वैदेशिक रोजगारमा खाडी प्रवेश गर्दाकोे पहिलो अनुभव

रमेश ढकाल झापा, भद्रपुर–७ (हालः दोहा–कतार) २०८० भदौ २३ गते ११:०९ मा प्रकाशित

सन् १९९६ को कुरा हो, म काठमाण्डौमा थिए । परदेशीने विचार मनमा आए संगै काठमाण्डौमा नै रहँदै आउनु भएका मेरा एकजना गाउँले दाइसँग आफ्नो मनको इच्छा जाहेर गरे । दाइले तुरुन्तै वहाँले चिन्नु भएको एउटा मेनपावरमा फोन गरेर सोधि दिनु भयो । संयोग नै भनौँ, तत्काल नै जान चाहेको हो भने एउटा अवसर छ, सम्बन्धित मान्छेलाई हाम्रो अफिसमा तुरुन्तै पठाइ दिनु भन्ने खबर उता बाट आएछ । मैले त्यस्तो मौका छ भने, जान्छु भनेर दाइलाई भने ।

दाइले सम्बन्धित मेनपावरको अफिस पुग्न मलाई सहज होस् भनेर हातले कोरेर एउटा रफ स्केच बनाएर दिनु भयो । प्राप्त स्केच फलो गर्दै म ३ बजे तिर त्यही दिन उक्त मेनपावरको अफिसमा पुगे । थाहा लाग्यो, साउदी अरबका लागि पहिले नै भिसा लागेर टिकट पनि बुक गरिसकेको एउटा मान्छे सम्पर्क बिहीन भएको कारणले उसैको ठाउँमा, उसैको पासपोर्ट प्रयोग गरेर मेनपावरले अर्को ब्यक्तिलाई पठाउन खोजेको रहेछ ।

त्यतिखेर २०–२१ को म अल्लारे केटो, छिट्टै विदेश पुगेर पैसा कमाउने भन्दा अर्को सोच मेरो मनमा थिएन । त्यतिखेर, ’विदेश त पुगौं, पैसा त रुखमा टिप्न पाईन्छ जस्तो लागेको थियो ।’ शायद यसैले होला, मैले कुनै समस्या हुँदैन भने जान्छु भनेर भने । त्यसो हो भने अबको ८ दिन पछिको फ्लाइट छ, लु तुरुन्त ६० हजार जम्मा गर भनेर मलाई भनियो । त्यत्रो पैसा थिएन ।

म भोलिपल्टै पैसा खोज्न झापा फर्किए । दुःखको कुरा सबै प्रयत्न गरे तर पैसा कतै भेटिएन । पैसा हराएको भए पो भेट्टियोस् पनि । अन्त्यमा आफ्नै दाजुले जुटाइदिनु भएकोे बीस हजार पैसा बोकेर म काठमाण्डौ फर्किए । भने जति पैसा नजुटे पछि, मेरो काम बन्ला जस्तो मानेको भने थिइन, तर खाडी पस्न जुरेको रहेछ । उक्त २० हजार जम्मा गराएर बाँकी पैसा केही समय पश्चात दिने सर्तमा अलिक ठुलै मान्छेलाई जमानी राखे पछि भने मेरो साउदी उड्ने सपना साकार हुने भयो ।

झापाबाट म र राजेन्द्र मेयाङ्बो, कठमाण्डौका उपेश श्रेष्ठ लगायतका हामी जम्मा १३ जना थियौँ । हामी काठमाण्डौ–सुनौली हुँदै दिल्ली पुग्यौँ । अर्को मान्छेको पासपोर्ट लिएर विदेश उड्न लागेको म एउटा सानो केटोको मनमा अनेकौँ तर्कनाहरू उठिराखेका थिए । पक्राउ पर्ने हुँ कि भनेर मन त्रास र भयले छटपटाई राखेको थियो । तर भाग्यवस त्यस्तो केही भएन । दिल्ली एयरपोर्टमा अध्यागमनका कर्मचारीले सामान्य चेकजाँच गरे पश्चात मेरो पासपोर्टमा थप्पा लगाइदिए । अन्य साथीहरुको पासपोर्टमा पनि थप्पा लाग्यो । त्यसपछिका औपचारिकता क्रमशः पुरा गर्दै हामी सबै साउदी उड्नका लागि साउदी एयरलाइन्सको एउटा ठुलो जहाज भित्र पस्यौँ । केहि समय पछि, जहाज उड्यो । मन थोरै ढुक्क भए पनि, मन भित्रको त्रास भने अझै मेटिसकेको थिएन । झन्डै साढे चार घण्टाको यात्रा पश्चात, हामी चढेको जहाज साउदीको दमाम पुगेर अवतरण ग¥यो ।

