पुस्तक समीक्षा‘चित्रगुप्तको ल्यापटप’ कथासङ्ग्रह र बाँस्कोटा धनञ्जय

भवानीप्रसाद पोखरेल २०८० असोज ३ गते १२:३६ मा प्रकाशित

पाँचथर जिल्ला, फिदिम–७, रानीटारमा जन्म भई दमक–९, झापालाई कर्मथलो बनाउँदै दमक बहुमुखी क्याम्पस, झापामा उप–प्राध्यापक अङ्ग्रेजी विषयमा अध्यापन गराउँदै समाजसेवा र साहित्यमा रमाउने श्रष्टा बाँस्कोटा धनञ्जयको पहिलो कृति ‘चित्रगुप्तको ल्यापटप’ कथासङ्ग्रह २०७७ साहित्यको बजारमा आएको पाइन्छ । म आज यसै पुस्तकको छोटो समीक्षा गर्न गइरहेको छु ।

यो कृति प्रकाशित हुनु अघि फुटकर कथा, समालोचना तथा संस्मरणहरू इलामबाट प्रकाशित मेची प्रवाह २०४५, फिदिमबाट प्रकाशित कावेली र रवि साप्ताहिक २०४६, बिर्तामोडबाट प्रकाशित नयाँ कामना साप्ताहिक, भद्रपुरबाट प्रकाशित आलोक साप्ताहिक, रहर, जुही, नवरङ्ग तथा नागरिक दैनिक (पूर्वेली अङ्क) समेतमा फुटकर लेख रचनाहरू प्रकाशित भइसकेका छन् । उहाँले आधा दर्जनभन्दा बढी सम्पादनको कार्य गरेको पाइन्छ । धेरै संघसंस्थामा आबद्ध रही केही थान सम्मान तथा पुरस्कार पनि प्राप्त गरी सक्नुभएको छ ।

यो कथा सङ्ग्रह भित्र पन्ध्र थान कथाहरूले टम्म भरिएको छ । मूल्य रु. २७५।– रहेको छ । दमकका पुस्तक पसलहरूमा सहज ढङ्गबाट उपलब्ध रहेको छ । कथाव्रmम निम्न बमोजिम रहेको छ – कागजको मण्डप, शिवजीलाई पानी, सिउँदो, रोल नं. सिक्स, फोटाकी स्वास्नी, पहिली श्रीमतीलाई चिठी, मेरो छोरीको बाबु, फ्रेण्ड रिक्वेस्ट, भावना भर्सेस भावना, चित्रगुप्तको ल्यापटप, छोरो, धुलोको गलैँचा, पानीको दियो, कालीगण्डकी र म, सिमान्त जेनीहरू । यो सङ्ग्रहको दसौँ नम्बरको चित्रगुप्तको ल्यापटप शीर्षकको कथाबाट यसको न्वारन गरी यो सङ्ग्रहको नाम ‘चित्रगुप्तको ल्यापटप’ राखिएको छ । भाषा सरल छ, मनोवैज्ञानिक धार छ । पढ्दा वोधगम्य छ, अनौठो स्वादको छ, पढ्दै गर्दा कौतुहलता जागेर आउँछ । लेखकलाई धन्यवाद छ ।

‘नेपाली कथामा मनोवैज्ञानिक धारको निरन्तर विस्तार सन्दर्भः धनञ्जयका कथा’ भनी प्रा.डा. गोविन्दराज भट्टराई, कीर्तिपुरद्वारा साढे पाँच पेज पस्कदै समीक्षात्मक ढङ्गले मूल्याङ्कन गर्नुभएको छ । ‘आफ्नै कुरा’ भनी स्वयम् कथाकारले अढाइ पेज लेख्दै ‘यहाँहरूको विचार र टिप्पणीका आयामहरूको सदैव स्वागत गर्ने प्रण गर्दछु’ भनिएको छ ।

साहित्य, कला र संस्कृति हाम्रो समाजको गहना हो, साहित्यको माध्यमले समाजमा परिवर्तन ल्याउन सक्तछ । यसभित्रका कथाले समग्र समाजको यथार्थ चित्रणलाई उजागर गर्ने प्रयत्न गरिएको छ । राम्रा कथाले मानवलाई जिउने कला सिकाउँछ । गाउँघर, सहर, बजार, बिदेशमा घटेका घटनालाई टपक्कै टिपी कथाकारले देखेका, भोगेका, सुनेका विषयवस्तुलाई समेत कथाको जलप लगाई पाठकका लागि पस्कनुभएको कुरा सह्रायिन छ । यस सङ्ग्रहभित्र हाम्रो जीवन छ, समाज, घरपरिवार छ, यिनै बिच सुखदुःखमा चाकाचुली खेलिरहेका पात्रहरू पाइन्छ, स्वादको विविधता पाइन्छ, मानिसका समस्या र भोगाइका कथा सरल भाषामा सलल बगेका छन् । कथाका शीर्षकहरू सार्थक छन् । नारी समस्यालाई बढी उठाइएको छ । सामाजिक यथार्थलाई केलाएर निफनिएको छ, माझिएर टलक्क पारेको छ । समाजलाई ऐना देखाइएको छ । यो मेरो ठम्याइ हो ।

