सरकारले टिकटक बन्द गरिदिएपछी के भन्छन् ‘टिकटक क्रियटरहरु ? (भिडियो सहित)

इनेप्लिज २०८० मंसिर १ गते १२:१७ मा प्रकाशित

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ । समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा पनि फरक फरक धार देखिएको छ । यसैबीच सत्तारुढ घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । विकृतिलाई समाधान गर्ने भन्दै बन्द नै गर्नु गलत भएको उनको भनाइ छ ।

त्यस्तै, टिकटकमा आफू सक्रिय राखेर विभिन्न तवरले आम्दानी गर्दै आएका टिकटकरहरुले भने सरकारको यस निर्णयको चर्को आलोचना गरेका छन् । टिकटकमा सक्रिय रहेकी मोडल कविता नेपाली टिकटक बन्द गर्ने सरकारको निर्णय पूर्णरुपमा गलत भएको बताउँछिन् ।

‘सरकारले किन यस्तो गरेको हामीलाई थाहा छैन । तर यस किसिमको निर्णय गलत हो’, उनले भनिन् ।

त्यस्तै, चर्चित टिकटकर प्रीन्सी खतिवडाले रोजगारीको अभाव भएको अवस्थामा टिकटककै कारण धेरै आफ्नो गुजारा चलाउन सकिरहेको अवस्थामा सरकारले टिकटक व्याण्ड गर्ने निर्णय गर्नु एकदमै गलत हो ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘टिकटक प्रयोगकर्तालाई उपेक्षारुपमा हेर्ने गरिन्छ त्यसैमा सरकारले पनि यस्तो निर्णय गर्नुले हाम्रो प्रयासलाई हतोत्साहित बनाएको छ ।’

अर्की कलाकार प्रियाना आचार्य (मुन्नी)ले जहाँ अडियन्स धेरै हुन्छन् त्यहीँ कला देखाउने हो । त्यस क्रममा टिकटकमार्फत धेरै दर्शकसामु पुगेको बताइन् ।

‘सरकारले यसरी टिकटक बन्द गर्नुले हाम्रो कलाकारितालाई सीमित बनाउँछ, किनभने टिकटकबाटै धेरै दर्शकसमक्ष पुग्न सकिने भएकाले नै प्रयोग गर्ने गरिएको हो ।’ टिकटकको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्षलाई मात्रै आफूले फिल्टर गरेर अघि बढ्न सकिने आचार्यले बताइन् ।

त्यस्तै, मोडल गरिमा शर्माले आफू टिकटकबाटै उदाएको भए पनि हालका लागि सरकारले गरेको निर्णयमा आफू तटस्थ रहेकाे बताइन् । उनले आफूले टिकटक चलाउँदा छाडापन नभएको बताउँदै अहिले अति नै विकृति बढेको र भ्यूजकै लागि जे पनि गर्ने प्रवृत्ति देखिएकाले सरकारको निर्णय सही भएको उनको भनाइ छ । ‘टिकटकले कलाक्षेत्रमा आउन धेरैलाई अवसर दिए पनि पछिल्लो समय टिकटक काण्डैकाण्डको थलो बनेको छ’, उनले भनिन् ।

https://www.youtube.com/watch?v=bbSQkw6EQAU

प्रतिक्रिया