खुशीको कुनै कला हुँदैन !

दिपेश पराजुली २०८० कार्तिक २४ गते १४:१२ मा प्रकाशित

कुनै कविको मस्तिस्कमा कल्पिएको शब्द
जब कागजमा उत्रिन्छ
कुनै संगीतकारको अन्तस्करणमा बजेको आवाज
जब संगीत बनि गुन्जिन्छ
बर्षौसम्म बिछोडिएका प्रियजनहरु
जब आँखा अगाडी भेटिञ्छन
पर्खाइमा छटपटिएका आत्माहरु
जब प्रेमालापमा रमाउञ्छन
हृदयमा खिया बनि बसेको बैमनस्य
जब समयको छालले पखालिन्छ
असह्म पीडाले रन्थनिएको घाउ
जब बिस्तारै आफैं सम्हालिंछ
मानिस साँचै खुशी त्यो बेला हुन्छ
जब उसको मन कालातीत हुन्छ
विचारको प्रवाह बन्द भई
जब शुन्यताको जीत हुन्छ
खुशी, समय र सन्जोगको प्रतिफल होला बरु
तर खुशीको कुनै कला हुँदैन !

हर एक मानिसको यहाँ
आफ्नै प्राकृत स्वभाव हुन्छ
फरक मनोवृत्ति अनि
बेग्ला बेग्लै लगाव हुन्छ
कोही दौडिएर रमाउलान
अनि कोही ठहरिएर
कोही रित्तिएर रमाउलान
अनि कोही भरिएर
कसैलाई हिमालको ऊँचाईले बोलाउला
कसैलाई जंगलको हरियालीले फकाउला
खुशी एक व्यक्तिगत अनुभूति हो
जो स्वहृदयबाट आफैं उठ्दछ
तन्त्र मन्त्र साधना भन्दा माथी
जुन स्वभावत नै जाग्दछ
खुशी कदापी कहिँ सिक्न सकिन्न
अर्काको झोलीबाट झिक्न सकिन्न
खुशी, ईर्ष्या र अहंकारको अभाव होला बरु
तर खुशीको कुनै कला हुँदैन !

त्यसैले त-
खुशीको यो अनौठो मिथ्याभासमा
मनको यस्तै उत्कण्ठ मृगतृष्णामा
कोही सबै भएर पनि भिखारी रहन्छन
कोही सबै लुटिएर पनि बिजेता बन्दछन
खुशी शायद रहन्छ त्यहाँ ,
जहाँ कुनै बन्धन छैन
हृदय नाच्छ स्वछन्द त्यहाँ,
जहाँ कृतिम क्रन्दन छैन
जसरी जीवनको कुनै बर्णमाला हुदैन
जसरी प्रेमको कुनै पाठशाला हुँदैन
खुशीको कुनै कला हुँदैन !
खुशीको कुनै कला हुँदैन !!

प्रतिक्रिया