यस भित्र छोरीहरूले पढ्नै नपाइ विवाह गरेको प्रसङ्ग छ, नारीहरूको भोगाइ छ, कथा मनोजगत्को अत्यन्त सूक्ष्म मनोविश्लेषणमा आधारित रहेको छ, सबै कथा नर–नारी सम्बन्धका छन् । स्वेरकल्पनाको पनि प्रयोग गरिएको छ ।

निरासाका कथाहरू पनि छन्, खुसीका पनि छन्, कथाका भाषा बडो बिम्बात्मक र मोहक लाग्दा छन् । यो मेरो विचार हो । जुनसुकै घटना र परिवेश माथि लेखिएको विषयवस्तु नै कथा हो, जुन मर्मस्पर्शी, बिहङ्गमपूर्ण र प्राञ्जल हुने गर्छ । यी कथाहरू पनि यी तत्वको नजिक पुगेको मान हुन्छ । यी कथाहरू राम्रा र कलात्मक छन्, उनका कथामा फरक शैली झल्किन्छ । जस्तै चित्रगुप्तको ल्यापटप कथामा पनि पस्किएको छ । यो सङ्ग्रहले पाठकको मन जित्ने छ, कथाकारले आफ्नो भाषा र शैलीले पात्रहरूलाई बोल्न लगाएका छन् । यी कथाहरूले बोकेको बुद्धिवादी चेतना मनको गहिराइसम्म छताछुल्ल भएर पोखिने छ । यो मेरो विचार हो ।

म अब कथावस्तुको सारसङ्क्षेपतर्फ लाग्दैछु । पहिलो कथा ‘कागजको मण्डप’ रहेको छ । एलिजा र दामोदर धनकुटा क्याम्पसमा पढेका पात्र छन् । पाँचथरको स्वास्थ्यचौकी उद्घाटन गर्न दामोदर मन्त्री भएर गएको, एलिजा शिक्षक भएको हुँदा मन्त्रीलाई माला पहिराई एलिजाले स्वागत गरेको तर दामोदरले नचिनेको प्रसङ्ग छ । ठुलो मान्छे भएपछि सानालाई बिर्सने संस्कार देखा परेको छ । दोस्रो कथा ‘शिवजीलाई पानी’ द्वन्द्वकालमा इलामबाट विस्थापित भई डेरा लिएर काठमाडौँमा बसेको, माथिबाट पानी चढाउँदा घरपटीको छोरी भिजेको प्रसङ्ग छ । तेस्रो कथा ‘सिउडी’ विदुर हुलाकीले चिठी दियो । त्यो चिठी निलकण्ठका हातमा प¥यो, यिनका दुई भाइ छोरा एक छोरी हुन्छन् । छोरीको विवाह भइसकेको छोरा रजतले धरानमा कोट म्यारिज गरेको, पछि इटहरीमा दुर्घटना परी मरेको, धरानमा भएकी बुहारी कालिकालाई ल्याएको, व्रिmयामा सालिकराम बसेको, बुहारीले अंश मुद्दा हाली घर खाली गराउने चिठी आएको, घरको छेउको सिउडीको बोट उखेलेर फालेको प्रसङ्ग छ ।

चौथो कथा ‘रोल नं. सिक्स’ लय सर गणितका शिक्षक हुन्छन् । कक्षा ६ का विद्यार्थी रोल नं. सिक्स पढ्न भुस्कोल हुन्छन्, उनी विद्यालय ट्रान्सफर गरेर विराटनगर आउँछन् । उनकी दिदी पढाइ र खेलकुदमा अब्बल हुँदा लय सरले मनपराएको प्रसङ्ग छ । पाँचौँ ‘फोटाकी स्वास्नी’ महेश बैदेशिक रोजगारमा दुवइमै हुन्छ । इलाम मङ्गलबारेकी कल्पनासँग म्यासेन्जरमा भेट हुँदा विवाहको प्रस्ताव स्विकार हुन्छ, कोरोना काल भएकोले बेहुला आउन नपाउँदा फोटोसँग विवाह गरेको प्रसङ्ग छ । छैठौँ कथा ‘पहिली श्रीमतीलाई चिठी’ यो कथा पेज पचासमा पढ्न पाइन्छ । श्रीमतीको नाम शर्मिष्ठा हुन्छ । यता शीतलाको शर्मिष्ठाको पतिलाई मनपराई जवर्जस्ती पार्टीले विवाह गराएको प्रसङ्ग छ । चिठीमा गनथन गरी उही तिम्रो अभागी श्रीमान् जयतु भनिएको छ ।

