाहमा आउने पाहुनाहरूले त एकै समयमा अरूतिरको विवाह पनि भ्याउनु पर्ने हुन्छ । विवाह नै पिच्छे यस्तो लुगा गहना लगाएर आउनु आदी भनिरहँदा आउनेले कसरी पुर्र्याउने सबैतिरका डिमाण्ड ?
रहर गर तर अरूलाई यस्तै गर भनेर कर चाहीं नगर !
-शशी के. सी
प्रतिक्रिया