आपसी सद्भाव र एकता आवश्क छ–उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

इनेप्लिज २०८० असोज ८ गते २१:५२ मा प्रकाशित

विराटनगर, ८ असोज : उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षा सम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

गृहमन्त्री श्रेष्ठले सार्वभौमसत्ता, अखण्डता, सामजिक तथा आर्थिक रुपान्तरणका लागि सद्भाव र सहिष्णुतालाई एकतावद्ध बनाएर लैजानु पर्ने भन्दै समृद्धि र विकासका यात्रालाई पूरा गर्न आपसी एकता आवश्यकत छ भत्रुभयो ।

उहाँले विविधता र एकतालाई सुमधुर बनाई समाजमा एकता र शान्तिसुरक्षा कायम राख्नु पर्ने बताउँदै देशमा देखिएका चुनौतीलाई मूलभूत रुपमा समाधान गर्न राजनीतिक तहबाट असल वातावरण सृजना हुनु पर्छ भन्नुभयो ।

गृहमन्त्री श्रेष्ठले एकता र सद्भाव भित्र नै सबैका अधिकार सुरक्षित रहने भएकाले सबैको राय परामर्श एवं सल्लाह आवश्क छ भन्दै राष्ट्र सहमतिका लागि एउटा नयाँ वातावरण सुजना गर्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले जातीय, भाषिक र सांस्कृतिक पक्षमा एकता कायम गराउन सबैसँग छलफल र एकता कायम गरेर सहिष्णुता बनाउनु पर्ने धारणा राख्दै लामो बलिदानी र सङ्घर्षबाट प्राप्त उलब्धीलाई रक्षा गर्न सबै राजनीतिक दलहरु बीच सुमधुर सम्बन्ध हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका छ जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, कोशी प्रदेश सशस्त्र प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, प्रदेश स्तरीय राजनीतिक दलका प्रमुख, नागरिक समाज, उद्योगी एवं व्यापारिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया