१४ भदौ
काठमाडौं
ई–लर्निङ बक्स (लुमा डिभाइस) का बारेमा हालै अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समिति लमजुङको आयोजनामा बेसीशहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य भेषबहादुर पौडेलले अहिलेको युग सुहाउँदो प्राविधिक शिक्षा आवश्यक रहेको भन्दै राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्नेमा कुरामा जोड दिनुभयो । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले शिक्षा क्षेत्रमा लुमा डिभाइसले महत्वपूर्ण भूमिका खेलेकोले साझेदारीमा काम गर्न सकिने बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङ, दि डेप्लवमेन्ट फण्ड नर्वेका लागि नेपाल प्रतिनिधि योगी कायस्थ, वरिष्ठ लेखक तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बीरबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लुमा डिभाइसमा पढाइरहेका विद्यालयको तर्फबाट अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक थमनसिंह राना र गंगा मिलन माविका विदार्थी अश्विन रिमालले लुमा डिभाइसले पठनपाठनलाई प्रभावकारी भएको बताउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा लुमाका प्रतिनिधि नन्दलाल भण्डारीले लुमा डिभाइसको सुरुवात र प्रभाव तथा कार्यक्रममा उठेका जिज्ञासाका बारेमा प्रकाश पार्नुभएको थियो भने लुमाका कन्ट्री म्यानेजर कविन्द्र मानन्धरले लुमा डिभाइसको प्रयोग र पठनपाठन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।
लमजुङमा लुमा कार्यक्रम गत वर्षबाट सुरुवात भएको हो । गत वर्ष तालिम दिएर लमजुङका ९ वटा विद्यालयलाई लुमा डिभाइस वितरण गरिएको थियो । मंगलबारको कार्यक्रमबाट भने लमजुङमा धेरै पालिका र विद्यालयले लुमा डिभाइस अपरिहार्य रहेको भन्दै आ–आफ्नो पालिका र विद्यालयमा पनि लागू गर्नु पर्नेमा सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख खड्काबहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपप्रमुख जुनामाया थापा, क्ब्होलासोथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ, सुन्दर बजार नगरपालिका उपप्रमुख भवानी केसी, दुधपोखरी गाउँपालिकाका उपप्रमुख क्षेत्रबहादुर गुरुङ, पालिका शिक्षा शाखाका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया