साहित्यको अर्को गन्तव्य- “उडेको पैताला”

ऋषभदेव घिमिरे २०८० मंसिर ११ गते २३:४१ मा प्रकाशित

पश्चिम नेपालको पर्वत जिल्लाको मनोरम प्रकृतिमा जन्मेका महेश्वर पंत साहित्य, कला र संस्कृतिका त्रिवेणी हुन । घर स्वयंमा साँस्कृतिक जागरणको उदगम थियोे उनको । हजुरबुबा कालीभक्त पंत लोकसाहित्यका अन्वेषक र अद्वेता थिए। पारिवारिक पृष्ठभूमिले पनि महेश्वरलाई अद्वितीय बनाउन मद्दत गर्यो भन्ने लाग्छ मलाई। पश्चिम नेपाल, लोक संस्कृतिको उर्वर भूमि हो। लोक साँस्कृतिक भूगोल र माटोसँग परिचित पंतको अभिरुचि सानैदेखि गायन र लेखनमा थियोे भन्ने कुरा पंतकी ममतामयी माता उर्मिलादेवीले उहाँकै निवास फलेबासमा सुनाउनु भएको थियोे । साहित्यिक, साँस्कृतिक कार्यक्रमको सिलसिलामा फलेबास पुगेका बखत पंतका पिता गोविन्दप्रसाद पंतले भन्नुभएको थियो “यो ठुले चार गाउँ परसम्म मेला भर्न र नाचगान गर्न हिड्थ्यो। कहिलेकाही त हामी सुते पछि रातिराति पनि जान्थे साथीहरू मिलेर” बुबाको यो भनाइबाट नै मैले अनुमान गरि सकेको थिए । महेश्वर पंत गायन, गीत र संगीतमा पनि दखलदार छन भन्ने । उनको साहित्य र कृतिका बारेमा त म उनीसग प्रत्यक्ष भेटघाट नहुँदै परिचित थिए । उनको “नबोल्नेहरू” कथा सङ्ग्रह त मैले प्रकाशन पूर्व नै पढ्ने सौभाग्य पाएको थिए र मलाई केही शुभेच्छा लेख्ने अवसर पनि मिलेको थियोे । क्रमशः उनका कृतिहरू मुन्द्री , फुर्लुङ , बौलाको डायरी र पछिल्लो कविता कृति “उडेको पैताला” सम्म आउदा साहित्यिक एवं साँस्कृतिक यात्रामा हाम्रा पाइलाहरू प्रायः निरन्तर छन् । आशा छ उनका लेखन यात्राका पैतालाहरू अविराम चलिरहूँन्।

महेश्वर पंत कवि, गीतकार, स्रष्टा-सर्जक , गजलकार, गायक तथा बहुआयामिक व्यक्ति हुन भन्ने कुराको प्रत्यक्ष अनुभूति “बौलाको डायरी” उपन्यास प्रकाशन र कृति विमर्शका क्रममा भएका थुप्रै यात्राले धेरै कुरा अवगत हुने मौका जुरेको थियोे मलाई । पंतको उक्त उपन्यास “बौलाको डायरी” विमर्शका क्रममा कतै राजकुमार वानिया, कतै रमेश दाहाल, म र कृतिकार पटक पटक बहुला झै बनेका संझना अझै ताजा छ । बौलाको डायरीले अन्तर्राष्ट्रिय पुरस्कार २०२३ प्राप्त गर्यो । थप खुसी थपियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित पुरस्कार वितरण समारोहका अवसरमा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा फेरि हामी संगै भयौं। साट्यौं अनगिन्ती खुसी। उक्त कार्यक्रम पश्चात् हामी न्युयोर्क हुदै पंतको कर्मथलो बस्टन आइपुग्यौं । साहित्यिक, साँस्कृतिक एवं पारिवारिक वातावरणमा फेरि रम्यौ र रमायौं हामी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बस्टन च्याप्टरद्वारा प्रकाशित महेश्वर पंतको कविता कृति “उडेका पैताला” जन्मभूमि नेपालमा विमोचित भइसकेको कविता कृति बस्टनका लागि ताजा खुराक थियोे साहित्यको । आफुले प्रकाशन गरेको कवि पंतको कविता सङ्ग्रह “उडेका पैताला” लाई उनको कर्मक्षेत्र बस्टनले पर्खिरहेको थियो सायद । कर्मभूमिमा कृति लोकार्पित हुने संयोगको क्रममा म पनि सहभागी हुन पाए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि भएर कृति पुनः लोकका लागि अर्पण गरियो । कृति माथि केही समिक्षात्मक टिप्पणी गर्ने जिम्मेवारी पनि पाए मैले। अवसर दिने आयोजक परिवार र कृतिकार प्रति कृतज्ञता ज्ञापन गर्दछु।