दमाममा ओर्लिएसंगै आवश्यक औपचारिकता पुरा गरे पश्चात, ब्यागेज क्यारोसेलबाट आ–आफ्नो ब्याग बोकेर हामी सबै बाहिरियौँ । हामीलाई लिनका लागि कम्पनी बाट श्रीलंकाका एकजना तिशा नाम गरेका व्यक्ति अघि नै एयरपोर्टमा आएर बसेका रहेछन् । उनको हातमा हामी जाँदै गरेको कम्पनीको नाम अब्दुल रहमान अल–ओतेशन लेखेको प्लेकार्ड रहेको हुनाले, उनलाई भेट्न हामीलाई धेरै गाह्रो भएन ।

उनको साथ लागेर हामी एयरपोर्टबाट निस्कियौँ । बाहिरको तातो हावा र गर्मीले हामी सबैलाई एकपटक नराम्रो गरी झस्कायो । हामीलाई लगेर एउटा कोस्टर बसमा राखियो । झन्डै आधा घण्टा यात्रा गरे पछि, दमामको अलकोभर भन्ने ठाउँमा रहेको कम्पनीको अस्थायी क्याम्पमा पुगेर बस रोकियो । एउटा पोर्टा क्याबिनमा हाम्रा लागि बस्ने व्यवस्था गरिएको रहेछ । तिशाले हामी सबैकालागि खानाको पार्सल बाटोमा नै किनेका थिए । उनले हामीलाई शौचालय तथा हातमुख धुने ठाउँ देखाइ दिए । सुत्नका लागि बेडको व्यवस्था नभए पनि हामी सबैका लागि एक–एक वटा साना–साना गद्दा, कम्बल र तकियाको व्यवस्था गरिएको थियो । हामी सबै थाकेका थियौ । खाना खाएर लहरै भने जस्तो भुइँमै ओछ्यान लगाएर सुत्यौँ ।

भोली पल्ट ९ बजे तिर हामीलाई अफिसमा लगियो । हामीलाई नेपालमा उपलब्ध गराइएको रोजगार सम्झौता पत्रमा हाम्रो तलब ९ सय रियाल तथा खान, बस्न निःशुल्क भनेर उल्लेख गरिएको थियो । तर त्यहाँ हामीलाई ७ सय मात्र सेलरी उल्लेख गरिएको अर्को नयाँ सम्झौता पत्रमा अनेकौँ डर त्रास देखाएर हस्ताक्षर गर्न लगाइयो । हामी सबै नयाँ अल्लारे केटाहरु थियौँ । न अरबी भाषाको ज्ञान नत विगतको कुनै अनुभव । नत आफु काम गर्न आएको देशका बारेमा कुनै ज्ञान । हामी सबै पक्का कोरा थियौँ ।

खैर, त्यसपछि हामीलाई त्यही दिन दमामबाट जुबेल पु¥याइयो । जुबेल भन्ने ठाउँमा कम्पनीको ठुलो क्याम्प रहेछ । त्यहाँ लगभग डेढ सय जति श्रमिक साथीभाइहरु बस्ने गर्दा रहेछन् । ती मध्ये दुई चार जना चाहिँ श्रीलंका र फिलिपिन्सका थिए, बाँकी सबै बङ्गलादेशी र भारतीय । नेपालीहरुको भने हाम्रो पहिलो ब्याच रहेछ ।

हाम्रो भिसा मेन्टेनेन्स् टेक्निसियनको भए पनि हामीलाई काम चाहिँ ग्याँस अटेन्डेन्ट (साउदी आरामको प्लान्ट भित्रका गाडीहरूमा तेल हाल्ने) गर्नु पर्छ भनिएको थियो । तर कम्पनीमा पुगेर कुरा बुझ्दा उक्त प्रोजेक्टको काम सुरु हुनका लागि अझै केही महिना बाँकी नै रहेछ । त्यसैले सुरुका दिनमा स्क्याफोल्डिङका पाइपहरु मिलाएर राख्ने देखि साउदीको जुबेलमा रहेको पेट्रोकेमिया प्लान्टमा हेल्परका रुपमा काम पनि गर्नु पर्यो ।

