मान्छे बग्न डराउँदैन

✍️ रुद्र बराल, असम २०८० असोज २ गते ३:०० मा प्रकाशित

लमतन्न सुतिरहेछ एउटा नदी

निरन्तर बगिरहेछ नदीको पानी

पानीसँगै बगिरहेछन् कति माछा

साना

ठुला

माछा खाने माछा

माछादेखि डराउने माछा

भाग्ने माछा

एउटै गतिमा बगिरहेछन्

कसैले कसैलाई निल्दै

फगत सुतिरहेछ नदी

मानौँ

यो उपत्यका

ऊ निदाउने ढुक्कको संसद हो

खोलो बग्दैन,

पानी बग्छ

पानीसँगै बग्छ माछा

माछा आफू सक्तैन बग्न

पानी चाहिन्छ

यो बगाइ अबिराम छ

सर्वत्र छ

पानी बग्छ,

माटो बग्छ,

ढुङ्गो बग्छ,

रुख बग्छ,

अनि बग्छ मान्छे

टाउकाभरि मरिकुच्चे गिदी बोकेर

मान्छेको बगाइसँगै बग्न सक्छ

एउटा सिङ्गो सभ्यता

मान्छे बग्दा मलाई असाद्धे डर लाग्छ

म डराए पनि मान्छे बग्न डराउँदैन

बेपरवाह बगिरहन्छ मान्छे

हावाको पुच्छर समाएर।

प्रतिक्रिया