मौरीको घार नचलाएसम्म
मौरी तिमीलाई चिल्न आउँदैन
सर्पको दुलो नभत्काएसम्म
सर्प तिमीलाई डस्न आउँदैन
हात्तीसारमा धावा बोले पछि हो
हात्ती मात्तिएको
बाघको गुफा छेडखानी गरे पछि हो
बाघ गाउँ पसेको
त्यसैले अरुको घरमा
तिमी हस्तक्षेप गर्न छोडिदेउ
आफ्नो घरलाई जस्तै
अरुको वासस्थानको पनि
सम्मान गरिदेउ
दिनभरी रेस कोर्समा दौडने घोडा
दिन ढलेपछी तबेलामा सुस्ताउँछ
हरदम पानीमा पौडीने माछा पनि
अन्ततः कुरमा पुगेर विश्राम गर्छ
चिरबिर चिरबिर गर्दै
आकाश ढाकेर उड्ने चरा पनि
रात परेपछि आफ्नै गुँढमा फर्किन्छ
शान्तिको सन्देश बोक्दै हिंड्ने परेवा
थकान मेट्न गञ्जमा समय बिताउँछ
उ त झन मान्छे हो
त्यसपछि मात्र प्यालेस्टाइनी
के उसले आफ्नो घरमा बस्न पाउनु पर्दैन र?
उसको पूर्खाको रगतले सिंचिएको भूगोल
उसले मेरो हो भन्न पाउँदैन र ?
उसका बाउबाजेका छाला
तिमीले हस्तक्षेप गर्यौ
चारैतिरबाट घेरेर अतिक्रमण गर्यौं
धेरै तिमीले लियौ
थोरैमा उसलाई चेपेर राख्यौ
उसले सहेकै थियो
मन कुँड्याएर भएपनि
चुपचाप बसेकै थियो
तिमीले त्यसमा पनि चित्त बुझाएनौ
तिम्रा रक्तरंजित नंग्राले
उसलाई दिनरात कोपर्न छाडेनौ
बिरालोलाई ढोका थुनेर कुटेपछी
गला समाउँछ नै
सबै मिलेर चारतिरबाट न्याकेपछी
जीवन रक्षार्थ हात खुट्टा चलाउँछ नै
उसको त्यही प्रतिकार
तिमीलाई आतंकबाद लाग्छ
तिमीलाई पर्दा चाहिं
मानवताको डंका पिटिन्छ
उसका घर बमले उडाईन्छ
बस्तीमा रकेट खसाईन्छ
तिम्रो रगत रगत अनि
उनीहरूको रगत
किन पानी झै बगाईन्छ ?
अबोध बालबालिका
वयोवृद्ध अभिभावकका
छातीमा ट्यांक कुदाउनेहरुले
उनीहरुले खाने पानीको पाईप
उखालेर फालिदिनेहरुले
बिजुलीको लाईन काटेर
अन्धकार लाद्नेहरुले
अब हिटलरलाई क्रुर भन्न छाडिदिए हुन्छ
युद्धमा यतिसम्म अन्धो बन्छौं भने
रगतको होलीमा
यो हदसम्म उन्मत्त हुन्छौं भने
मुसोलिनीको युद्ध अपराध
अब पढाउन बन्द गरे हुन्छ
अझैसम्म पनि नरसंहार होईन यो भन्छौं भने
मानबताको डन्का पिट्न
अब छाडिदिए हुन्छ
हो रगत तिम्रो पनि बग्नु हुन्न
रगत उसको पनि बग्नु हुन्न
रगत कसैको पनि बग्नु हुन्न
रगत कसैको एक थोपा पनि
बग्न नदिने हो भने
बिश्वमा शान्ति अमनचयन
बहाली यदि गर्ने नै हो भने
युद्धको खेती गर्न पल्केकाहरुको धन्दा
सधैंकोलागी बन्द हुनुपर्छ
युद्ध रोपेर युद्ध बेच्न पल्केकाहरु
के आफ्नो ब्यापार सधैंकालागी
बन्द गर्न तयार हुन्छ्न् त ?
युद्ध बेच्नेहरु चुप नलाग्दा सम्म
रगतको होली रोकिने छैन
आफ्ना पुर्खाले सिर्जेको
हजारौं बर्षदेखि चर्चेको
पूर्ख्यौली थातथलोबाट
उठिबास लगाउन नरोकिंदासम्म
बदलाको आक्रोश मेटिने छैन
त्यसैले अरुको घर नउजाड
गुँढ नभत्काउ
बचेराहरुको बिचल्ली नपार
तिमी शान्त बस
अरुलाई पनि शान्तिसंग बस्न देउ
हेक्का रहोस् –
उ पहिला मान्छे हो
त्यसपछि मात्र प्यालेस्टाइनी।
मदन बस्नेत, _क्यानाडा
प्रतिक्रिया