हामी जुबेल पुगेर काम गर्न थालेको २ महिना जति भएको थियो होला, हामीलाई हाम्रो पहिलो महिनाको सेलरी लिनका लागि अफिसमा बोलाए । हामी सबैले नेपालमा उपलब्ध गराएको सम्झौता पत्र अनुसार महिनाको ९ सय दिने हो भने हामी सेलरी लिन्छौं नभए लिँदैनौँ भनेर त्यतिबेला सेलरी लिन अस्वीकार गर्यौँ ।

त्यतिखेर कम्पनीको व्यवस्थापन पक्षका प्रतिनिधिहरुले हामीलाई सेलरी बुझ्नका लागि निक्कै नै दबाब दिए । अनेकौँ डर देखाए, तर हामी सबै साथीहरु हामीलाई नेपालमा उपलब्ध गराइएको सम्झौता पत्र अनुसार महिनाको ९ सय रियाल दिने हो भने हामी सेलरी बुझ्छौँ अन्यथा बुझ्दैनौँ भन्ने हाम्रो अडान बाट कोही पनि पछि हटेनौँ ।

त्यस पछि हामी सबैलाई नेपाल फर्काउने, पुलिसले लैजाने लगायतका अनेकौँ डर, त्रासहरू लगातार देखाइरहे । तर हामी हाम्रो अडान बाट कसै गरे पनि पछि हटेनौँ । बरु हामी सबै १३ जनाले नै अलग अलग १३ वटा पत्र बनाएर हाम्रा कुरालाई लिखित रूपमै कम्पनी समक्ष बुझायौँ । सबै जनाको पत्र भने मैले नै लेखेको थिए । यो काममा हामीलाई कम्पनि व्यवस्थापन पक्षकै एक जना प्रतिनिधिले निक्कै सहयोग गरे, उनी फिलिपिन्सका थिए ।

खैर, जब हाम्रो पत्र कम्पनीको हेड अफिस पुग्यो, त्यहाँ सबै तेह्र वटा पत्रहरु नै एउटै व्यक्तिले लेखेको कुरा उनीहरुले थाहा पाए । त्यस पछि पत्र लेख्ने व्यक्तिको बारेमा सोधपुछ भएछ । त्यसको केहीदिन पछिको कुरा हो, म बिहान ड्युटी जान तयार हुँदै थिए, क्याम्प बोस आएर आज तिमी ड्युटी नजानु, तिमीलाई हेड अफिसमा बोलाएको छ भनेर खबर गरे ।

मलाई त्यस्तो खबर आएपछि अन्य साथीहरु हामी पनि ड्युटी नजाने भन्दै थिए, तर मैले तपाईंहरु जानुस्, हेड अफिसमा के कुरा हुने रहेछ, त्यसपछि के गर्ने हो सल्लाह गरौँला भनेर भने पछि अन्य सबै साथीहरु ड्युटी जानु भयो । दस बजे तिर मलाई आफ्नो सबै सरसामान (झोला) बोकेर हेड अफिस जानका लागि तयार हुनु भन्ने खबर आयो । झोला पनि बोकेर हिँड्नु भने पछि, यहाँ केही गडबडी छ भन्ने मलाई लाग्यो । तर सबै साथीहरु ड्युटी गइसक्नु भएको हुनाले मैले कसैसँग कुनै प्रकारको सरसल्लाह गर्न पाइन ।

केहि समय पछि म आफ्नो झोला बोकेर निस्किए । त्यहाँको हाम्रो जुबेल शाखाका सुपरिटेन्डेन्ट आएका रहेछन्, मलाई उनैले आफ्नो गाडीमा राखेर दमाममा रहेको हेड अफिस लिएर गए । उनी फिलिपिन्सका थिए, उनको नामा पारागुवा थियो । करिब दुई घण्टाको यात्रामा उनले मलाई मेरो शिक्षा, पारिवारिक पृष्ठभूमि लगायत हाम्रो देशको बारेमा निकै कुराहरु सोधे, मैले पनि मेरो टुटे फुटेको अंग्रेजीमा जाने बुझे सम्मका सबै जवाफ फर्काए । कुरै कुरामा आफुलाई अंग्रेजी टाइपिङ गर्ने आउने कुरा पनि मैले उनलाई सुनाए ।