साहित्यकार महेश्वर पंतको यो पछिल्लो कृति “उडेका पैताला” भित्र प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेललको विश्लेषणात्मक भूमिका रहेको छ। कविता सङ्ग्रहमा ४६ थान कविता छन । लामा छोटा गरेर १०६ पृष्ठमा रहेको सङ्ग्रह भित्र विविध विषयवस्तुका भाव र कलात्मक शिल्पका कविता पाए म‌ैले । साहित्यिक तथा विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर प्रभावकारी भूमिका निर्वाह गरि सकेका स्रष्टा पंत विगत लामो समयदेखि अमेरिका छन । अमेरिका र नेपालबिच साहित्यिक सेतुका रुपमा क्रियाशील छन उनी। नियमित प्रायः नेपाली साहित्यको सिर्जना गर्छन्। समय निकाल्दै मातृभूमि पुग्छन् तिर्छन् माटोको ऋण । उनको साहित्यिक यात्रा पनि लामो छ । साहित्यिक एवं सामाजिक तिर्थयात्रामा उनलाई अनन्त शुभकामना ।

उनको लोकार्पित कृति “उडेका पैताला” का कतिपय कविता भित्र परम्परागत शैलीको अवलम्बन छ । जीवनका भोगाइ र अनुभूतिले रङ्गिएका कविता छन।

कवितामा प्रकृति छ । जीवन-जगतका उहापोहलाई सर्लक्क टिपीएको छ । समाज छ, समाजको सचित्र वर्णन छ। समाजले र आम मानिसले भोगेका भोगाइ छन्। बिम्ब, प्रतीक र अलङ्कारले युक्त कविताहरू छन। आञ्चलिकताको सुगन्ध छ। कविता भित्र आमा छिन। बाका स्थिर, अविचलित र उडेका पैताला छन। अन्तरदेशीय संस्कृतिको प्रतिबिम्ब छ । डायस्पोरिक बिम्ब, प्रवास तथा प्रवासी जीवनको कथा छ । अनेकौं कथा-व्यथाको कविता छ । प्रस्तुत सङ्ग्रहमा समाविष्ट कविता भित्र भावगत, शिल्पगत तथा मानवीय सम्वेदनशीलता जाहेर गरेका कविता छन्। प्रणय छ । प्रितिका फूलहरू मुस्काराएका कविता छन । समसामयिक राजनीतिले निम्त्याएको वितृष्णा, विसंगति प्रतिको बिम्बात्मक व्यङ्ग्य छ । परदेशिभूमिको पीडा, कठिन जनजीवन, भौतिक सुखले दिन नसकेको मानसिक सुखको खोज र चिन्तन छ।

“उडेका पैताला” सङ्ग्रह भित्र नेताका कर्म, कुकर्म समेतको उपस्थिति छ। प्रेम-प्रणयले भरिएका कवितादेखि वालपयोगि , युवा तथा प्रौढ सबै वर्गलाई सम्बोधन हुने कोटीका कविताहरू छन। उडेका पैतालाले अनगिन्ती रहर बोकेर गन्तव्य भेटन लहर बनेर हिंडे जस्तै कविताहरू यस सङ्ग्रह भित्र छन।

साहित्यले चेतना दिन्छ । अनुभव र अनुभूतिलाई साक्षात्कार गराउछ। पुस्तान्तरण गर्न साहित्य सहयोगि हुन्छ। भावि पुस्तालाई साहित्य, कला र संस्कृति हस्तान्तरण गर्नु हाम्रो अभियान र दायित्व हो। हामीले कविताबाट दिने भनेको ज्ञान हो। चेतना र सन्देश हो । भनिन्छ कविताले कतै न कतैबाट मस्तिष्कमा कम्पन ल्याउन सक्यो भने कविता, कविता जस्तो हुन्छ । कवि महेश्वर पंतका फुटकर कविता समेत सकारात्मक कम्पन पैदा गर्ने दर्जाका छन भने सिङ्गो सङ्ग्रहले रचनात्मक कम्पन दिने छ भन्ने लाग्यो । कवि पंतकको “उडेका पैताला” ले परदेश र घरदेश जोडेको छ । भावलाई यथेष्ट रुपमा काव्यमय बनाएर कवितालाई संरचनामा ढालिएको छ । कविता सरल छन। सामान्य साक्षरले पनि बुझन सकिने कविता छन । बोलिचालिमा प्रायः हराउँदै जान लागेका बिम्बले सङ्ग्रह भित्र उचित स्थान पाएका छन । असफल गौतमको भाषा सम्पान तथा रमेश दाहालको सुन्दर आवरण रहेको सङ्ग्रह एकै बसाइमा पढेर सकिने खालको छ। कवि पंतको कविता कृति “उडेका पैताला” ले सदा सकारात्मक कम्पन ल्याउन सकोस् । भविष्यमा अझ सशक्त कविता, कथा तथा आख्यानले नेपाली साहित्यको भण्डारमा थप चुली थपियोस्। साहित्य सिर्जना अझ सिर्जनात्मक बनोस् ।सर्जक महेश्वर पंतलाई हार्दिक शुभकामना ।

-ऋषभदेव घिमिरे

[email protected]

प्रतिक्रिया