सातौँ ‘मेरी छोरीको बाबु’ इजरायल काम गर्ने महिला ताप्लेजुङबाट काठमाडौँ जाने बस चढेको बाटोमा एक युवक पनि चढेका यी दुवैको वार्तालाप हुँदा मनमिलो । तपाईं मेरी छोरीको बाबु बन्न सक्नुहुन्छ भनेर अनौठो नाता जोडिएको प्रसङ्ग छ । आठौँ नम्बरको कथा पेज ७६ मा पढ्न पाइन्छ ‘फ्रेन्ड रिक्वेस्ट’ कलेज पढ्ने विद्यार्थी बिहान पढ्दै दिउँसो नोकरी गर्ने प्रसङ्ग छ । अञ्जना सहकारीमा, विशाल गाडीको सोरुममा साथै एक विद्यार्थी जाडोमा पनि एकसरो लुगा लगाएर आउथे । किताब पनि नभएको पछि त्यो अभय इराक गएको प्रसङ्ग छ ।

नौँ नम्बरको कथा ‘भावना भर्सेस भावना’ रहेको छ । भावनाका पति सौगात शिक्षक थिए । अभाव दूर गर्न भावना इजराइल पुग्छिन् । घरमा छोरी छोडेर त्यहाँको घरपटी बुढाभन्दा दस वर्ष जेठी श्रीमती हुन्छन् । धनको लोभमा विवाह गरेको हुँदा सन्तान नहुँदा भावनबाट एक बच्चाको प्रस्ताव राख्तछन् । उनी पनि मान्दछिन् । धनको लोभमा छोरा जन्मेपछि काठमाडौँ आएर घर किनेर बसेको प्रसङ्ग छ ।

दश नम्बरको कथा ‘चित्रगुप्तको ल्यापटप’ रुविना नामकी पात्रले सपना देखेको प्रसङ्ग छ । श्रीमान्ले उजुरी दिएपछि चित्रगुप्तले यमलोक पु¥याएको प्रसङ्ग छ । एघार नम्बरको कथा ‘छोरो’ शीर्षकको छ । गोपी दाइ जिल्ला स्तरीय नेता हुन्छन् । राजनीतिमै धन सकिन्छ । छोरालाई असल शिक्षा, संस्कार दिन नसक्ता कुबाटोमा लागेको प्रसङ्ग छ । बाह्र नम्बरको कथा ‘धुलोको गलैँचा’ यस कथामा पुरुष पात्र सरल स्वभावकी र निर्दोष चिया पसले युवतीप्रति आकर्षित हुँदै गएको कथा छ । तेह्र नम्बरको कथा ‘पानीको दियो’ रहेको छ । १३८ पेजमा पढ्न पाइन्छ । जानुकाका हजुरबा खाँदबारीमा स्वर्ग भएको प्रसङ्ग छ । दमकबाट बिरामी हेर्न पुगेको कुरा छ । हजुरबाका ४२ सन्तान थिए, दियो निभेको प्रसङ्ग छ ।

चौध नम्बरको कथा ‘कालीगण्डकी र म’ एउटा भालेलाई पोस्न अर्को भाले सिध्याएको प्रसङ्ग छ । गोकुल र उनी होटल खोलेर कालीगण्डकीको किनारमा बसे । धेरै कमाउन गोकुल लखनउ गए । उतै घरजम गरे । त्यही रेल दुर्घटामा म¥यो । यता घरमा श्रीमती मात्रै हुँदा उनले ट्रक चालकलाई पर्खेको प्रसङ्ग छ ।

पन्ध्र नम्बरको ‘सिमान्त जेनीहरू’ यो कथाका पात्र जेनी र यशोधरा बिचको काठमाडौँमा भेट भई वार्तालाप छ । जेनी जर्मनी हुन् । लण्डन बस्छिन् । काठमाडौँमा भेट भएर बौद्धको डेरामा गएर माक्र्स र बुद्धको विचारलाई तुलना गर्न खोजिएको छ । लुम्बिनीको यात्रा पनि गरेको प्रसङ्ग छ ।

यो सङ्ग्रह पढेपछि नै यसभित्रको सबै कथाको कुरो र चुरो बुझ्न सकिन्छ । जे होस् सबै कथाहरू राम्रा छन् । लेखकको लेखनी यात्रा जारी रहोस् । मैले बाँस्कोटा धनञ्जयजीलाई राम्रो कथाकारको रूपमा पाएको छु । उहाँ एक सफल कथाकार हुनुहुन्छ । यसभित्र केही कमीकमजोरीहरू पक्कै छन् । म त्यतापट्टि लागिनँ भन्दै आजको समीक्षा कार्यबाट विश्राम लिन्छु । जय साहित्य ।

भवानीप्रसाद पोखरेल

विराटनगर–१०, ब्रह्मकुमारी मार्ग
मो. ९८४२५२६५६६

प्रतिक्रिया