मेरो कुराबाट उनी थोरै प्रभावित भएको जस्तो महसुस हुन्थ्यो, यसको अलावा, उनलाई क्याम्प बोसले पनि मेरो बारेमा राम्रै प्रतिक्रिया दिएका रहेछन् । खैर, झन्डै मध्याह्नको बाह्र–एक बजे तिर हामी हेड अफिस पुग्यौँ । वास्तवमा मलाई एक–दुई दिन भित्रैमा नै नेपाल फर्काउने योजना रहेछ । तर पछि हेड अफिसमा के कुरा भयो कुन्नि, त्यहाँका सेक्रेटरीले मेरो टाइपिङ स्किलको परिक्षा लिए । मेरो परिक्षा लिने ती सेक्रेटरी दक्षिण भारत केरेलाका मान्छे थिए । उनले मसित निक्कै रुखो व्यवहार गरे । जे होस्, भरे ५ बजे तिर मलाई कम्पनीको त्यही अस्थायी क्याम्पमा पठाए, जहाँ हामीलाई पहिलो पटक राखिएको थियो । खासमा त्यो कम्पनीको वर्कसप तथा वेरहाउस रहेछ ।

कम्पनीको उक्त वर्कसपमा काम गर्ने केही व्यक्तिहरुलाई पहिलोचोटि त्यहाँ आउँदा नै चिनेको हुनाले, मलाई त्यहाँ खाने बस्ने कुरामा खासै कुनै समस्या भएन । भोलीपल्ट बिहान मलाई, त्यहाँका वर्कसप इन्चार्जले बोलाए । उनी भने साउदीकै स्थानीय मान्छे थिए । उनी अंग्रेजी खासै बोल्दा रहेनछन् तर पनि त्यहाँका पुराना मान्छेहरुको सहयोगमा अलि–अलि कुरा भयो । मलाई उनले गएर रुम मै बस्न भने ।

२०–२१ को म अल्लारे केटो, त्यो रुममा एक्लै त्यतिकै बस्न कहाँ सक्थे र ! केही समय पछि म बाहिर निस्किए । वर्कसपमा काम गर्ने अन्य मान्छेहरुसँग चिनजान गरे । उनीहरु कोही हैदरावादका कोही उत्तर प्रदेशका थिए । उमेरले सबै म भन्दा निक्कै पाका थिए । श्रीलंकाका तिशा, जो पहिला हामीलाई लिन एयरपोर्ट आएका मान्छे पनि त्यहीँ थिए । उनी त्यहाँको सुपरभाइजर रहेछन् ।

त्यहाँ लामा–लामा बडेमानका गाडीहरु आउने जाने गरिरहेका थिए । साँझ ४ बजे तिर दुईटा लामा–लामा ट्रेलरले पेट्रोलियम प्लान्टका पाइपमा तातो र चिसो नियन्त्रण गर्नका लागि इन्सुलेशन गर्दा प्रयोग हुने मटिरियल लिएर आएका रहेछन् । सबै सामान ठुला–ठुला रोल र बन्डलमा आएका थिए । मलाई सुपरभाइजर तिशाले प्याकिङ लिष्ट दिदै, लिस्टमा लेखिए अनुसार सबै मात्रामा सामान भए नभएको गनेर चेक गर्न लगाए । सामानहरु अनलोड हुन थाल्यो, मैले पनि तिशाले सिकाए बमोजिम गन्दै प्याकिङ लिस्टमा टिक मार्क गर्न थाले ।

यस्तै के के गरेर त्यहाँ मेरो झन्डै दुई हप्ता जति बित्न लागेको थियो । एक दिनको कुरा हो, दिउसो २ बजे तिर एउटा कोस्टर मिनी बस आएर वर्कसप परिसरमा रोकियो । आश्चर्य लाग्दो कुरा, उक्त बसबाट भटाभट मसँगै आएका बाँकी सबै साथीहरु पो ओर्लिए । उनीहरु मलाई त्यहाँ देखेर अत्यन्तै खुसी भए, किनकी उनिहरुलाई मलाई नेपाल फिर्ता पठाइसकिएको भनेर सुनाएका रहेछन् ।

