फूल हौ तिमी बोलको गीत सार्बजनिक

नातिबाबु भट्ट २०८० कार्तिक १८ गते २३:१६ मा प्रकाशित

नोभेम्बर ४, २०२३
कोलोराडो, अमेरीका

लोकप्रिय एवं कुशल गीतकार ज्ञानेन्द्र गदालको शव्द, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र निशान भट्टराई एवं अस्मिता अधिकारीको सुमधुर स्वरले सजिएको फूल हौ तिमी नामक कर्णप्रीय गीत एक समारोह बिच श्रव्य दृश्य सहित सार्बजनिक गरिएको छ ।

गीतकार संघ, नेपालद्वारा शुक्रबार काठमाडौँमा आयोजित लोकार्पण समारोहका प्रमुख अतिथि समेत रहेका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले YouTube मार्फत उक्त गीत सार्बजनिक गरेका हुन ।

लोकार्पण पछि मन्तव्यका क्रममा प्रमुख अतिथि बास्कोटाले गीतकार ज्ञानेन्द्र गदाल र संगीतकार सन्तोष श्रेष्ठको गीतसंगीतप्रतिको लगाव, स्तरीयता कायम र निरन्तरताको चर्चा समेत गरेका थिए । कार्यक्रममा इनास ग्लोबलकी उपाध्यक्ष, समाजसेवी एवं चलचित्र निर्मात्री सावु गदाल कार्की र इनास अमेरिकाका पूर्व अध्यक्ष गायक कन्हैया सिंहले प्रवासमा नेपाली गीत संगीतको विकास र लोकप्रियताका बारेमा गहन चर्चा गरेका थिए ।

समारोहमा संगीतकार सन्तोष श्रेष्ठले विमोचित गीत सिर्जनामा गीतकार र गायक गायिकासंगको सहकार्यका बारे चर्चा गरेका थिए । संचारकर्मी सहित साहित्य संगीतका पारखिहरुबाट खचाखच समारोहको सभापतित्व संघका अध्यक्ष गीतकार वशन्त बि.थापाले गरेका थिए भने, उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।

सौरम राज तुलाधरको निर्देशन र शम्भु मोक्तानको छायांकनमा मोक्तान डिजिटलद्वारा निर्मित उक्त गीतमा निकेश धामी र श्रद्धा भण्डारीको अभिनय रहेको छन् । गीत काठमाडौँमा रेकर्डिङ्ग गरिएको हो भने दृश्य छायांकन अमेरिकाको सानफ्रान्सिस्कोमा गरिएको हो ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया