इजरायलमा शनिबार बिहान (७ अक्टोबर २०२३) भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ घोर भत्सर्ना गर्दै यस विषम् घडीमा इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दछ । गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहिन छन् । आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।
गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद् आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको छ । नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको छ ।
यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँ स्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न अनुरोध गर्दछौँ । साथै नेपाल स्थित समस्त अभिभावकहरुलाई पनि धैर्यता राख्न र संयमता अननाउन अनुरोध गर्दछौँ ।
प्रतिक्रिया