खैर, कुरा के भएछ भने, अघिल्लो दिन बेलुका साथीहरु ड्युटीबाट फर्किए पछि, फेरि उनिहरुलाई सेलरी बुझ्न भनेछन् तर साथीहरुले भने नेपालबाट आउँदा दिएको एग्रिमेन्ट अनुसारको सेलरी नदिए सम्म सेलरी नबुझ्ने अडान दोहो¥याए छन् । त्यसो भए पछि, उनिहरुलाई पनि यहाँ पठाएका रहेछन् । केही साथीहरु भने अब के हुने हो ? कतै कम्पनीले नेपाल नै त फर्काउने हैन भनेर डराएका पनि थिए ।

खैर, भरे चार बजे तिर एउटा कालो रंगको टोयोटा ल्यान्ड क्रुजर गाडी वर्कसपमा आएर रोकियो । गाडीबाट एकजना तल देखी माथि सम्मको एउटै लामो सेतो बस्त्र (साउदीका पुरुषहरूले लगाउने परम्परागत पोशाक – कन्दौरा÷थोबे) लगाएका अग्ला कदका मान्छे ओर्लिए । उनि संगसंगै अर्का एकजना सामान्य पोशाक लगाएका मान्छे पनि गाडीबाट ओर्लिए र उनको पछि लागेर वर्कसपको अफिस तिर लागे ।

त्यसको केहीबेरमा तिमीहरुलाई हाम्रो कम्पनीको मुदिर (मालिक) अब्दुल रहमान अल ओतेशनले भेट्ने रे, भनेर हामीलाई पनि वर्कसपको अफिसमा बोलाए । थोरै अघि हामीले देखेका लामो सेतो पोशाक लगाएका मान्छे नै हाम्रो कम्पनीको मुख्य मुदिर रहेछन् । उनले अंग्रेजी तथा साउदी मिसिएको लवजमा निक्कै कुरा भने । समग्रमा उनको भनाइको सार थियो, नेपालीहरु इमानदार र मेहनती हुन्छन् भनेर मैले तिमीहरुलाई ल्याएको हुँ । अहिले तिमीहरुले काम गर्ने प्रोजेक्ट सुरु भएको छैन, जब त्यो प्रोजेक्ट सुरु हुन्छ तिमीहरु सबैले आफ्नो एग्रिमेन्ट अनुसारको पुरा–पुरा सेलरी पाउने छौँ’ भनेर हामीलाई आश्वस्त पारे । मुख्य मुदिरले नै यसरी आश्वस्त पारे पछि, हामी सबै सहमत पनि भयौँ ।

यस पछि सबै साथीहरुलाई जुबेल नै लिएर गए, तर मलाई भने वर्कसप मै बस्न भने । त्यसको केहीदिन पछि मलाई पनि दमाम देखि लगभग १४०० किलोमिटर टाढा रहेको कम्पनीको अर्को जेद्दा शाखामा, अफिस असिस्टेन्टको रुपमा काम गर्ने गरेर पठाए । यही नै मेरो लागि एक प्रकारले खाडी मुलुकमा जमेर काम गर्ने एउटा टर्निङ प्वाइन्ट बन्यो ।

अहिले सन् २०२३ को सेप्टेम्बर महिना सुरु भएको छ । यस बीचमा ३–४ पटक मेरो पासपोर्ट फेरियो, कम्पनी फेरियो, पेशा फेरियो, साउदी छोडेर सन् २००५ मा कतार आएपछि देश पनि फेरियो, कपाल झरेर तालु देखिने भएपछि मेरो रुप पनि फेरियो । तर फेरिएको छैन त मेरो सधैँका लागि छिट्टै नेपाल फर्कने चाहना, जुन म जस्ता हरेक प्रवासीको एउटा सपना हुन्छ ।

रमेश ढकाल
झापा, भद्रपुर–७ (हालः दोहा–कतार)

प्रतिक्रिया