कट्टु

जगन्नाथ पौडेल २०८० मंसिर ७ गते २३:४७ मा प्रकाशित

धोल्लिंदै गएपछि दुर्गन्धले

बस्न छाड्छ राजधानीको कम्मरमा

लाज ढाक्ने कट्टु

फुत्तफुत्त खस्न थाल्छ घुँडामुनि

जान्छु बरु

घाम ताप्छु भन्छ पर कुनामा

मिल्किएपछि गल्लीका अँधेरी कुनाहरूमा

कमिलाको सिकार बन्छ

कम्मर कस्ने तुनो

मुसाको दाँतले टोक्छ

लाज छेक्ने दैलोको चोक्टा

मालिकको नजरले फुर्सद नपाएपछि

कट्टु सिहार्न

लुक्न थाल्छन्

गिजिङगिजिङ बिच्छुहरू

कट्टुकै छानो हालेर

घेर्न थाल्छन् सुरुङ बनाएर

सिलिङबिलिङ धमिराहरूले

अझै पनि

ढाकाटोपी लगाएका ज्ञानीहरू

हात पुछ्ने टालो बनाउने दाउमा छन्

चुल्ठो बाटेका पारूहरू

मक्किएको श्रीपेच पुछ्ने दाउमा छन्

अनि सडकमा उफ्रेका चङ्खहरू

धुवाँ उडाएर न्यानो ताप्ने सुरमा छन्

ओ…!

लौन…!!

गुहार…!!!

गुहार… !!!!

कोही त बचाऊ

मेरो फाटेको

कट्टुलाई

उतातिर राजनीतिको हावा बग्दैछ !

यतातिर इनकलाबको सालिक ढल्दैछ !

प्रतिक्रिया