रौतहट
छठ पर्वलाई लोकपर्वको रुपमा सर्वत्र चिनिएको छ । विश्वभर फैलिइसकेको लोकपर्व छठको ‘आदिभूमि’ भनेर चिनाउँदै गरिएको रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटमा भने सबै धर्म र सबै जातले छठपर्वलाई समान आस्थाको रुपमा मनाउने गरेको पाइएको छ ।
समनपुरस्थित छठघाटमा धार्मिक कार्यक्रमको लागि सजाइएको मंचमा बज्जिका भाषामा लेखिएको छ – “समनपुरमा उत्पत्ति भएर विश्वभर विस्तार भइसकेको छठ पबनीको आदिभूमि समनपुर छठघाटमा सम्पूर्ण व्रतालु, श्रद्धालु र आगन्तुकलाई स्वागत गर्दै सबैको मनकामना पूरा होओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।”
रौतहटको गढीमाई नगरपालिका २ समनपुरका वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ भन्छन् – “छठ पबनीको आदिभूमि समनपुरको बागमती किनारमा सबै धर्मावलम्बीले श्रद्धा, निष्ठा र भक्तिपूर्वक छठ पर्व गरेका छन् ।” मधेशी समुदायको बाहुल्य रहेको र केही परिवारमात्र नेवार रहेको वडाको वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भइसकेका श्रेष्ठ भन्छन् –“सबै धर्म र सबै जातको साझा पर्वको रुपमा छठ पबनी आफ्नो आदिभूमिमा मनाइनु विश्वभरका श्रद्धालु र भक्तजनकालाई गौरवको विषय हो ।”
समनपुर घाटमा हिन्दु समुदायभित्रका सबै जातजातिका साथै नेवार र मुस्लिम समुदायले पनि छठ पबनी गर्ने गरेका छन् । छठको कठोर व्रत सबै धर्म र सबै जातको साझा पर्व भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । समनपुरका नौ घर नेवार समुदायले आस्था र निष्ठापूर्वक छठ पबनी मान्ने गरेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ । श्रेष्ठ भन्छन् – “मेरो परिवारमा पनि छठ मनाउने गरिएको छ ।” आफ्नो वडाको तीन ठाउँमा छठ हुने गरेको बताउँदै वडाध्यक्ष श्रेष्ठ भन्दछन् – तराईमा यत्तिको उत्साहपूर्वक मनाइने कुनै पर्व छैन ।
आदिकालमा पाण्डवको अज्ञातबास सफलताको लागि पहिलोचोटि द्रोपदीले छठ पर्वको सुरुआत समनपुरकै बागमती किनारमा गरेको र यहीस्थित महादेव मन्दिरमा रहेको गुफामा पसेर गुप्तबासको सुरुआत गरेको किंवदन्ती रहेको छ । यहीबाट द्रोपदीसहित पाण्डवहरु गुप्तबासका लागि राजा विराटको दरबार विराटनगरतर्फ गएको विश्वास रहेको छ ।
बागमती किनारमा हुने छठ पूजा समितिका अध्यक्ष अमितकुमार सोनीले सबै धर्मको साझा पर्वको रुपमा रहेको छठको आदिभूमिमा छठ पर्वको मौलिकता देख्न पाइने बताएका छन् । पूजा समितिका अध्यक्ष सोनीले यसपटक छठघाटको व्यवस्थापनमा कम्तीमा आठ लाख रुपैया खर्च भएको बताउँदै छठघाट व्यवस्थापनको लागि आर्थिक स्रोत सर्वसाधारण व्रतालु परिवार नै हुने गरेको छ । समाजका अगुवाहरुले छठको लागि आफूखुसी नै चन्दा दिने गरेको सोनी बताउँछन् ।
स्थानीय समाजसेवी कामेश्वर सहनीले छठको आदिभूमि समनपुरमा मुस्लिम समुदायका पनि कैयौँ पुस्तादेखि छठ पर्वको व्रत गर्ने गरेको बताएका छन् । गाउँमा दलितदेखि मुस्लिम तथा नेवार समुदाय समेतले छठपर्व अत्यन्त मर्यादित किसिमले मनाउने गरेको समाजसेवी सहनी बताउँछन् । समाजसेवी कामेश्वर सहनीले छठ पबनीको आदिभूमि भएकोले समनपुरले छठको दायित्व र संस्कार दुवै बुझेकोले संस्कृति निर्वाह गर्न जहिले पनि अग्रभूमिका निर्वाह गर्ने गरेको छ ।
संस्कृतिसम्बन्धी हरेक काममा आफ्नो सहभागिता सक्रिय रुपमा रहने गरेको र आफ्नै गाउँको भूमिबाट सुरुआत भएको छठको लोकप्रियताले आफ्नो छठघाटको गौरव बढेर गएको समाजसेवी सहनीको भनाइ छ । छठको आदिभूमिको महत्व र अपनत्व देशले पनि बुझ्नुपर्ने र ग्रहण गर्नुपर्ने स्थानीयबासीको भनाइ छ ।
स्थानीय मुस्लिम अगुवा नेक महम्मदले समनपुरघाटमा तिन दर्जनभन्दा बढी मुस्लिम परिवारको तर्फबाट अर्घ दिने गरेको बताउँछन् । कम्तीमा दुई परिवारले सम्पूर्ण नियम, नीति र निष्ठापूर्वक विधि पूरा गर्दै छठ पबनी घाटमा नै गर्ने गरेको नेक महम्मदको भनाइ छ । उनी भन्छन् –भाकल पूरा भएपछि मुस्लिम समुदायले पनि छठ मनाउने गरेका छन् । स्थानीय सबै मुस्लिम समुदायको छठप्रति श्रद्धा र विश्वास रहेको नेक महम्मदको भनाइ छ ।
स्थानीय रविन्द्र सहनीले भने – छठ पर्वको विषयमा कहिल्यै कुनै विवाद नभएको आदिभूमि समनपुरमा सबै जात र धर्मको साझा पर्व हुने गरेको छ ।
बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले छठको आदिभूमि समनपुरमा छठ पबनीको दिन पुगेर दर्शन गर्न पाउने अवसर मात्र पनि छठ व्रतालु तथा श्रद्धालुको लागि महत्वपूर्ण हुने गरेको बताएका छन् । अध्यक्ष श्रीकृष्णले भने – स्रोत र परिवेशले समनपुरबाट नै छठ पबनीको सुरुआत भई विश्वमा विस्तार हुन गएको देखिएको छ ।
समनपुरबाट सुरु भएको लोकपर्व छठ बागमतीको किनार हुँदै दक्षिणमा पटनासम्म पुगेको र त्यहाँबाट गंगाको किनार हुँदै सबैतिर फैलिन गएको स्थानीयको अनुमान रहेको छ । नेपाल र भारतसँगै विश्वका अनेक देशमा मनाइने गरिएको लोकपर्व छठको आदिभूमि समनपुरमा सर्वधर्म र सर्व जातिको साझा पर्वको रुपमा विकास भएको देखेर विश्वमा नै यही प्रवृत्तिको विस्तार भएको संगम अध्यक्ष श्रीकृष्णको भनाइ छ ।
प्रतिक्रिया